Powered by Blogger.
भिन्न राजनीतिज्ञ रूपचन्द्र



शन्तराम बिडारी

असार ७ गते, थाहा आन्दोलन÷अभियानका सर्जक रुदाने अर्थात् रूपचन्द्र विष्टको २४ औं स्मृति दिवस । जनमुखी राजनीतिज्ञ, तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य तथा आफ्नो राजनीतिक कालखण्डभर विभिन्न कारणले चर्चामा रहेका उनी मकवानपुरे जनताका असल प्रतिनिधि थिए ।

 

उनको ‘थाहा अभियान’ कै सम्झनास्वरूप अहिले उत्तरी मकवानपुरको एउटा नगरपालिकाको नाम नै थाहा नगरपालिका राखिएको छ ।

उत्तरी मकवानपुरको घर्तीखोलामा १९९० पुस २६ मा जन्मिएका रूपचन्द्रको २०५६ असार ७ गते वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनी एक औसतभन्दा फरक विद्रोही जनप्रतिनिधि थिए ।

 

उनले आजीवन मान्छे जगाउने यात्रामा आफूलाई होमे । राजनीति ‘गरिब, निमुखा, झुप्रे र छाप्रेहरूका लागि हुनुपर्छ’ भन्ने उनको धारणा थियो । ‘श्रमिकको राजनीति पुँजीपतिले गरिदिएर हुँदैन, गरिबको राजनीति धनीले गरिदिएर हुँदैन, महिलाको राजनीति पुरुषले गरिदिएर हुँदैन,’ उनी भन्थे, ‘आफ्नो राजनीति आफैंले गर्नुपर्छ । त्यसका लागि जनता जाग्नुपर्छ, जाग्नका लागि थाहा चाहिन्छ ।’

रूपचन्द्र तत्कालीन परिवेशमा आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएका हुन् । उनका बुबा नेपाली सेनामा मेजर थिए । तर कलिलो उमेरमै रूपचन्द्रले घरपरिवारको कडा अनुशासन, सुखसयलको जिन्दगी त्यागी नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए ।

कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव पुष्पलालको अंगरक्षक एवं काठमाडौं जिल्ला समिति सदस्य भएर रूपचन्द्रले काम गरे । निर्मल लामा लगायतसँग उनको घनिष्ठता थियो । उनलाई लामाले काठमाडौंको पश्चिमी इलाका कीर्तिपुर, पागा, नैकाप, थानकोट लगायतमा किसान जागरण अभियानको जिम्मेवारी दिएका थिए । उनी विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरूभन्दा फरक देखिए ।

 

आफ्ना केही स्वभावजन्य कारणले उनी २०११ सालमा पुष्पलाल र लामासँग पनि बसिरहन सकेनन् । पार्टीको संगठन नभए पनि जनता जगाउन सकिन्छ भन्ने दृढ मान्यता राख्ने उनी कम्युनिस्ट सिद्धान्तबाट भने जीवनकालभरि विचलित भएनन् ।

२०१५ सालको आम निर्वाचनमा रूपचन्द्र स्वतन्त्र कम्युनिस्टको परिचयमा उम्मेदवार भए । त्यस बेलाका कम्युनिस्ट कार्यकर्ताले उनका पक्षमा खुलेर प्रचार गरेका थिए । राजनीतिमा लागे पनि उनले आफ्नो प्राज्ञिक स्वाध्ययनलाई छाडेनन् ।

 

उमेर ढल्केपछि पनि उच्च शिक्षा हासिल गर्न स्नातकमा भर्ना भए । उनले कानुनमा स्नातक परीक्षा दिईवरी उत्तीर्ण भए पनि सबैको रोहबरमा ती प्रमाणपत्रहरू जलाइएको उनका अत्यन्तै नजिकका राजनीतिक चेला वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य रामनारायण बिडारी बताउँछन् ।

 

