Powered by Blogger.
रत्न राज्यलक्ष्मी क्याम्पसको ६४ औँ वार्षिक दिवस भव्यताका साथ सम्पन्न


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसको ६४औँ वार्षिक उत्सव एक कार्यक्रमका बीच  मंगलबार सफलताका साथ सम्पन्न भएको छ । 

क्यापस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीको अध्यक्षतामा सम्पन्न विशेष समारोहमा क्याम्पसको गतिविधि बारे उहाँले जानकारी गराउनु भयो । 

कार्यक्रमका प्रमुख अतिथि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा. डा. कुसुम शाक्यले मानविकी संकायको उदहारणीय क्याम्पसका रूपमा रहेको यस क्याम्पसले धेरैभन्दा धेरै विषयमा अध्यापन गराइरहेको सन्दर्भमा स्नातकोत्तर तहमा आम संचार तथा पत्रकारिता, संगीत र एमसिए संचालन गर्ने कुरामा प्रतिबद्धता जनाउनु भयो । उहाँले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रशासनलाई आग्रह पनि गर्नुभयो । 



कार्यक्रमका अतिथिहरूमा नेपाल प्राध्यापक संघका महासचिव नरेन्द्र शिवाकोटी, पूर्व क्याम्पस प्रमुखहरू रामप्रसाद भट्टराई, सुनिल कुमार पौडेल, प्रा.डा. रुद्र प्रसाद पौडेल, डा. निर्मला कुमारी सुवाल, प्राध्यापक संघ आर. आरका एकाइ सभापति डा. विनोद मंजन, कर्मचारी संघ एकाइका सभापति मन्दिरा बुढाथोकी, रिसर्च मेनेजमेन्ट कमिटीका संयोजक नवराज थापा, प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति डा. रवीन्द्र न्यौपाने, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष ज्ञानेश्वर निरौला, स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति राज कुमार राई, निवर्तमान सभापति तपेन्द्र जंग शाही, पुरस्कार दाता डा. विनुबाबा अर्याल तथा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिनिधिहरू, प्राध्यापक, कर्मचारीहरू रहनुभएको थियो।

उक्त कार्यक्रममा सेवा निवृत्त र योगदानका आधारमा प्राध्यापक र कर्मचारीलाई सम्मान गरिएको थियो भने विभिन्न विषयमा उत्कृष्ट अंक ल्याई प्रथम हुनुहुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो । 



साथै, क्याम्पसका तर्फबाट सहभागी भई भीसी कप विजेता भलिबल टिम, हाजिरी जवाफ प्रतियोगीता टिमका साथै विश्वको उच्च सिखर सगरमाथामा आर आर क्याम्पसको झन्डा फहराउने आरोही विद्यार्थी दीपन गुरुङ्गलाई पनि सम्मान गरियो । 

क्याम्पस दिवसका अवसरमा आयोजित प्राध्यापक, कर्मचारी र विद्यार्थी बीच सम्पन्न भलिवल प्रतियोगिताका विजयी विद्यार्थी टीमलाई मेडल तथा प्रमाणपत्र प्रदान गरियो। कार्यक्रमा संगीत विभागका विद्यार्थीहरूले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।



सन्ध्याकालीन सत्रका सहायक क्याम्पस प्रमुख प्रमिला बिडारी सापकोटाले संचालन गर्नुभएको कार्यक्रममा बिहानी सत्रका क्याम्पस प्रमुख रवीनदास श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो।

क्याम्पस दिवसका अवसरमा २०८१ भदौ ५ गतेका दिन स्थानीय बिदा राखिएकोले पठनपाठन तथा क्याम्पस प्रशासन बन्द रहने छ भने विभिन्न विभागका आन्तरिक मूल्याङ्कन परीक्षाहरू यथावत संचालन हुने क्याम्पसले जनाएको छ । 






0 comments

Write Down Your Responses