Powered by Blogger.
राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित उपन्यास ‘रुदाने’ सार्वजनिक


काठमाडौं । रूपचन्द्र विष्टको जीवनीमा आधारित टंक चौलागाईंको उपन्यास ‘रुदाने’ शनिबार शिल्पीको गोठाले नाटकघरमा सार्वजनिक भएको छ । ‘रुदाने ’ उपन्यासलाई श्याम श्रेष्ठ, मुक्ता श्रेष्ठ, अजय सुुमार्गी र लेखक आफैले लोकार्पण गरेका हुन् ।

रूपचन्द्र विष्टको जीवनका विभिन्न पाटालाई सँगाल्दै एउटा आख्यानको शैलीमा लेखिएको यो किताबमा जीवनीभन्दा पृथक, कल्पना र सृजनात्मक शैलीमा लेखिएको लेखक टंक चौलागाईं बताउँछन् । “म आफू रंगमञ्च र कथासँग बढी समीप भएको हुँदा  मैले आख्यान लेख्दा अझ बढी न्याय गर्ने छू भन्ने लागेर यो शैली समाएको हुँ “, चौलागाईं भन्छन् ।

रूपचन्द्र लाई अत्यन्त नजिकबाट नियालेका लेखक श्याम श्रेष्ठका अनुसार यो आख्यानले निकै सूक्ष्म तरिकाले रूपचन्द्रको जीवनी उनेको छ । यसमा भावना र इतिहास जोडिएर आएको श्रेष्ठ बताउँछन् ।

“अहिलेका अधिकांश राजनीतिज्ञले रूपचन्द्र विष्टलाई समाएर भोटको राजनीति गरेको छर्लंग छ । उनलाई प्रयोग गरिन्जेल गर्ने, अनि आफ्नो शक्तिको समयमा बिर्सने नेताहरू आफ्नै वरपर छन्“ भन्दै रूदाने को किताबमा टिप्पणी दिँदै मुक्ता श्रेष्ठले भनिन् । “उनले जमीनका मान्छेलाई उठाए, महिलालाई बोल्न जगाए ।“


जनमुखी सहकर्मी तथा व्यवसायी अजय सुमार्गीले रूपचन्द्र विष्टको दार्शनिक र आध्यात्मिक पाटोलाई व्याख्या गरे । ॐ को गहिरो शब्दब्रह्म सँगको सामीप्यतालाई रूपचन्द्रले पनि आफ्नो जीवनमा आत्मसात् गरेको सुमार्गीले बताए । यो आख्यान टंक चौलागाईंको चौंथो कृति हो । 

सांग्रिला बुक्स र एम्बिशन बुक्सको सहकार्यमा प्रकाशित यस आख्यानको मूल्य रू ७९५ छ । यो किताब एम्बिशन गुरूको मोबाइल एपमा उपलब्ध छ, साथै यसको इबुक भर्सन र अडियोबुक भर्सन पनि यही एपमा उपलब्ध छ । यसको पेपरब्याक भर्सनलाई पनि पाठकले एम्बिशन गुरुकै एपबाट मगाउन सक्नुहुन्छ । 

डिजिटल फर्म्याट विश्वको जुनसुकै कुनामा बस्ने नेपाली किताबका पाठकले किन्न सक्नुहुनेछ भने, अहिलेलाई पेपरब्याक किताब काठमाण्डू को हकमा एकदिनमा र काठमाण्डू बाहिर भौगोलिक परिस्थितिलाई मध्यनजर गर्दै छिट्टै पाठकलाई उपलब्ध गराइने एम्बिशन गुरुले प्रतिबद्धता जनाएको छ । 


0 comments

Write Down Your Responses