Powered by Blogger.
संविधान र कानून बमोजिम नेपाल प्रहरी आफ्नो कर्तव्य पालनामा ढुक्क साथ आगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्न सफल भएकोमा बधाई दिँदै यस कार्यालयबाट जनतालाई गुणस्तरीय, आत्मीयतापूर्ण र परोपकारी भावका साथ सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभएको  छ ।  

जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनुभएको हो । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको लामो इतिहास र अनुभव रहेको चर्चा गर्दै नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । 

आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्ना कार्यहरू दक्षताका साथ सम्पन्न गर्न समेत नेपाल प्रहरी सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री ओलीले राज्यको शक्तिको दुरूपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने जस्ता क्रियाकलापहरू आपराधिक क्रियाकलाप भएको बताउँदै संविधान र कानून बमोजिम नेपाल प्रहरी आफ्नो कर्तव्य पालना गर्न ढुक्क साथ आगडि बढ्नुपर्ने बताउनुभयो । 

समाजमा अपराध हुन नदिन र आपराधिक मानसिकता फैलिन नदिन कसैले अपराध गराउन खोजेको छ भने त्यसलाई पहिलेनै पत्ता लगाएर नियन्त्रण एवम् अनुसन्धान गर्न धैरै महत्वपूर्ण भएको उल्लेख गर्दै अपराध रोकथाममा पुरानो तरिकाले मात्र नभई नयाँ कार्यशैलीको विकास गर्दै सुसज्जित बनाई अनुसन्धान भन्दा अगाडिको अनुसन्धान गर्न जरूरी रहेको उहाँले बताउनुभयो । 

समाजमा शान्ति सुरक्षा खलबलाउने एवम् देशलाई अझ अराजकता तर्फ लैजान खोज्ने विरूद्ध नेपाल प्रहरीले सतर्कता अपनाई काम गर्नुपर्ने बताउँदै आधुनिक प्रविधिको दुरूप्रयोगबाट हुने अपराध नियन्त्रणमा समेत अझ सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो । 



समारोहमा गृहमन्त्री रमेश लेखकले सरकारले नागरिकलाई सेवा प्रदान गर्ने क्रममा संविधान र कानूनको कार्यान्वयन गर्ने अंग मध्येको नेपाल प्रहरी प्रमुख अंग रहेको बताउँदै मुलुकमा प्रचलित कानून कार्यान्वयन एवम् नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवनिर्मित भवनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

मुलुकमा दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको लक्ष्यसम्म देशलाई पु¥याउनको लागि सरकार अगाडि बढेको चर्चा गर्दै सरकारले जनतालाई प्रदान गर्ने सेवामा कुनै किसिमको कमी कमजोरी नहोस् एवम् जनताले विधिको शासन तथा शान्ति सुव्यवस्थाको अनुभूतिका साथै सरकारको लक्ष्य एवम् उद्देश्य अनुरूप नेपाल प्रहरीले कार्य गर्नुपर्ने बताउनुभयो ।

 नेपाल प्रहरीले सीमित स्रोतसाधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै जनताका मुद्दालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न सबै प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो । 

सो अवसरमा गृहसचिव एकनारायण अर्यालले नवनिर्मित भवनबाट अझ प्रभावकारी सेवा प्रवाह हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीलाई समयानुकुल व्यवसायिक एवम् गतिशिल बनाउँदै लैजाने सरकारको नीति अनुरूप नवनिर्मित भवनलाई महत्वपूर्ण उपलब्धीको रूपमा लिएको बताउँदै यसले प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबलमात्र अभिवृद्धि नगरी नेपाल प्रहरीका काम कारवाहीलाई नागरिकमैत्री, व्यवसायिक एवम् परिष्कृत बनाउँदै सेवाग्राहीले समेत शान्ति सुरक्षा र अमन चयनको महसुस गरी प्रत्यक्ष रूपमा नागरिकलाई सहज, सुलभ र पारदर्शी सेवा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । 



समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । 

समाजको परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिवद्ध रहेको र समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारीता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । 

नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारवाहीलाई थप नागरिकमैत्री एवम् परिष्कृत बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप उर्जामय, नागरिकमैत्री, नविन सोंच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिबिम्बित  गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १ अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ ८१ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । 

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिक÷ विकास सल्लाहकार युवराज खतिवडा, महान्यायाधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, मुख्य सचिव लिलादेवी गड्तौला, कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, जिल्ला न्यायाधिश, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 




0 comments

Write Down Your Responses