Powered by Blogger.
साल्ट ट्रेडिङको ६२ औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।

कर्पोरेशनको ६२औँ वार्षिकोत्सवका अवसरमा बिहिबार कार्यालय परिसरमै आयोजना गरिएको भव्य समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले साल्ट ट्रेडिङलाई व्यावसायिक, थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग सरकारले गर्ने बताएका हुन् ।

साल्ट ट्रेडिङको वृद्धि र विकास तथा आपूर्ति श्रृङ्खलामा व्यवस्थित रुपमा अगाडि बढाउन नीतिगत रुपमा केही कदम चाल्नुपर्छ भन्ने महशुस गर्दा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सधैँ साथमा रहने उनको भनाइ छ ।

यस्तै, उनले साल्ट ट्रेडिङले आफूलाई थप विश्वसनीय, व्यावसायिक र प्रतिस्पर्धी बनाउन ठोस कार्ययोजनाका साथ नयाँ योजना आउनुपर्नेमा पनि जोड दिएका छन् । ‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेर प्रोत्साहित गरेका छौँ,’ मन्त्री भण्डारीले भने ।

साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको समेत आवद्धता रहेको, लामो र व्यावसायिक पृष्ठभूमि बोकेका व्यक्तिहरू सञ्चालक रहेको परिप्रेक्ष्यमा कर्पोरेशन भरपर्दो, विश्वसनीय, अभावलाई अन्त्य गर्न सक्ने, चाँडै उपलब्ध गर्न सक्ने, उपलब्धताको व्यवस्थित कार्ययोजना भएको हुनुपर्ने उनको भनाइ छ । 

सरकारले जसरी कर्पोरेशनलाई विश्वास गरेको छ त्यसैगरी कर्पोेरेशनले जनताको विश्वास जित्दै विश्वसनीय संस्थाको रुपमा उभिन सक्नुपर्ने उनले मन्त्री भण्डारीले बताए ।

६ दशक लामो यात्रा पार गरेको कर्पोरेशनले आफ्नो लामो यात्रामा अनेक उतारचढाव पार गरेर यो स्थानमा आइपुगेको चर्चा गर्दै मन्त्री भण्डारीले नेपाली आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिकालाई नजरअन्दाज गर्नै नसकिने बताए । ‘अहिले अत्यावश्यक वस्तुको उपलब्धता सहज भए पनि हिजोमा असहज परिस्थितिमा आफ्नो क्षत्रमा व्यावसाकितामा रहेर उल्लेख्य काम गरेको छ,’ उनले भने, ‘वार्षिकोत्सवको अवसरमा संस्थाको उन्नति, प्रगति र अझ अब्बल व्यावसायिकतामा उभिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’


उनले वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मानति भएकाहरूलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।

यस्तै कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठले साल्ट ट्रेडिङ कर्पोरेशन सार्वजनिक–निजी साझेदारीको नमूना र सफल संस्था भएको बताएका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो उद्देश्य अनुसार सेवा पु¥याउँदै आएको एसटीसी सफल र नमूना संस्था भएको बताएका हुन् । 

संस्थाले अघि सारेको अभियानमा सरकार र सम्बन्धित निकायहरू तथा सर्वसाधारणबाट समेत उल्लेख्य सहयोग सहयोग प्राप्त भइरहेको र संस्थाको सफलता नै आम उपभोक्ताको सफलता भएको उनले बताए । भविष्यमा थप सफल र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, ‘सार्वजनिक–निजी साझेदारीको नमूनाका रूपमा काम गर्दै आएको यो संस्था विभिन्न चुनौती र समस्या आए पनि स्मरणयोग्य इतिहास निर्माण गर्दै उपभोक्ताको मन जित्न सफल भएको छ ।’

यस्तै, अध्यक्ष श्रेष्ठले सरकारले समेत विश्वास गरेको एसटीसीले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको विझिन्न संघ–संस्था र व्यक्ति–व्यत्तित्वहरू सम्मान गरिएको जानकारी पनि दिए ।

जस अनुसार कर्पोरेशनले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट काभ्रेको मानव कल्याण समाजलाई ताम्रपत्रसहित रू. १ लाख नगद प्रदान गरेको छ । 

यस वर्ष कर्पोरेशनका कर्मचारीहरूका छोराछोरीमा एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रदेश कार्यालय, भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई साल्ट ट्रेडिङ्ग अनङ्गमान शेरचन छात्रबृत्ति र प्रदेश कार्यालय, काठमाडौंका कर्मचारी राजन लामाकी छोरी निमास्य लामालाई साल्ट ट्रेडिङ्ग लोकनाथ जोशी छात्रबृत्ति प्रदान गरिएको छ । कर्पोरेशनले छात्रवृत्तिका लागि मासिक रूपमा रू ६,००० का दरले २ वर्षसम्म रकम उपलब्ध गराउने छ ।


त्यसैगरी, यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहीनतर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाश बहादुर धामी तथा स्तरबिहीनतर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितीय धनबहादुर झाँक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । 

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारका लागि सम्मानपत्रसहित नगद रू. ४०,००० र हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारका लागि सम्मान पत्रसहित रू. ३५,००० उपलब्ध गराइएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले मुलुकमा आइपरेको जुनसुकै विषम् परिस्थितिमा पनि एसटीसीले आफ्नो सेवाप्रवाहमा कुनै कमी नल्याएको बताएकी छिन् ।

एसटीसीको ६२औँ वार्षिकोत्सवको अवसरमा बिहीबार कार्यालय परिसरमै आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पु¥याउने यात्रालाई निरन्तरता दिँदै आएको बताएकी हुन् । 

कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम् सर्वसुलभतालाई मूलमन्त्रको रुपमा लिँदै त्यही मूल्य र मान्यता अनुसार आम उपभोक्ताका लागि सेवा प्रवाह गर्दै आएको चर्चा गर्दै सोही मूल्य र मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपझोक्ताको सेवामा सत्रिय रहने प्रतिवद्धता पनि व्यक्त गरेकी छिन् । ‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताका लागि अति आवश्यक वस्तु नुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पूरा गरेको छ । राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पु¥याउने यात्रालाई निरन्तरता दिएको छ,’ सीईओ श्रेष्ठले भनिन् ।

 कर्पोरेशनले आम जनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पु¥याएर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको जानकारी उनले दिइन् ।

‘विगतमा आएको ठूलो भूकम्प र कोभिडको समयमा हामीले आम उपभोक्ताको घरदैलोसम्म सेवा पु¥याउन सकेकोमा हामी गौरवान्वित भएका छौँ र सर्वसाधारणबाट प्रशंशा पाएका छौँ,’ उनले भनिन्, ‘सरकारले हामीलाई कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा कर्पोरेशन गौरवान्वित भई आफ्नो दायित्व निर्वाहमा रहिरहने वचनवद्धताका साथ नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ ।’ 

दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पु¥याउन अनुदानित एवम् गैरअनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएको पनि सीईओ श्रेष्ठले बताइन् । 

यस्तै, पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री बितरण गर्दै आएको र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरु बनाएर बिक्री गर्न समेत प्रयासरत रहेको उनको भनाइ छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले कारोबार र सेवाको क्षेत्र दिनानुदिन बढाउँदै लगेको छ भने भविष्यमा अझ विस्तार गर्ने नीति लिएको छ ।



   

 


0 comments

Write Down Your Responses