आनन्दराम पौडेलकुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! अब म नेपालका कम्युनिष्ट नेताहरूको चरित्र बर्णन गर्दछु;, ध्यानदिएर सुन्नुहोस्।
दुई बर्षदेखि नेपाली वाम–राजनीतिको क्षितीज गालिगलौजले भरिएको छ । आफूलाइ कम्युनिष्ट भन्ने, कम्युनिष्ट पार्टीका नेताहरूको बिषयमा अध्ययन गरी केलाउँदा यिनीहरूले जम्माजम्मि जानेको नै सजातीयलाइ र अझ सगोलकालाई तथानाम गालि गर्ने मात्रै हो भन्ने निस्कर्षमा पुगिन्छ ।
यिनीहरूका अभिव्यक्ति सुन्दा यिनीहरूका दिमागमा रछान भरिएको छ भन्ने निस्कर्षमा पुगिन्छ । यस्तो लाग्छ, आफूलाइ कम्युनिष्ट भन्ने नेताहरू सबै कुहिएर सडिसकेका छन् र निरन्तर दुर्गन्ध फिंजाइरहेका छन् ।
षड्यन्त्र गरिरहने र घृणा मात्र गर्ने भएकाले यिनीहरूका मनमस्तिष्कमा रचनात्मक, सिर्जनात्मक सोच पलाउनै पाउँदैन । आफूलाई कम्युनिष्ट भन्ने नेताहरूका भाषण सुन्दा न त त्यसमा रचनात्मकता भेटिन्छ, न उर्जा भेटिन्छ; लाग्छ उनीहरू कुनै तर्क, विवेक, दृष्टिकोण र योजना नभएका मामुली झगडिया मात्रै हुन् ।
चार दशक अघिको इतिहासमा नियाल्दा, मोहनबिक्रम सिंहहरूले पुष्पलाललाइ सिध्याउनकै लागि अनेकौं षडयन्त्र गर्नुभयो । “पुष्पलाल काङ्ग्रेसको पुच्छर हो” भनेर दुस्प्रचार गर्नुभयो । त्यतिले नपुगेर, ‘गद्दार पुष्पलाल’ शीर्षकको पुस्तिका छपाएर देशभर बितरण गराउनुभयो ।
“निर्मल लामालाइ सिध्याउन कम्मरकसेर लागेका मोहनबिक्रम सिंहले लामाविरुध्द अर्थोक् केही नभेट्टाएसि ‘यो सिआइडी, जासुस, गुप्तचर नै हो’ भन्न थाल्नुभयो । निर्मल लामा जासुस, सिआइडी, गुप्तचर नै हो भनेर सेल कमिटीसम्म प्रशिक्षीत गर्नुभयो । बरिष्ठ नेता ईश्वरीप्रसाद दाहाल (असारे काका) भन्नुहुन्छ – “मोहन बिक्रम सिंहले भनेपछि ‘होला; निर्मल लामा सिआइडी नै होला’ भनेर हामीले पनि निर्मल लामालाइ खुबै पेल्थ्यौं।”
सूर्यप्रसाद शर्माजी (मोवाइल नम्बर ९८५५०६४०९८, टेलिफोन नं ०५६–५६१४७७, हाल भरतपुर, चितवनमा बस्नुहुन्छ । यो पङ्क्तिकारको जिल्ला मकवानपुरमा नेकपा एमाले (तत्कालीन माले) पार्टीको जग हाल्ने तथा सङ्गठन निर्माण, विस्तार र सुदृढीकरण गर्नेमा उहाँको प्रमुख र महत्वपूर्ण भूमिका रह्यो ।
पञ्चायतकालमा पार्टीनिर्माणको लागि उहाँले ज्यानै न्योछावर गर्नुभएको हो । सूर्यप्रसाद शर्माजीले भन्नुभयो – “वहुदल आएपछिको कुरो हो । मकवानपुर जिल्लाको राजनीतिमा नेकपा मालेको एकलौटी वर्चस्व कायम राख्नको लागि रुदाने (रुपचन्द्र बिष्ट) लाई राजनीतिक वृत्तबाट ‘रिङ्ग–आउट’ गर्न नितान्त जरुरी थियो ।
जनतामा भिजेका रुपचन्द्र बिष्टलाइ सहजै किनारा लगाउन सकिंदैनथ्यो । त्यसैले, उसका विरुध्द षड्यन्त्रका तानाबाना बुनियो । ‘वहुदलप्राप्तिका लागि हामीले छातिमा गोली थापिरहेको बेलामा प्रतिकार समितिमा बस्नेहरु हरियो घाँसका हरियो सर्प नै हुन्।’ रुदानेविरुध्द यस्ता अनेकौं लाञ्छनाहरु तैयार गरियो र सम्पूर्ण कार्यकर्ताद्वारा व्यापक प्रचार–प्रसार गराइयो । मेरै अगुवाई र संयोजनमा यस्तो घीनलाग्दो, नीच कर्म हुनगयो । पछि मलाई पश्चाताप हुनथाल्यो र अहिलेसम्म पनि गहीरो पीडा छ।“ सूर्यप्रसाद शर्माले भन्नुभयो।
२०५४ सालमा नेकपा एमाले पार्टी दुई चीरा भयो । नेकपा मालेतिर लागेका आफ्नै कमरेडहरूविरुद्ध एमालेले षडयन्त्रको अभियान नै चलायो । मालेतिर लागेका कमरेडहरू विरुद्ध कुनै तथ्य भेट्टाएसम्म तिनै तथ्यहरू उछालेर धुलिसात् पारिन्थ्यो; तथ्य केहीपनि नभेट्टाएमा “त्यो जासुस, सिआइडी, गुप्तचर नै हो” भनेर दुस्प्रचार गरिन्थ्यो ।
