काठमाडौं । २०८१ माघ ५ गते शनिबार साहित्य सन्ध्याको नियमित मासिक ४ सय ५९ औँ शृङ्खला सम्पन्न भयो । उक्त शृङ्खलामा ‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा परिचर्चा गरियो । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा प्रा.डा.मुकेश चालिसे उपस्थित हुनुहुन्थ्यो ।
त्यस्तै विशिष्ट अतिथिका रूपमा प्रा.डा.जीवेन्द्र देव गिरी उपस्थित हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, उपप्रा.हेम भण्डारी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, वरिष्ठ स्रष्टा उमेश उपाध्याय, डा.गोविन्दप्रसाद आचार्य, डा.कृष्ण सुवेदी, गायत्रीकुमार चापागाईँ, डम्बर पहाडी, कृष्णमोहन जोशी, खेमराज निरौलालगायतको उपस्थिति रहेको थियो ।
‘ज्येष्ठ नागरिक र समाज तथा राज्यको दायित्व’ विषयमा विशद चर्चा गर्नुहुँदै प्रा.डा.मकेश चालिसेले आपूmले पहिलेदेखि नै अलि पछाडि पारिएको वा हेयका दृष्टिले हेरिएको क्षेत्रमा अध्ययन, अनुसन्धान गर्ने गरेको बताउनुभयो । उहाँले आफु जीवविज्ञान विषयको प्राध्यापक भएको समेतको नाताले हेला र उपेक्षामा पारिएको बाँदरका विषयमा अध्ययन, अनुसन्धान गरेको दावी गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालयबाट अवकाश भएपछि राज्य तथा समाजले उपेक्षा गरेको वा हेय दृष्टिले हेरिएका पाका नागरिकका बारेमा अध्ययन अनुसन्धान गरिरहेको बताउनुभये । ‘लोकतन्त्र भनिएको अहिलेको व्यवस्थामा पनि पाका मान्छे उपेक्षामा परेका छन् ।
सरकारी विभिन्न सेवाका क्षेत्रमा अवकाशको उमेरहद फरक फरक रहेको छ, अर्थात् विभेद छ । वास्तवमा मानिसको जीवनलाई सक्रिय राख्नका लागि उमेरले छेक्दैन बरु ज्ञानको सम्मान नगरिएका र घरमै थन्किएका पाका उमेरका नागरिकका ज्ञान, सिप, अनुभवका बारेमा समाज तथा राज्यले सिक्नुपर्दछ र उनीहरूको सक्रियताका आधारमा काम वा जिम्मा दिनुपर्दछ ।’ उहाँले भन्नुभयो ।
पाकाहरूलाई उनीहरूको उमेर तथा स्वास्थ्यका आधारमा भेला गराउने, अनुभव साटासाट गर्ने, समाज विकासमा उनीहरूका ज्ञान तथा क्षमताको सदुपयोग गर्ने, सक्ने क्षमताअनुसारको जिम्मा दिनेजस्ता कार्य गरिनु आवश्यक रहेको उहाँको भनाइ छ ।
पाका मानिस मुलुकका सम्पत्ति हुन् भन्ने यथार्थलाई समाज तथा राज्यले अत्यन्त गम्भीरताका साथ सोच्नु र सोही अनुसारका नीति नियम बनाएर कार्यान्वयन गरी सभ्य समाज निर्माण गरिनु आवश्यक छ भन्ने समेतको धारणा राख्नुभयो ।
समारोहमा बालकवि सोइना दाहाल, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, डम्बर पहाडी, उमेश उपाध्याय, खेमराज निरौला, बिन्दु अधिकारी ढकाल, नवराज श्रेष्ठ, भवलाल श्रेष्ठ, कुमार नेपाल, डा.मनोज जोशी, सञ्जय सोती, शिवहरि पाण्डे, कविता राउत, डा.गोविन्दप्रसाद आचार्य, ऋचा अधिकारी, बलराम विष्ट, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), निमग्ना घिमिरे, यदुनाथ वसन्तपुरे, गायत्रीकुमार चापागाईँ, जगत् वाशिष्ठ, मिसन अधिकारी, रमेश पोखरेल, प्रशान्त खरेल, गोपालकुमार मैनाली र डा.जीवेन्द्र देव गिरीले आआप्mना कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।
वाचित रचनामाथि उपप्रा.हेम भण्डारीले समीक्षा गर्नुहुँदै ‘एकपटक सुनेकै भरमा कविताको समीक्षा गर्नु कठिन कार्य हो । मूलतः आजका कवितामा राजनीति सङ्केतन विषयका रूपमा आएको पाइन्छ । वर्गीय एवम् शासकीय प्रभुत्व अनि प्रतिरोध कवितामा आएको पाइन्छ । स्रष्टाले विसङ्गति र निराशाविरुद्धको विचार निर्माण गर्नुपर्ने हुन्छ त्यसैले कवितालाई शक्तिशाली सांस्कृतिक हतियार मानिन्छ । स्वाधीनताको चेत प्रायः सबै कवितामा पाइन्छ । एकताको सन्देश पनि कविताले सम्प्रेषण गरेका छन् । परिवर्तनको चक्रीय स्वभाव हुने र पुँजीवादी अर्थसंस्कृतिका कुरा पनि कवितामा आएका छन् । कवितामा मानवताको खोजी, साइबर संस्कृतिको प्रभाव तथा त्यसले भित्र्याएको सामाजिक विकृतिका कारण भिडभित्र पनि एक्लै हुने प्रवृत्ति मौलाएकाले मौलिक संस्कृति प्रभावित भइरहेका कुरा पनि कवितामा आएका छन् । युवापलायनले देश शून्य हुँदै गएको पीडा कवितामा उजागर गरिएको छ ।’ भन्नुभयो । ।
विशिष्ट अतिथि प्रा.डा.जीवेन्द्र देव गिरीले साहित्य सन्ध्या अविरल बगिरहेको कार्यशाला हो, विचार निर्माणको थलो हो । वर्तमानमा चारैतिरबाट भाषामाथि प्रहार भइरहेको छ । यो सोद्देश्यमूलक रहेको हुँदा यो प्रवृत्तिका विरुद्ध पनि हामी स्रष्टाले प्रतिकार गर्नु आवश्यक रहेको बताउनुभयो ।
सभाध्यक्ष राम विनयले साहित्य सन्ध्याले हरेक महिना कुनै न कुनै समसामयिक विषय चयन गरी निरन्तररूपमा बहस गर्ने गरिरहेको छ र गरिने बताउनुभयो ।
0 comments
Write Down Your Responses