काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक करार शिक्षकहरूले कात्तिक ३० गतेदेखि विश्वविद्यालय ठप्प पार्ने चेतावनी दिएका छन् । गत साउन १८ गते आंशिक प्राध्यापक संघसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले कात्तिक ३० गते उपप्राध्यापक पदको परीक्षा सञ्चालन गर्दैछ । सेवा आयोगले २०७७ सालमा आह्वान गरेका उपप्राध्यापक पदको विज्ञापन अनुसार परीक्षा सञ्चालन गर्न लागेको हो ।
त्यो बेला ५८१ जना उपप्राध्यापक पदका लागि विज्ञापन आह्वान गरेको थियो । आंशिक शिक्षकहरूले उक्त परीक्षा रोकेर आफूहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् ।
आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बूले विगत १९ वर्षदेखि आफूहरू आंशिक शिक्षकको रूपमा विश्वविद्यालयमा पठनपाठन गराउँदै आएको बताए ।
आंशिकसँग गरिएको सहमति अनुसार साउन २३ गते बसेको कार्यकारी परिषद् बैठकले रिक्त दरबन्दीमा करार सेवाको शिक्षक सहायक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउन तीन सदस्यीय स्थलगत अध्ययन कार्यटोली गठन गर्ने निर्णय गरिएको थियो ।
सोही कार्यदलको प्रतिवेदनका आधारमा शिक्षक सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया सम्बन्धित क्याम्पस÷केन्द्रीय विभागमार्फत अगाडि बढाउने निर्णय गरिएको थियो । तर, अहिलेसम्म प्रक्रिया अगाडि नबढाएको भन्दै संघर्ष समितिका अध्यक्ष लिम्बूले कात्तिक ३० गतेदेखि सञ्चालन हुने परीक्षा रोक्ने चेतावनी दिएका हुन् ।
‘हामीले ३० गते पर्खिरहेका छौँ । कि त्यो दिनदेखि विश्वविद्यालय ठप्प हुन्छ, कि परीक्षा हुँदैन । त्यसका लागि देशभरबाट साथीहरूलाई बोलाउँदैछौँ,’ उनले भने, ‘यस पटक विश्वविद्यालयसँग अन्तिम लडाइँ लड्छौँ । विश्वविद्यालय ठप्प हुन्छ, अनिमात्रै शोषित पीडित शिक्षकले राहत पाउने अवस्था आउँछ ।’
यो पटक पनि आफूहरूलाई करार नगरेमा श्रम अदालत जाने चेतावनीसमेत लिम्बूले दिए । विश्वविद्यालय जस्तो ठाउँमा आफूहरूको श्रम शोषण तथा बौद्धिक शोषण भइरहेको उनको भनाइ छ ।
‘विश्वविद्यालयमा १९÷२० वर्षसम्म काम गरिसक्यौँ । अहिलेसम्म आंशिकमै राखेको छ । आवश्यक परेको खण्डमा ६ महिनादेखि २ वर्षसम्म करार राख्न पाउने व्यवस्था विश्वविद्यालयको रातो किताबमा छ,’ उनले भने, ‘हामीलाई १९÷२० वर्षदेखि काम लगाइसकेको छ तर, हामीसँग करार गरेको छैन । मासिक ज्याला दिँदैन ।’
विश्वविद्यालयमा ८ हजारको हाराहारीमा शिक्षकको दरबन्दी छ । जसमा हाल ३ हजार ८२० मात्रै स्थायी शिक्षक छन् । तीमध्ये केही क्याम्पस प्रमुख लगायत प्रशासनिक काममा छन् । केही अध्ययन बिदा लिएर बाहिर पढ्न गएका छन् । बाँकी रहेका शिक्षकले विश्वविद्यालयमा पढाउँदै आएका छन् ।
0 comments
Write Down Your Responses