Powered by Blogger.
आरआर जर्नल विमोचन , सञ्चार क्षेत्रको विकृति हटाउन पत्रकार स्वयम् लाग्नुपर्नेमा जोड


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रत्नराज्यलक्ष्मी क्याम्पसका स्नातक तहको तेस्रो वर्ष अध्ययनरत विद्यार्थीद्वारा प्रकाशित आरआर जर्नल विमोचन गरेको छ । 

शुक्रबार जर्नल विमोचनसंगै पत्रकारितामा ‘नवप्रवेशीहरूका लागि अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । आरआर पत्रकारिता हलमा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले आरआर क्याम्पस पत्रकारिता प्रशिक्षणको प्रमुख केन्द्र भएको बताउँदै सञ्चार क्षेत्रमा रहेका विद्यमान विकृति र विसंगतिको अन्त्यका लागि पत्रकार स्वंयम लाग्नुपर्ने बताए । 

पत्रकारिताको प्रभावकारी अभ्यास, क्षमताको प्रयोग तथा प्राज्ञिक ज्ञान प्राप्त गर्ने शैक्षिक संस्थाको रूपमा आरआर क्याम्पस रहेकाले नेपालको सबैजसो प्रतिष्ठित सञ्चार संस्थामा अग्रपंक्तिमा काम गर्ने पत्रकारहरू आरआरकै उत्पादन रहेको बताए ।  क्याम्पस प्रमुख ज्ञवालीले देशभरका विद्यार्थीको रोजाईमा रहेको आरआर क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धि गराउन प्राध्यापक, अध्यापक तथा सम्पूर्ण कर्मचारीहरूको उत्तिकै भूमिका रहेको बताउँदै भौतिक संरचनामा भने केही समस्या रहेको औल्याए । 

क्याम्पसको स्रोत र साधनले सकेसम्म कक्षाकोठालाई प्रविधिमैत्री बनाएर अध्यापन गराइरहेको जानकारी दिए । बजेट अभावकै कारण क्याम्पसको भौतिक संरचनामा केही समस्या भइरहेको र त्यसको पुनःनिर्माण गर्नुपर्ने अवस्था आएकोले सहयोगको लागि सरकारसंग आग्रह गरे ।  

जर्नल प्रकाशनले विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानसंगै सीप, विकास र व्यवहारिक पक्षको मूल्यांकनमा थप सहयोग पुगेको दिवा सत्रका सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बताए । कक्षामा लिएको पत्रकारिता शिक्षाले सैद्धान्तिक ज्ञानको बाटो देखाए पनि व्यवहारिक अभ्यासको प्रयोगले विद्यार्थीमाझ सहि र गलत छुट्याउन सक्ने दिशावोध गर्ने बताए । पत्रकारिता गर्दा अरूको गोपिनियताको ध्यान पु¥याउनुपर्ने बताउँदै नव प्रवेशी पत्रकारहरूलाई शैद्धान्तिक ज्ञान र व्यवहारिक पक्षलाई संगसंगै लान आग्रह गरे । पत्रकारले राजनीतिक विषयमा मात्र केन्द्रीत नभइ विकास र आर्थिक पक्षको पनि समाचारलाई महत्व दिनुपर्ने बताए । 


कार्यक्रममा पत्रकारिता विभाग प्रमुख डा. जगत नेपालले पत्रकारिता विषय अध्ययनमा अथाह अवसरहरू रहेको बताउँदै पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका विकृतिलाई हटाउन पत्रकारिताकै विद्यार्थीबाट सुरू गर्नुपर्ने बताए । पेसाप्रति समर्पित भएर काम गरिए पत्रकारिता क्षेत्रमा कुनै समस्या नआउने बताए । पत्रकारिता समाजको अभिन्न अंगको रूपमा स्थापित भइसकेकोले सबैले विश्वास गर्ने पेसाको रूपमा रहेकाले इमान्दरिता भएर लाग्न सुझाव दिए । 

आरआर क्याम्पसको पत्रकारिता विषय शिक्षक एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारीले गुणस्तरीय पत्रकारिता शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताउँदै समाचार कक्षालाई कक्षाकोठासंग जोडेर अध्यापन जारी राखेको बताए । बिडारीले इमान्दरीतापूर्वक मेहनत गरियो भने राम्रो फल प्राप्त हुने बताए । विए तेस्रो वर्ष अध्ययनरत इलेक्टिभ जेएमसी ४१० विषय अन्तरगत प्रयोगात्मक रूपमा प्रकाशन गरेको आरआर जर्नलमा विद्यार्थीहरूको लगनशील र सामुहिक मेहनत पाएकोमा खुशी व्यक्त गरे । 


कार्यक्रममा प्रारम्भ खबरका सम्पादक तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय सदस्य भीम लामाले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थी तथा पत्रकार स्वयम् लाग्नुपर्ने बताए । 

पत्रकारिता पेसा संवेदनशील रहेको कुरा सञ्चार क्षेत्रमा लाग्नेहरूले आम नागरिकलाई बुझाउन सकिए सहि र भ्रामक सूचनाबारे सचेत हुनेमा विश्वास गरे । पत्रकारिता विषयको अध्ययनले थुप्रै अवसरहरू प्राप्त गर्न सकिने उल्लेख गर्दै नव प्रवेशी पत्रकारहरूलाई धर्य र सहनशील भएर लाग्न आग्रह गरे । पत्रकारिता पेसामा लागेको आफ्नो अनुभव सुनाउँदै लामाले सामाजिक मूल्य मान्यतालाई ख्याल गरि समाचार बनाउनुपर्ने र पत्रकारितालाई दीगो विकाससंग जोडेर लानुपर्ने बताए । 

कार्यक्रममा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार हरेराम भेटवालले आफ्नो अनुभव आदानप्रदान गर्दै पत्रकारिताका नवप्रवेशीहरुलाई शुभकामना दिए । उनले मेहनतका कारण नै सफल हुने पेशा पत्रकारिता भएकाले यसमा इमान्दार भएर लागिपर्न विद्यार्थीहरुलाई सुझाव दिए । 



सो कार्यक्रममा पत्रकारिता गर्दै पढ्दै विभिन्न मिडीयामा कार्यरत पत्रकारहरु कमलकृष्ण विष्ट, फोमस भण्डारी, अञ्जिता पोखरेल, रोशन थापा,  प्रकाश कपाली, प्रेरणा आचार्यले  कक्षा कोठा र समाचार कक्षका पत्रकारिताका अनुभव सुनाएका थिए । 

कार्यक्रममा बिहानी सत्रका सहायक क्याम्पस प्रमुख रविनदाश श्रेष्ठ, क्याम्पस विद्यार्थी कल्याण शाखाका प्रमुख डा. वुद्धिप्रसाद सापकोटा, अंग्रेजी विभागका शिक्षक यादव अधिकारी लगायतको उपस्थिति रहेको थियो । 

विषय शिक्षक शन्तराम बिडारीको सभापतित्वमा समपन्न कार्यक्रमको सञ्चालन जर्नलका संयोजक कमलकृष्ण बिष्टले गरेका थिए भने स्वागत मन्तव्य समिता ढकालले गरेकी थिइन् । ४४ पृष्ठको उक्त म्यागजिनमा विद्यार्थीहरुद्धारा उत्पादित सामग्रीहरु प्रकाशन गरिएको छ । 






0 comments

Write Down Your Responses