Powered by Blogger.
कविता; शिक्षक


भवानी न्यौपाने भावना


रङ्गीचङ्गी फूल फुलाउने माली हो शिक्षक

लाखौं शिष्यको  हृदय जित्ने  ताली हो शिक्षक 

सद्भावका कुसुमहरू प्रिय वाटिकामा  संरक्षण गर्दै 

मनको त्रिवेणीमा ज्ञानको बीजारोपण गर्ने

शिक्षाको आली हो शिक्षक 

कयौं वसन्त आए गए

एकनास आफ्नै तालमा चलिरहेछु

जिन्दगीभर सर्वत्र विद्याको सुवास छर्ने 

अनुशासनको डाली हो शिक्षक 

त्यसैले मलाई शिक्षक हुनुमा गर्व छ 

यही कारण म शिक्षक भएकी हुँ

मलाई दिनभर वेकाममा हल्लिन मन पर्दैन

फाल्तु गफ गरेर टोल टोलमा उभिन मन पर्दैन

रसिला र चिल्ला गफले अरूलाई बिँयाल्न  मन पर्दैन

मेरा पवित्र करले  कलमसित प्रेम रोप्दैआएको  थुप्रै यामहरू बिते

मेहनतका  अडिग   पदचापहरू   यही क्रमले चलिरहेछन्  निरन्तर 

जिन्दगीको  सुन्दर  बाटोमा 

ज्ञानको   धूप बत्ती सल्काइरहने पवित्र थाली हो शिक्षक 

मेरो  यात्राको धार पछ्याउँदै , खुसीका  चन्द्रवदन लिएर 

अघिपछि लामबद्ध  छन् मेरा प्रिय सिपाहीहरू

म क्रमशः  ती कोपिलाहरूलाई  सिकाइको गोरेटोमा लम्काइरहन्छु

मलाई आफ्नै गति ,आफ्नै कर्म र आफ्नै बाटो प्यारो छ 

विद्यारूपी गह्रामा जोतेर मानसिकताका  काला धब्बा हटाउँदै 

नयाँ बीउ छरी  

सुन्दर फूल फुलाउने फाली हो शिक्षक 

त्यसैले मलाई शिक्षक बन्नमा हर्ष छ 

यही कारण म शिक्षक भएकी हुँ ।


(वरिष्ठ साहित्यकार न्यौपाने दाङमा बसेर शिक्षण पेशा अपनाउनुहुन्छ । )


0 comments

Write Down Your Responses