Powered by Blogger.
उपन्यासकार दाजु गुरुङकृत ‘’निरजोया’’ कृतिविमर्श सम्पन्न

 


 जयराम बिडारी 


कार्तिक २१ काठमाण्डौ

टाँकीका फूलहरु,तथा लाइ-सी कथासङ्ग्रह प्रकाशित गरी डायस्पोरिक लेखनमा छुट्टै पहिचान निर्माण गरिसकेका चर्चित साहित्यकार दाजु गुरुङको तेस्रो कृतिको रुपमा ‘ निरजोया’ नेपाली पाठकहरुका बीच परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । सभ्यता अन्वेषण केन्द्रद्वारा बागबजारस्थित हार्दिक होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा मूर्धन्य साहित्यकार तथा समालोचकहरुद्वारा कृतिमाथी विशद विमर्श गरिएको थियो 


कृतिका बारेमा आफ्नो धारणा व्यक्त गर्दै समालोचक उमेश अवस्थी ‘आदर्शले’ नेपाली समाजको सामाजिक आर्थिक बेरोजगारी, गरिबी,लैंगिक मनोचेतलाई सुक्ष्म रुपमा अध्ययन गर्दै कलात्मक रुपमा प्रस्तुत गरिएको बताउँदै भाषाशिल्पको सम्योजनमा समेत दृष्टि पुर्याउन सक्दा सुनमा सुगन्ध हुने भन्दै निरजोया उपन्यासले डायस्पोरिक साहित्यमा बलियो उपस्थितिको रुपमा आफूलाई उभ्याएको बताए । यसैगरि अर्का साहित्यकार कल्पना काफ्लेले मानवशास्त्रीय कोणबाट विषयवस्तुलाई प्रस्तुत गरी मलेशियन मुश्लिम समाज र नेपाली अन्तरधार्मिक परिवेशलाई लालित्यपूर्ण रुपमा प्रस्तुत गर्न सक्नु दाजु गुरुङको लेखनशील्पको सुन्दर पक्ष रहेकोले कृतिलाई पठनीय बनाएको उल्लेख गर्दै कृति सफलतको शुभकामना दिएकी छन् । 


उक्त अवसरमा समिक्षक राजकुमार बानियाँले आप्रवासनको तितो यथार्थ,मुश्लिम र गैर मुश्लिम बीचको प्रेम र पिडाको प्रसंगलाई निरोज र जोया पात्रको नामको पहिलो दुई अक्षरको समासद्वारा कृतिको सुन्दर बिम्ब निरजोयाको कलात्मक निर्माण गरिनु लेखकको सामर्थ्यको पुरापुर प्रयोग हो भन्दै पठनीय मननीय र संग्रहनीय रुपमा उभ्याउन लेखक सफल भएकामा आगामी कृति सृजना निरन्तर रुपमा अघि बढोस् भनि  शुभकामना दिए । 


सो समारोहमा डा.अशोक थापाले प्रवास बसाइको आफ्नै खालका अवसर र चुनौतिहरु रहने भएपनि भागदौडको व्यस्त जीवनशैलीको बावजुद पनि नेपाली साहित्य भण्डारको श्रीबृद्धिका लागि दाजु गुरुङको योगदानको चर्चा गर्दै समाजशास्त्रीय दृष्टिकोणले ‘निरजोया’ उपन्यासले प्रवास बसाईका अनेकन कठीनाई र चुनौतिलाई उजागर गरिदिएकोले आम नेपाली पाठकहरुबीच निरजोया लोकप्रिय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । 


कार्यक्रममा कवि श्रवण मुकारुङले आफ्नो लेखनको उर्वर समयमा कतिपय मित्रहरुका रचनात्मक सुझावका कारण आख्यान लेखनका क्षेत्रमा सक्रियता नदेखाएको भएपनि समयक्रममा आफूले  समेत नवीन उपन्यासको तैयारी गरिरहेको र अधिकांश भाग पुरा गरिसकेको बताउँदै २ वटा कथासङ्ग्रह प्रकाशित गरिसकेर थुप्रै मान सम्मान तथा चर्चा परिचर्चा कमाइसकेका उपेन्द्रबहादुर कोरङ्गी अर्थात् ‘’दाजु गुरुङको’’  प्रस्तुत कृतिले सफलताको शिखर चुमोस् भनि शुभकामना व्यक्त गरे । 


कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका प्रा. डा. गोविन्दराज भट्टराईले लेखनकर्ममा संलग्न सर्जकले जवसम्म उपन्यास लेखनमा आफूलाई रूपान्तरण गर्दैनन् तिनका सृजनशीलता बाँझो रहने धारणा व्यक्त गरे । उनले डायसपोरिक लेखनका क्षेत्रमा सशक्त हस्ताक्षरका रुपमा परिचित ‘दाजु’ को पाठकलाई मोहित पार्ने भाषा शिल्पको प्रयोग, मनोवैज्ञानिक रुपमा प्रभाव पार्ने लेखनशैली, प्रवासीको जीवनको जीवन्त चरित्रचित्रणले ‘निरजोया’मा प्राण भरेको उल्लेख गर्दै उनका आगामी कृतिहरु अझै सशक्त रुपमा आउने विश्वास व्यक्त गर्दै प्रस्तुत कृति सफलताको कामना गरेका छन् । 


हङकङमै विमोचन गरिएको उपन्यास ‘निरजोया’ उपन्यासकार दाजु गुरुङको अनुपस्थितिमै मातृभूमिमा परिचर्चा गरिएको थियो । 


शशी लुमुम्बुद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा श्रृङ्खला मासिकका सम्पादक प्रवीण जोशी, कवि नन्दु उप्रेती, सञ्चारकर्मी भरत बम्जन, संगीतकार वसन्त मुकारुङ,कवि मिशन अधिकारी,तुलसी गिरी ‘भावुक’ लगायत दुई जर्जनभन्दा बढी साहित्यानुरागीहरुको समुपस्थितिमा भव्य रुपमा सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

0 comments

Write Down Your Responses