Powered by Blogger.
उषा केसीको “हिउँफूल“ लोकार्पण


काठमाडौं ।  २०८१ फागुन २४ गते शनिबार साहित्यिक पत्रकार संघले उपन्यासकार उषा केसीको  “हिउँफूल“ उपन्यासको लोकार्पण कार्यक्रम गरेको छ ।

प्राडा दयाराम श्रेष्ठ सहित कवि कलाकार नरेन्द्रबहादुर श्रेष्ठ , उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती , शब्दपथका प्रधान सम्पादक किशोर पहाडी , समालोचक प्रमोद प्रधान , प्राडा गोविन्दमानसिंह कार्की ,साझा प्रकाशनका अध्यक्ष शेखर गिरी लगायतले उपान्यसको लोकार्पण गरेका थिए । 

संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली साहित्यमा स्थापितदेखि नवोदित स्रष्टाको बाक्लो उपस्थिति रहेको थियो । 

लेकालीले उपन्यासकार केसी र संघको परिचय राखेर स्वागत गरेका थिए । प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ रहनु भएको कार्यक्रममा प्रमुख  वक्ता  समालोचकद्वय  प्रमोद प्रधान र  गीता त्रिपाठीले समालोचनात्मक टिप्पणी राखेका थिए ।

प्रमुख अतिथि एवम् भूमिका लेखक प्रा डा दयाराम श्रेष्ठले यो मौलिक सामाजिक उपन्यास हो । जसरी हामीमा आफ्नो बाबु र आमाको अनुहार मिल्छ त्यसैगरी  यो उपन्यास पुरानो रुपमतीको पुनर्जन्म भएको हो भनेर सभालाई प्रकाश पारेका थिए ।

उपन्यासकार केसीलाई अध्यक्ष र प्रमुख अतिथिबाट बधाईपत्र, मायाको चिनो, दोसल्ला र माला लगाएर स्रष्टा सम्मान गरिएको थियो ।

अर्को भूमिका लेखक वरिष्ठ समालोचक प्रमोद प्रधानले यो उपन्यास पढेर भूमिका लेख्नु अगाडि तीन पटक पढें र म आफू तीन पटक नै रोएँ ।  कथाले पाठकलाई यसरी तान्दछ कि कति बेला आँसु खस्यो पत्तो नै हुदैन । यो सामाजिक उपन्यासमा लैंगिक विभेदलाई जस्ताको तस्तै उतारिएको उनको भनाई थियो । 


उक्त उपन्यासको आवरण चित्र बनाउनु हुने कलाकार नरेन्द्रबहादुर श्रेष्ठले पनि कार्यक्रममा धन्यवाद दिएका थिए । 

उपन्यास समाज नेपालका अध्यक्ष साहित्यकार शंकर भारतीले हिउँफूल पढ्न पाएको छैन ,यति राम्रो छ भन्ने सुनेपछि समाजले परिचर्चा गर्न आतुर रहेको कुरा बताएर शुभकामना दिएका थिए यसैगरी उपन्यासमा भूमिका लेख्ने  कवि एवम् पत्रकार जितेन्द्र रसिकले पनि केसीलाई शुभकामना दिएका थिए ।

उपन्यासकार  स्रष्टा केसीले आफू एसएलसी दिएदेखि नै उपन्यास धेरै  मन पर्ने र कथानक धेरै पहिलादेखि नै तयार गरेको,पारिवारिक घटना, आफन्त गुमाउनुको पीडा र आफै बिरामी भई  प्रकाशनमा ढिलो भएको र यो उपन्यास पढेर सल्लाह सुझाव दिने सबैलाई धन्यवाद दिएकी थिइन् ।


भुँडीपुराण प्रकाशनले उपन्यास प्रकाशन गरी  बजारमा ल्याएको हो ।  प्रकाशक केशव पराजुलीले हामी मान्छेको नाम नहेरी कृतिलाई महत्व दिने गर्दछौं । 

उपन्यासकार केसीलाई चित्त बुझ्ने बनाउन धेरै पटक फेर बदल गर्नु परेकोले पनि उपन्यास कति राम्रो छ भन्ने प्रष्ट बुझिनेछ भन्ने बताएका थिए । कार्यक्रम सञ्चालन  कवि भैरवी भूगोलले गरेकी थिइन् । लोकार्पण गरिएको पुस्तकको मूल्य ४९०÷ रहेकोमा विशेष छुटमा ३००÷ मा बिक्री गरिएको थियो ।



0 comments

Write Down Your Responses