ती प्रमाणपत्रहरू समाजलाई धोका दिन मात्र काम लाग्ने र असल मान्छे हुन त अनुभव, अनुभूति र साक्षात्कार अर्थात् थाहा हुनुपर्छ भन्ने मान्यताका कारण रूपचन्द्रले जलाएको बिडारीको भनाइ छ । रूपचन्द्रले साविकको दामन गाउँ पञ्चायतमा प्रधानपञ्चको उम्मेदवार भई निर्वाचन जिते । यसअघि उनी वडाध्यक्षसमेत भएका थिए । उनले २०१९ सालमा काठमाडौंको कालीमाटी ग्राममा पनि निर्वाचन जितेका थिए ।

रूपचन्द्रले कम्युनिस्टको अभ्यास–व्यवहार र त्यसलाई साथर्कता दिने काम प्रधानपञ्चकालमै गरेका थिए, जसका कारण उनलाई सार्वजनिक सुरक्षा ऐन लगाएर सरकारले कारागारमा राख्यो । त्यो बेलै उनले धेरै नमुनाका विकास र जनमुखी कामहरू गरेका थिए ।

 

यही समयमा पालुङ उपत्यकामा हाइस्कुल खुल्यो । ३८ वटा बिहानी साक्षर कार्यक्रम सञ्चालनमा आए । विकासघर निर्माण भयो । आधुनिक खेती चल्यो । निर्दलीय व्यवस्थाविरुद्ध जनचेतना बढ्दै गयो । सामन्त, जाली, फटाहाहरू र शासकबाट गरिने सबै ज्यादतीविरुद्ध जनता जागरुक भए ।

 

यसै अवधिमा उनले आफैंलाई नमुनाका रूपमा प्रस्तुत गर्दै क्रान्तिकारी तवरले विवाह गरे । कालान्तरमा सो विवाह र परिवार अस्तव्यस्त भयो । तर पनि उनी हरपल जनता जगाउने कार्यमा सक्रिय भइरहे ।

निर्दलीय दबदबाका कारण आफैंले स्थापना गरेको हाइस्कुलको प्रधानाध्यापक पद छाडेर दामनमा उनी नौ वर्ष बाख्रा पालन गरेर बसे । आफ्नै खाना पसल र लज खोली आफैंले सबै काम गरेर दामनको टावरमा पर्यटकलाई घुमाउने काममा समेत उनी संलग्न भए । यसले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो ।

खासमा २०२० देखि २०३७ सालसम्मै उनको जनमुखी अभ्यासकाल थियो । आफ्नो ज्ञान र अनुभूतिलाई थाहा दर्शनका रूपमा २०३८ सालको दोस्रों आम निर्वाचनदेखि बाचुञ्जेल सम्प्रेषण गरे ।

 

थाहा आन्दोलन वास्तवमा अहिले चल्तीमा आएको सूचनाको हककै अभियान थियो । थाहा आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठूलो बल दिएको थियो । ‘थाहासँग प्रेम गर, थाहा तिमीसँग आउँछ,’ उनी भन्ने गर्थे ।

बलिष्ठ शरीर, गहिरो अध्ययन, अपार ज्ञान भण्डार भएका उनमा अदम्य साहस पनि थियो । शासकहरू उनीदेखि सधैं आतंकित हुन्थे । राष्ट्रिय पञ्चायत सदस्य हुँदा उनलाई जेल हालियो । राजाका दूत जेलमा गएर भने, ‘जीवन जेलमै बिताउने कि महाराजले दिएको सबै मन्त्रालय हेर्ने गरी मन्त्री बन्ने वा प्रधानमन्त्री ? वा रोजेको मन्त्री ?’ रूपचन्द्रले ती दूतलाई लेखेर दिए, ‘तिम्रा यस्ता बेठीक व्यवस्थामा हामीजस्तालाई मन्त्री पदमा पाइँदैन । मेरो ज्यान बाहिरभन्दा यही जेलमा राख्न उपयुक्त छ । किनकि, यहाँ मारिँदा त दोष अरूलाई लगाउन मिल्दैन होला नि ’ उनले एउटा प्रसंगमा भनेका थिए, ‘जिउँदो मान्छे अदालतमा लडिरहेको मुद्दा हो, यसको फैसला चिहानमा पुगेपछि मात्र हुन्छ ।’

