Powered by Blogger.
भुटनदेवी माविद्वारा योजनाबद्व शैक्षिक विकासको कार्ययोजना तय


हेटौंडा । मकवानपुर जिल्ला कै शैक्षिक क्षेत्रमा अगुवा र उत्कृष्ट सामुदायिक विद्यालय भुटनदेवी मा. बि. ले एक दिने वार्षिक योजना तथा बजेट निर्माण कार्यशाला–२०८१ सञ्चालन गरेको छ । 

२०८१ सालको एसईई परीक्षामा गुणस्तरमा मकवानपुर जिल्ला कै प्रथम स्थान हासिल गर्न सफल विद्यालयले आगामी २०८१÷०८२ वर्ष अझ व्यवस्थित शैक्षिक योजनासहित अगाडि बढ्न कार्यशाला आयोजना गरिएको बताइएको छ ।  

कार्यशालामा भौतिक पूर्वाधारको विकास, शैक्षिक विकास, विद्यार्थीको समग्र विकासको लागि अतिरिक्त क्रियाकलाप र श्रोतको खोजी, परिचालन र पारदर्शीता लगायतका ४ वटा विषयमा समूह बनाई छलफल गरिएको थियो । 

छलफल पश्चात भौतिक पूर्वाधार विकासबारे शिक्षक सरस्वती अधिकारी, शैक्षिक विकास बारे शिक्षक सूर्य घिमिरे, अतिरिक्त क्रियाकलापबारे शिक्षक सुमन श्रेष्ठ र श्रोतको खोजी, परिचालन र पारदर्शीता बारे विद्यालयका  बालकृष्ण दाहालले समूहका सुझावहरू प्रस्तुत गर्नु भएको सहायक प्रधानअध्यापक भरत पोखरेलले जानकारी दिनुभयो । 

जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षक र कर्मचारीको सहभागीता रहेको कार्यशालाको उद्देश्यबारे विद्यालयका प्रधानाध्यापक माधव दाहालले प्रष्ट पार्नु भएको थियो । कार्यशालामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले योजनाबद्व र व्यवस्थित रूपमा शैक्षिक विकास र उन्नयनको लागि अगाडि बढ्न कार्यशाला आयोजना गरिएको बताउनुभयो । 

हेटौँडा–४ को वडा अध्यक्ष समेत रहेका सिग्देलले विकासको सबैभन्दा महत्वपूर्ण क्षेत्र शिक्षा भएकोले सामुदायिक र संस्थागत विद्यालय बीचको सहकार्य र प्रतिस्पर्धाद्वारा शिक्षामा गुणस्तर सुधार गर्न वडा कार्यालय लागिपरेको बताउनु भयो । 

१२ कक्षासम्म अध्ययन हुने यस विद्यालयमा करिव २३ सय विद्याार्थी अध्ययनरत छन् भने  सिभिल ईन्जीनियरिङ्ग, व्यवस्थापन, विज्ञान विषय र सिटिइभिटी तर्फ ३ वर्षे डिप्लोमा ईन्जिनियरिङ्ग अध्यापन गराउँदै आएको छ । 

कार्यशालामा समूहगत छलफलबाट निकालिएको निष्कर्षलाई विद्यालयको आगामी कार्ययोजनाको रूपमा अगाडि बढाउन प्रधानाध्यापक माधव दाहालको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको सहप्रअ भरत पोखरेलले जानकारी दिनुभयो ।




0 comments

Write Down Your Responses