भावना न्यौपाने, वरिष्ठ साहित्यकार
लामो समयदेखि कोरोनाको प्रकोपले गर्दा बन्दाबन्दीको अवस्था छ, यस्तो बेला दिनहरु कसरी व्यतित गरिरहनुभएको छ ?
यो समय साहित्यमा सदुपयोग गरीरहेकी छु ।
लामो लकडाउनको बसाइलाई साहित्य सिर्जनामा कत्तिको सदुपयोग गर्नुभएको छ ?
जीवनमा समय सधैं छोटो लाग्दैछ ,घरबाटै भर्चुअल कवि गोष्ठी ,मिटिङ र विद्यार्थीहरूलाई विद्यालयमा अनलाइन कक्षा चलाउँदा सिङ्गो दिन एक मिनेट जस्तो भएकोछ ।
लकडाउनको उपज स्वरुप तपाँइका के कस्ता कृतिहरु बाहिर आउदैछन् ?
भावनाका डोबहरू चौथो कविता सङ्ग्रह, मृदुल पथ मुक्तक सङ्ग्रह र जीवनका अविस्मरणीय पदचाप नियात्रा सङ्ग्रह अब छिट्टै आँउदैछ ।
तपाँइ त यात्रामा रमाउने मान्छे, पछिल्लो समय साहित्य वा अन्य त्यस्ता खालका कार्यक्रम वा यात्राहरुमा कत्तिको निस्कन पाउनुभएको छ ?
कोरोनाको त्रासले बाहिर खासै निस्किएकी छैन, जिल्लामा आयोजना भएका दुई–तीन कार्यक्रममा सहभागी भएँ ।
साहित्यकारहरु एकोहोरो हुन्छन् भन्छन्, घर परिवारलाई कत्तिको समय दिने गर्नुभएको छ ?
विद्यालय र घर परिवार भित्रको उत्तरदायित्व बहन पश्चात् सम्पूर्ण समय साहित्यमा समाहित भएर बितिरहेको छ ,वास्तवमा म साहित्यमा एकहोरो भैसकेकी छु ।
तपाँइ छन्दमा असाध्यै मिठो कविता लेख्ने र वाचन गर्ने गर्नुहुन्छ, छन्दमै कलम चलाउने प्रेरणा कसरी आयो ?
एउटा विशिष्ट साहित्यिक परिवारमा जन्मन पुगेँ, बाल मस्तिष्कमा साहित्यको सुगन्ध प्रवेश भैसकेको थियो । विद्यालय स्तरमा हुने कार्यक्रममा राम्रो स्थान प्राप्त हुन्थ्यो । यसले केही ऊर्जा थपिएको अनुभूत गर्थेँ । एघार वर्ष यता राष्ट्रकवि माधव घिमिरेबाट बारम्बार हौसला प्रेरणा र आशीर्वाद प्राप्त भैरह्यो ,त्यसकै परिणाम आज कलम अविरल चलिरहेको छ ।
मोफसलको दाङमा रहेर शिक्षक पेशासंगै साहित्य सिर्जनामा तल्लिन हुँदा कस्तो अनुभुती हुने गर्छ ?
शिक्षण पेशामा दिनभर व्यस्त हुँदा समय कसरी बित्छ स्वयं अनविज्ञ छु । बिहान बेलुका सामाजिक कार्य एवम् पारिवारिक दायित्व निर्वाह गर्दै खाना खाइसकेपछि राति सबै सुत्छन् । म निद्रालाई कटौती गरेर लेख्न बस्छु । व्यस्तता सँगै खुसी पनि लाग्छ ।
अहिलेसम्म नेपाली साहित्य आकाशमा के के योगदान गर्नुभयो ?
त्यो कुराको मूल्यांकनको जिम्मा मलाई चिन्ने सम्पूर्ण शुभेच्छुक एवम् तपाईंहरूको हो ।
तपाँइले यो क्षेत्रमा लागेर प्राप्त गरेका चर्चायोग्य सम्मान तथा कदरहरु कुन कुन हुन् ?
देश बाहिर छिमेकी राष्ट्र भारतबाट प्राप्त १–अन्तर्राष्ट्रिय गौरव सम्मान, २–अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान, ३–शान्ति देवी स्मृति अन्तर्राष्ट्रिय गौरव सम्मान यी तीन सम्मान सहित सुदूर पूर्वको ओखलढुंगा हुँदै सूदूरपश्चिमको महेन्द्रनगरसम्म देशका हरेक भूगोलले प्रदान गरेका पुरस्कार र सम्मानहरू सबै स्मरणीय छन् ।
समाजले तपाँइलाई कस्तो किसिमको आदर गरेको पाउनुभएको छ ?
साहित्यलाई बुझ्नेहरू,माया गर्नेहरू ,साहित्य देशको गौरव र सम्पत्ति ठान्ने विद्वानजनको सामु उभिँदा उहाँहरूबाट आदर ,स्नेह ग्रहण गर्दै आएकी छु ।
समाजलाई तपाँइले के दिन चाहनुहुन्छ ?
समाजलाई विकृति ,विसङ्गती , विभेद ,भ्रष्टाचारमुक्त बनाउन चेतनाप्रद कृतिहरू दिन चाहन्छु ।
समाजमा भैरहेका विसङ्गती र विकृतिको न्यूनीकरण गर्न कलमबाट कत्तिको योगदान पु¥याए भन्ने लाग्छ ?
