Powered by Blogger.
मेरो विगत, मेरो गौरव



सुशिला ढकाल अधिकारी


कसैको इन्द्रेणी जीवन होला

मेरो त सामान्य खोली जीवन

पाखा पखेरा जीवन

कुना कन्दरा जीवन

सामान्य जीवन

तर मेरो  विगत मेरो गौरव  ।

मेरो मनभरि मेरो पहाड छ

पाखा पखेरा छन्

गाई भैंसी छन्

चराचुरुङ्गी छन्

असार साउन छ

असोज मंसिर छ

तोरी फुलेको छ

रोटेपिङ् छ, के छैन

मेरो विगत मेरो गौरव ।

बा आमा छन्

काका काकी छन्

भाइभतिजा छन्

मनभरि ढुङ्गे अक्षर भएर कुदिएको

मेरो विगत मेरो गौरव ।

स्कल छ, खाजा छ

लुकामारी खेल छ

मेलापात छ, रोपाइँ छ

धान झुलेको छ

धानको भकारी छ

बारी र मकै, कोदो र कोदालो छ

साथी सङ्गी छन्, बालापन

रङ्गीचङ्गी छ 

मेरो विगत मेरो गौरव ।

 बिरुवा हल्केझैं जीवन हल्क्यो

फूल फुलेझैं जवानी फक्र्यो

गालाका छालामा लाली चढे

आँखा लजालु हुँदै गए

कर्के हेर्ने र मस्किनेपन आयो

डोकोभरिको घाँस

अँगालाभरिको दाउरा बोक्दा पनि

आफैँसँग सर्माउने  दिन आए

ढुकुरको माया देखियो

परेवाको रसलिला पनि देखियो

आफैँभित्र काउकुती लागेपछि 

मलाई पनि जवानी चढ्यो

मनले मनमिल्ने साथी खोज्यो

आनन्द अर्के

मेरो विगत मेरो गौरव ।

घरको काम गर्दा चुहिएका पसिना 

र पाएका परिवारकाहरूका प्यार

गाग्रो भर्न पँधेरा पुग्दा

पँधेर्नी सँङ्गी साथीहरूको हाँसो

ठट्टा अनि बोली बचनको मिठास 

कसरी बिर्सू ? 

छोरीको ललाट

अर्काको घरमा जानुपर्ने

गइयो र आँखाभरि सम्झना लिएर

आज सम्झना मात्र छ

चरी भएको भए पुगेर हेर्थें

पखेटा भएका भए गएर आउँथें

माइतीमा अगेनो ठोसेको

दूध तताएको, दही मथेको 

ती दिन स्वर्गीय थिए

मेरो विगत मेरो गौरव । 

माइतीमा माया पाइन्थ्यो

खाइन्थ्यो र खेलिन्थ्यो

डुलिन्थ्यो र नाचिन्थ्यो

रमाइला दिन थिए ती,

घरमा सबैलाई सम्मान गर्नुपर्छ

पतिको हेरचाह गर्छु

 छोराछोरीलाई माया दिन्छु

सासु ससुरालाई स्याहार गर्छु

नन्द, आमाजूको माया खोज्छु

माइतीमा जस्तो लाडिन पाइन्न

थकाइ लाग्छ, जीउ दुख्छ

लाडिन मन लाग्छ

आमाको काख छाडेपछि

छोरीको लाडिने हक चुँडिदो रहेछ

साथी , सङ्गी कता पुगे

कसलाई सुनाउने मनका व्यथा

माइतीको बालापन

स्वतन्त्र र उन्मुक्त जीवन

आँखाभरि नाँच्छ, मन हलुङ्गो हुन्छ 

 सम्झदा पनि 

मेरो विगत मेरो गौरव ।

छोरीका लागि माइतीको

आँगन स्वर्ग हो 

 खुब नाँच्दै रमाउँथेँ

कसैको डर थिएन

कसैको धक थिएन

वास्तविक स्वतन्त्रता थियो

आज काँधभरि जिम्मेवारी छ 

ठूलाबडाको लाज सरम छ

त्यसैले विगतको सम्झना आउँछ

ए ,मेरो विगत सक्छस् ,

मलाई फेरि अँगाल

तनभरि मनभरि

 लहलह धान झुलेका फाँटभरि, 

 ढकमक्क  वसन्तले ढाकेका 

 मेरो माइतीदेशको बनपाखाभरि

आज मलाई विगतमा पुग्न रहर छ

मान्छेको जीवनका

हरेक चाहाना र रहरहरू

कहाँ पुरा हुन्छ र ?

तैपनि ,मेरो विगत मेरो सम्झना

मेरो गौरव, मेरो जीवनको सम्पत्ति ।


0 comments

Write Down Your Responses