काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको मुख्य लगानी रहेको चन्द्रागिरी हिल्सले भालेश्वर मन्दिरमा जाने पैदलयात्रुसँग गैर कानुनी रुपमा प्रतिव्यक्ति १०० रुपैयाँ असुली गरिरहेको भेटिएको छ ।
राजनीतिक र प्रशासनिक पहुँचको आधारमा ढकाल नेतृत्वको हिल्सले पैदलयात्रुसँग असुली गरिरहेको हो ।
चन्द्रागिरी पहाडमा रहेको प्रशिद्ध भालेश्वर मन्दिरको दर्शनार्थीसँग १०० रुपैयाँ प्रवेश शुल्क असुली भइरहेकोमा चन्द्रागिरी नगरपालिकाले कुनै चासो लिएको छैन । न त सिमानाकै थाहा नगरपालिकाको चासो छ ।
सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ ।
तर, अहिले आम्दानी बढाउन भन्दै चन्द्रागिरी हिल्सले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको छ । सो आधारमा चन्द्रागिरी हिल्सले करिब १० हजार जनासँग रकम उठाइसकेको छ । यसरी रकम उठाउने क्रम विगत तीन महिनादेखि चलिरहेको छ ।
चन्द्रागिरी नगरपालिकाका प्रबक्ता कृष्ण प्रसाद खड्गीले चन्द्रागिरी नगरपालिकाले रकम असुली गर्न अनुमति नदिएको बताए ।
उनले चन्द्रागिरी हिल्सले पैदलयात्रीसँग रकम उठाइरहेको सूचना आएको स्वीकार गरे ।
0 comments
Write Down Your Responses