Powered by Blogger.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई


काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । 

स्व. गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते (सेप्टेम्बर १८) का अवसरमा यो पुरस्कारका साथै दुई प्रतिष्ठित ब्यक्तित्व – गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने छ । 

पुरस्कृत हुनुहुने श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्य मान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रीय हुनुहुन्छ । 

तत्कालीन पञ्चायती निरंकुश सत्ताबाट नेपालपोष्टको प्रकाशनमा रोक लगाउँदा उहाँले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ नेपालपोष्टका सम्पादक प्रकाशकलाई सहयोग स्वरुप प्रकाशन गर्न प्रदान गर्नुभएको थियो । नेपालपोष्टको सहयोगसाथ प्रकाशन भएको मायालुको पनि प्रकाशनमा रोक लगाइएको    थियो ।  

गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने ब्यक्तित्व हुनुहुन्छ जसले सरकारी सेवा सूचना विभागमा सेवारत भएर पनि निजी तवरमा पत्रपत्रिकामा छापिने तस्विरका जिंकब्लक बनाएर उपलब्ध गराउनुहुन्थ्यो । 

उहाँकहाँबाट क्रान्तिकारी नेता रामराजा प्रसाद सिंहको ब्लक ल्याएर देवेन्द्र गौतमले पत्रिकामा छाप्दा प्रहरीले उहाँको कारखानामा पनि छापा मारेको थियो । 

सरकारी कर्मचारी उहालाई प्रहरी कारवाहीबाट जोगाउन उहाँका छोराले गिरफ्तारी दिएर हिरासतमा बसिदिनुभएको थियो । आदरणीय अमात्यको सहयोग र योगदानको हामी प्रशंसा गर्दछौं । 

यस्तै रघु घिमिरेले हाम्रा प्रकाशनहरुका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराउनुहुन्थ्यो । हामी उहाँले निरन्तर पु¥याउनुभएको योगदानको कदर एवं प्रशंसा गर्दछौं । 

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशि रु.एक लाख रहनेछ । प्रशंसापत्रका साथ जनही पचास हजार रुपियाँ रहनेछ ।




0 comments

Write Down Your Responses