Powered by Blogger.
कलाकार बिमला महर्जन मानन्धरलाई मातृशोक


काठमाडौं । कलाकार बिमला महर्जनकी पुजनीय माता बुद्ध लक्ष्मी महर्जनको २०८१ भाद्र १९ गते विहान ३ बजे पाटन अस्पताल, ललितपुरमा उपचारको क्रममा ७८ वर्षको उमेरमा दुखद् निधन भएको छ । उहाँको १९ गते राती १०ः३० बजे सामाजिक परम्परा अनुसार टिष्टुङ, बज्रबाराही स्थित घाटमा अन्तिम श्रद्धाञ्जली र दाहासंस्कार गरिएको थियो । 

मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. ६, टिष्टुङ्, बज्रबाराहीको सांस्कृतिक, सामाजिक क्षेत्रको उन्नयनकालागि बुद्ध लक्ष्मी महर्जनको महत्वपूर्ण योगदान रहेको छ । 

धादिङ्ग जिल्लाको कामराङ्गका पिता गणेश बहादुर श्रेष्ठ, माता राममाया श्रेष्ठकी जेठी सुपुत्रीका रुपमा जन्मनु भएका बुद्ध लक्ष्मीको २०१८ सालमा टिष्टुङ् बज्रबाराहीका बुद्ध कुमार महर्जनसँग सामाजिक परम्पराअनुसार १५ वर्षको उमेरमा विवाह भएको थियो । 

उहाँका नारायण महर्जन, कृष्ण महर्जन, शंकर महर्जन र श्रीराम महर्जन समेत ४ छोराहरु साथै कमला महर्जन, बिमला महर्जन र निर्मला महर्जन गरी ३ छोरीहरु सहित जम्मा ७ छोराछोरीकी आमा हुनुहुन्छ । बिसं २००३/४/१४ मा उहाको जन्म भएको हो।

आफ्नो जीवनकालमा उहाँले बहुजन हीत र सुखकालागि संधै लागिपर्नु भयो भने टोल, समाजमा र सन्तानलाई धर्तीमा जन्मेपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र माटोको लागि केही गर्नु पर्छ भन्ने शिक्षा दिनुहुन्थ्यो । 

स्मरण रहोस् उहाँका जेठा छोरा नारायण महर्जन टिष्टुङ बज्रबाराही नेवाः पुचःका कोषाध्यक्ष हुनुहुन्छ । माईला छोरा कृष्ण महर्जन दक्षिण कोरिया स्थित उल्सान नेपाली समाज, दक्षिण कोरियाका अध्यक्ष, हलिं नेवा गुठी, कोरिया कचाःका अध्यक्ष हुनुहुन्छ । 

कान्छो छोरा श्रीराम महर्जन टिष्टुङ खिँ बाजाको गुरु हुनुहुन्छ । साँईलो छोरा शंकर महर्जन, जेठी छोरी कमला महर्जन, कान्छी छोरी निर्मला महर्जन श्रेष्ठ हलिं नेवा गुठी रबी भवन कचाःको सदस्य हुनुहुन्छ भने बिमला महर्जन मानन्धर हलिं नेवा गुठी, रबी भवन कचाःको अध्यक्ष समेत हुनुहुन्छ ।

दामन पोष्ट परिवारको तर्फबाट दिवंगत आमा बुद्ध लक्ष्मी महर्जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल कलाकार बिमला महर्जन मानन्धर लगायत सम्पूर्ण महर्जन परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।



0 comments

Write Down Your Responses