कसैले माननीय भनेर सम्बोधन गर्दा उनी सोध्थे, ‘जनता जाननीय भए ? यदि जनता जाननीय भएका छैनन् भने उनीहरूको प्रतिनिधि माननीय हुँदैन । जब जनता जाननीय हुन्छन्, तब उनीहरूको प्रतिनिधि माननीय हुन्छ ।’ २०३९ सालमा उनले जनतालाई सार्वजनिक प्रश्न गरे, ‘जात ठूलो कि जनता ? नाता ठूलो कि न्याय ? स्वार्थ ठूलो कि सत्य ?’ यो प्रश्न अहिलेका दलहरू र नेताका लागि पनि उत्तिकै महत्त्वको छ । यसैगरी एउटा पर्चामा उनले भनेका थिए, ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी अनि यथार्थमुखी कर्तव्यमुखीबाहेक पछुवा–भगुवा सारा दोषी ।’ त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए । व्यवस्थाका अगुवा राजा थिए । तसर्थ, दोषी राजा नै हुन् भनी किटान गरिएको थियो ।

जीवनको उत्तरार्धमा रूपचन्द्र नराम्ररी थाकेका थिए ।

आफ्नो निधनअघि वीर अस्पतालमा उनले आफ्ना निकटस्थहरूसँग भनेका थिए, ‘मान्छे या त जाग्दै जागेनन् जे जति जागे, जालीफटाहालाई काम लागे । अब मेरो कुनै काम रहेन, बाँच्नुपर्ने कुनै कारण रहेन ।’

रूपचन्द्र आफैंजस्ता थिए, मौलिक । उनीसँग कसैले सक्दैनथ्यो ।

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल एकताका विद्यालयका शिक्षक थिए भने रूपचन्द्र राष्ट्रिय पञ्चायतका सदस्य । रूपचन्द्र त्यति बेला हेटौंडाको महेन्द्र चोकमा पर्चा बेच्दै थिए ।

 

त्यो देखेपछि पौडेलले पर्चा लैजाने कुरा गरेछन् । रूपचन्द्रले सायद हिसाब गरेर पैसापछि दिने सर्तमा पौडेललाई ३५ रुपैयाँको पर्चा दिए । पैसा दुई–चार दिनभित्र दिने प्रतिबद्धतापछि पौडेल हिडे ।

बीचबीचमा भेट्दा पनि पौडेलले पैसा नदिएपछि रूपचन्द्रलाई रिस उठेछ । तीन–चार महिनासम्म पनि पैसा नपाएपछि उनी पौडेलको नवलपुरस्थित घर गएछन् ।


उति बेला पौडेल न्यून आय भएका सामान्य मान्छे नै थिए । घरमै पुगेर रूपचन्द्रले ‘खै ले त भाते, त्यो ३५ रुपैयाँ’ भनेछन् । पौडेलले पैसा दिन आलटाल गरेपछि रूपचन्द्र आफैं घरभित्र छिरेर खाटमा हालिराखेको राम्रो तन्ना टिपेर हिँडेछन् । रूपचन्द्रले सो तन्ना ल्याएर चौतारोका वरपीपलमा झुन्ड्याएर र कागजको टुक्रामा लेखेछन्, ‘यो डोरमणि पौडेलको तन्ना हो, रु. ३५ मा लिलाम बढाबढ छ ।’

त्यहाँ धेरै मान्छे जम्मा भए । त्यो सुनेपछि पौडेल पनि हस्याङफस्याङ गर्दै पुगेछन् । अनि गोजीबाट ३५ रुपैयाँ निकालेर थमाउँदै तन्ना लिएछन् ।

(बिडारी रत्नराज्य लक्ष्मी क्याम्पसका पत्रकारिता विषयका अध्यापक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । उहाँको यो लेख २०८० असार ७ गते कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित भएको हो । हामीले लेखकको अनुमतिमा साभार गरेका हौं । )


0 comments

Write Down Your Responses