काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरुको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।
विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र ब्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् ।
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस बर्ष उपत्यका प्रवेश गर्ने नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखी नै चेकजाँचको व्यबस्था मिलाएको छ ।
त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ति तथा चेक प्वाईन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिबिधीलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मूख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका लागी ९ सय भन्दा बढि ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनु भयो ।
अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाई गरि ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तिब्रगति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाईका साथ कारबाही गरिने छ ।
विशेषगरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमती विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडा गर्ने लगायतका उच्छ्रिङ्खल गतिबिधी गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको (मापसे र लापसे) सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङ्लाई कडा बनाइएको बताउनुभयो ।
0 comments
Write Down Your Responses