त्यही अभियान अहिले पुन शुरु भएको छ । पूर्ण ईन्फादाजीलाइ हामीहरुले साहित्यकार, लेखकको रुपमा चिन्छौं । तर, उहाँ पार्टीराजनीतिमा पनि सकृय हुनुहुँदोरहेछ । उहाँलाइ सिध्याउनकै लागि “यो जासुस, सिआइडी, गुप्तचर हो” भनेर ब्यापक प्रचार गरिएको छ ।
आफूलाई कम्युनिष्ट भन्ने यी नेताहरू हरेक बिषयलाई जबर्जस्ति सैद्धान्तीकरण गर्दै रौँका चिरा पार्न त चौपट्टै शिपालु छन् नै तर निकै तल गिर्दै आफ्नै सजातीयका निजी जिन्दगीभित्र छिरेर घीनलाग्दो आक्रमण गर्न समेत् बाँकि राख्दैनन् ।
यी आफूलाई कम्युनिष्ट भन्ने नेताहरूले सजातीयलाइ गाली गर्नकै लागि क्वाइन गरेका शब्दहरू यति छन् कि सम्झेर साध्य छैन, तर अहिले तत्काल सम्झेका शब्दहरु यस्ता छन् –
“दक्षिणपन्थि, गद्दार, देशद्रोही, अन्तर्घाति, घुसपैठिया, लाजसरम पचाएको घिनलाग्दो मान्छे, हरिया साँप, कुहिएको अण्डा, कुहिएर झरेका पात, फोहोरको झिँगा, कुहिएका फर्सीहरु, मधु–कैटभ राक्षस, संशोधनवादी, जडसूत्रवादी, आदि।”
आफूलाइ कम्युनिष्ट भन्ने नेताहरूले सधैं प्रयोग गर्ने यी शब्दहरूको सूचि निकै लामो छ । पटक–पटक उनीहरूका भाषण सुनिरहँदा प्रष्टै बुझिन्छ– उनीहरूको दिमागमा यस्तै क्षुद्र, घीनलाग्दा शब्दकै मात्र भण्डार छ । उनीहरूले सधैं प्रयोग गर्ने गालिगलौजका तुच्छ शब्दहरू कतिपय त शब्दकोषमै भेटिंदैनन् र कतिपय त सभ्य, सज्जन मानवले सुन्नैनसकिने सम्मका छन् ।
आफूलाई कम्युनिष्ट भन्ने नेताहरूका भाषणलाइ केलाएर हेर्दा त्यसमा असफलताका कुण्ठा र ईर्ष्याबाहेक केहीपनि भेटिंदैन। उनीहरूकै भाषणले उनीहरूकै ईमेज निर्माण गरेको छ – सधैं दाह्राकिटेर र अरूलाई झम्टन तम्तैयार भएर बसेको क्रुर, नरपिचाशको ईमेज ।
हामी पार्टीमा नलागेका स्वतन्त्र लेखकले भन्नुपर्दा नेपालका कम्युनिष्टहरू मधुकैटभ राक्षस हैनकि महाभारतका यदुबंशी रहेछन् भनेर ठोकुवा गर्न सकिन्छ । कृष्ण यदुबंशी हुन्। तर, उनका खलक नै आफ्नै खलकभित्र आफआफैं झगडागरेर सबै सकिएका थिए ।
‘अरूलाइ चोरऔंला देखाउँदा तीनओटा औंला आफैंतिर फर्किएको हुन्छ’ भन्ने यति सामान्य ब्यवहारिक ज्ञानसमेत् यी कम्युनिष्ट नेताहरूमा रहेनछ । आफूलाइ कम्युनिष्ट भन्ने यी नेताहरूले अरूलाइ गालि गर्नबाहेक अर्थोक् केही जानेका छैनन्। केही बर्ष अघि विश्व बैंकले अरुण (तेश्रो) जलबिद्युत योजना निर्माण गरिदिने भएको थियो ।
माधव नेपालजीहरूले त्यसविरुद्ध जनता उचालेर भयङ्कर विरोधको अभियान नै चलाए र आन्दोलन गरे। अहिले पछिल्लो कालखण्डमा माओवादीका नेताहरूले एमसीसीविरुद्ध अभियान चलाइरहेका छन् । आश्चर्यलाग्दो दुःखद बिडम्बनाचाहीं के छ भने हिजोका दिनमा एमसीसी प्रोजेक्ट ल्याउनैपर्छ भनेर घुँडाधसेर लाग्नेचाहीं यिनै माओवादी नेताहरू थिए ।
एमसीसी प्रोजेक्ट ल्याउन सम्पूर्ण प्रयास माओवादी नेताहरूले नै गरेका थिए; अन्तिममा फिनिसिङ टच मात्र काङ्ग्रेस नेताले गरेका थिए । एमसीसी प्रोजेक्ट ल्याउन कम्मर कसेर लागेका माओवादी नेताहरुले नै अहिले एमसीसीविरुद्ध जनतालाई उचालिरहेका छन्।
यी द्वैधचरित्रका कम्युनिष्ट नेताका ढोंग, पाखण्ड र आडम्बरबाट नेपाल राष्ट्र आक्रान्त छ । जब यिनीहरूको मुखुण्डो उत्रिन्छ, तब नेपाल राष्ट्रले त्राण पाउनेछ ।
आफूलाइ कम्युनिष्ट भन्ने नेताहरूको सजीव चरित्रबर्णन गरेर कुमारजी मौन हुँदाभए ।
इति श्रीस्कन्द पुराणे, हिमवतखण्डे, नेपाल महात्म्ये, कम्युनिष्ट चरित्र बर्णनम् शुभम्।
0 comments
Write Down Your Responses