राजेन्द्रभक्त श्रेष्ठ
संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी मकवानपुरबीच सम्पर्क सेतुको रुपमा रहेको, एक आपसमा जोडिएको ऐतिहासिक महत्व र भविश्यको विकासको विराट संभावना बोकेको मार्ग हो थानकोट–चित्लाङ्ग –गणेशनमान मार्ग ।
छुट्टै इतिहास बोकेको थानकोट–चन्द्रागिरी– चित्लाङ सडक आज विभिन्न कारणबाट पछि परेको आभास हुन थालेको छ । हुनत वि.सं. २०२८ सालदेखि यो बाटो सुरु भएको हो ।
१ अर्ब ६ करोड रुपैंयाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको थियो । यसले काठमाडौंलाई तराइसंग जोड्ने वैकल्पिक मार्गको रुपमा आफुलाई स्थापित मात्र गर्दैन यस सडकलाई सहज र स्तरीकरण गर्दा पूर्वदेखि पश्चिम जताको पनि ‘ट्रान्जिट प्वाइन्ट’ बन्न सक्छ ।
यति महत्वको सडक भैकन पनि केन्द्रीय सरकारले यसलाई कहिल्यै उच्च प्राथमिकतामा नपार्नु भने विकासको महत्व नबुझ्नु सरह हो ।
विगत सयौं वर्ष देखि संचालनमा आएको यो बाटो लिच्छवीकालिन शासक देखि लिएर राणाहरुले पनि व्यापक प्रयोग गरेको पाईन्छ । अंशुवर्मा र नरेन्द्रदेवको शासनकाल अर्थात लिच्छवी कालको मध्यतिर टिस्टुङ–चित्लाङ भेग प्रखर भन्सार केन्द्र भएको इतिहासका दस्तावेजहरुमा उल्लेख छ ।
भारतको कलकत्तादेखि चिनको भोट–तिब्बत सम्मको व्यापार आयात–निर्यात गर्ने केन्द्रीय मार्ग नै यही भएको र यस क्षेत्रका स्थानीय जनतालाई तत्कालिन राजाले भन्सार छुट गरिदिएको उल्लेख छ । कस्तुरी, तामाको भाँडा, चम्मर, ऊन लगायतका सामानको व्यापार गर्दा यस क्षेत्रका जनतालाई भन्सार निशुल्क भनेर राज अंशुबर्माले जारी गरेको आदेश उल्लेख भएको शिललेख अझै टिस्टुङ (पाल्चोक) स्थित विद्यालय भवनको कोठाभित्र अझै छ ।
त्यस्तै यही बाटो हुँदै राणाकालमै नेपालको राजधानी काठमाडौंमा मोटर बोकेर ल्याएको कुरा हामी माझ सर्ववितितै छ । यसका बावजुत पनि यो बाटोलाई राज्यले हेर्ने दृष्टिकोण फरक पाईएको छ ।
बाटोको स्तरोन्नति भएको खण्डमा चित्लाङ्ग, इन्द्रसरोबर (मार्खु) र थाहा नगरलाई मात्र सहज हुने होईन भन्ने कुराको बोध योजनाविद्हरुलाई हुन जरुरी छ । समग्र देशको आर्थिक विकास र समृद्धिसँग जोडिएको गणेशमान मार्ग आज राज्यको ध्यान नपुगेर हो या निश्चित व्यत्तिहरुको राजनीति गर्ने थलोको कारण यो आर्थिक बर्षमा निक्कै ओझेलमा प¥यो ।
एक अर्ब ६ करोडको डिपिआर भएको बाटोमा जम्मा २ करोड बजेट निकासा गर्नु भनेको बर्खामा खाल्डाखुल्डी पुर्न पनि नपुग्ने पैसा हो । यसरी बजेट बिनियोजन हुने अवस्था भनेको अत्यन्तै पूर्वाग्रही सोच हो ।
भौगोलिक दुरीको दृष्टिकोणले जम्मा ८ कि.मी. सडक आज के कारण ओझेलमा परेको छ भन्ने कुरा मनन गर्नु अति आवश्यक भईसकको छ ।
मुलुकको पहिचान र देशको सम्पती कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई विकासको आधार भनेर भाषण जपेर मात्र हुँदैन । दिगो विकासको लक्ष्य प्राप्तीका लागि अति आवश्यक पूर्वाधारहरु तयार गर्न विकासप्रेमी, नीति निर्माण गर्ने तह–तप्का र योजना बनाउने निकाय अति सम्बेदनशील हुनु पर्ने देखिएको छ ।
चित्लाङ्ग–थानकोट सडकलाई गणेशमान मार्ग नामकरण गरेको छ । के यो नामको कारणबाट बजेट बिनियोजन नभएको हो त ? या सिमित व्यक्तिको स्वार्थ छ भने व्यक्तिको स्वार्थ भन्दा माथि उठेर जनताको स्वार्थ पुरा गर्ने कि नगर्ने ? साथै यो बाटो केवल राजनीति गर्ने थलो हो भने यसलाई पनि परिमार्जित गर्नु प¥यो । यहि बाटोलाई देखाएर राजनिति गर्ने वातावरण बन्द गर्नु प¥यो ।
राजनीति त्यो हो, जहाँ यथार्थपरक सवृद्धि बोकेको समाजमा निर्माण गर्नुपर्छ, त्यस्तो परिकल्पना साँच्नुपर्छ । समाज र धरातल नै भएन भने राजनीति गर्ने ठाउँ पनि रहदैन ।
त्यसैले अग्रज बुद्धिजिवि तथा नेतृत्व वर्गमा मेरो विनम्र अनुरोध छ की गणेश मान मार्गलाई सरकारले हेर्ने दृष्टिकोण सकरात्मक हुनु प¥यो । ताकी ८ कि.मी. सडक बनाउन ५० बर्ष लागिसक्यो अब अझै कति बर्ष सम्म हामी जनताले धैर्य धारण गर्नु पर्ने हो ?
(श्रेष्ठ थाहा नगरपालिका वडा नं ६ का अध्यक्ष हुन् ।)
0 comments
Write Down Your Responses