Powered by Blogger.
पत्रकारिता तथा आमसञ्चार विभागमा शुभकामना आदानप्रदान


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले बडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले बदलिँदो परिवेशमा सक्षम एवं कुशल पत्रकार बन्नका लागि आधुनिक सूचना प्रविधिसहित पत्रकारितासम्बन्धी सैद्धान्तिक, प्रयोगात्मक र व्यावहारिक ज्ञान हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।    

सो अवसरमा त्रिभूवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र विभागका कामु डिन प्रा.डा. दुबिनन्द ढकालले सूचना प्रविधिको विकाससँगै सत्यतथ्य र आधिकारिक समाचारमार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सही ढङ्गबाट अघि बढाउने जिम्मेवारी विशेषगरी पत्रकारिता विषयका विद्यार्थी तथा अध्यापकको रहेको बताए ।  

त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमाथि अनेकौँ चुनौती सिर्जना भएको उल्लेख गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसहित खारिएको कुशल पत्रकार उत्पादनका लागि समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण कक्ष र शिक्षण सिकाइ कक्षलाई जोड्नुपर्ने बताए ।

कार्यक्रममा उपप्राध्यापकहरु डा. देवराज अर्याल, शशीनाथ मराशिनी, डा. घमराज लुईँटेल तथा विज्ञापन बोर्डका अध्यक्षसमेत रहेका लेक्चरर लक्ष्मण हुमागाँईलगायतले शुभकामनासहितको मन्तब्य राखेका थिए ।

उक्त क्याम्पसका तेस्रो सेमेस्टरका विद्यार्थीसमेत रहेका कार्यक्रमका संयोजक बाबुराम आचार्यले पत्रकारिता बिषय इथिकिल हुनु हुँदा त्रिभूवन विश्वविद्यालयलाई इथिकल बनाईनुपर्ने विचार व्यक्त गरेका थिए ।

भब्य रुपमा सम्पन्न कार्यक्रममा तेस्रो सेमेस्टरका बिद्यार्थीको आयोजनामा विभागमा अध्ययनरत चौथो सेमेस्टरका विद्यार्थीको विदाइसमेत गरिएको थियो । त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ सालदेखि विद्यावारिधि र २०७४ सालदेखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन गर्दै आएको छ ।






0 comments

Write Down Your Responses