विकृति, विसङ्गती माथि साहित्यका माध्यमबाट औंला ठड्याउनु साहित्यकारको धर्म हो । समाजमा घटिरहेका अप्रिय घटना र अनेकौं विकृतिको अन्त्य गर्नका लागि कलमको माध्यमबाट सचेतना फैलाउने प्रयास रहन्छ ।
देशका विभिन्न भूगोलमा पुगेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आउनुभएको छ, त्यस्ता अविश्मरणीय स्थानहरु कुन कुन हुन् ?
मकवानपुर जिल्ला ,नुवाकोट जिल्ला ,काठमाडौं जिल्ला, लुम्बिनी ,कञ्चनपुर ,ओखलढुंगा ,काभ्रेपलान्चोक ,रसुवा आदि ।
अहिलेसम्म साहित्यमा लागेर के पाउनुभयो, के गुमाउनु भयो ?
साहित्यमा लागेर मीठो जीवन पाएँ, आफूलाई माया गर्ने देधका हरेक भूगोलभर एवम् देश बाहिर प्रशस्त शुभेच्छुक मित्रहरू पाएँ,केही गुमाएको जस्तो लाग्दैन ।
साहित्यमा लागेर जीवनमा कत्तिको खुसी पाउनुभएको छ ?
जीवन्त खुसीका स्तम्भमा चढ्न पाएकी छु ,यसको कारण सदैव मेरो रक्तसञ्चारमा खुसी प्रवाहित भैरहेको छ ।
तपाँइ केका लागि लेख्नुहुन्छ ?
म समाज र देशका लागि लेख्छु ,त्यसले मलाई आत्मसन्तुष्टि थपिन्छ ।
तपाँइको लेखनीको प्रेरणाको स्रोत र आदर्श को को हुन् ?
जन्मदिने बुवा आमा, र राष्ट्रकवि माधव घिमिरे ।
तपाँइको पारिवारिक पृष्ठभूमि पनि साहित्य नै हो भन्ने सुनिएको छ, यसबारे अलिकति प्रकाश पारिदिनुस् न ?
बुवा आमा –पवित्र राज न्यौपाने विमला न्यौपाने ,दाइ रमेश क्षितिज ,काका धर्म न्यौपाने सबै साहित्यकार हुनुहुन्छ ।
तपाँइको बुझाइमा साहित्य के हो ?
साहित्य समाजको ऐना हो,जीवन खुसी र स्वस्थ बनाउने सञ्जीवनी हो । यसले समाजमा घट्ने बीभत्स घटना ,भ्रष्टाचार ,विसङ्गति विकृति प्रति सजग रहन सबैलाई सन्देश दिरहेको हुन्छ ।
साहित्यिक जीवनले घर परिवारको जीवनसंग तालमेल गर्न अफ्ठेरो परेको छ की छैन ?
साधनामा लीन हुँदा कहिलेकाही घर परिवारलाई समय दिन सकिँदैन । सबैतिर मिलाउने प्रयास गर्दै जीवन बितिरहेको छ ।
साहित्यकारहरु सधैं आर्थिक संकटमा हुन्छन् भन्छन्, तपाँइलाई त्यस्तो संकट परेको अनुभुति छ की छैन ?
सृजनामा बगिरहँदा कृतिको जन्म दिन मन लाग्छ, । विभिन्न कार्यक्रममा उपस्थित हुँदा आर्थिककै खाँचो । कहिलेकाँही आर्थिक सङ्कट पर्छ ।
तपाँइ आफुले आफैंलाई परिचय दिनुपर्दा के भनेर चिनाउन चाहनुहुन्छ ?
यो प्रश्नले गम्भीर बनायो । परिचय बनाउनै बाँकी छ, भविष्यले निर्धारण गर्नेछ ।
लेखनीको समय कसरी व्यवस्थापन गर्नुहुन्छ, कुन समयमा तपाँइका कलम बढी चल्छन् ?
बिहान देखि बेलुका सम्म पाँच मिनेट फुर्सद हुँदैन त्यसैले प्राय रातिको समय साहित्यमा लगाउँदै आएकी छु ।
लेखन यात्रा कहिलेबाट सुरु भयो ?
विगत बाह्र वर्ष देखि ।
मोफसलमा रहेर ओझेलमा परिए जस्तो लागेको छैन ?
केही गुट उपगुटको माझ ओझेल परेपनि उदाएको सूर्यलाई हत्केलाले छेक्दो रहेनछ ।
तपाँइको विचारमा प्रेम के हो, कोसंग बढी प्रेम गर्नुहुन्छ ?
प्रेम जीवनको सञ्जीवनी हो,ऊर्जा हो,आयु हो । मलाई जन्मदिने बुवा आमा, मैले जन्म दिएका दुई सन्तान ,मलाई नजिकबाट चिन्ने मेरा मित्रहरू ,मेरा सृजनालाई माया गर्ने प्रिय पाठक , विभिन्न क्षेत्रमा रहनुहुने मलाई माया गर्ने विद्वानहरू ,मेरो जिन्दगीका प्रेरणादायी व्यक्तित्वहरू र मेरा विद्यार्थीहरूलाई प्रेम गर्छु ।
नेपाली साहित्यको सुन्दर पक्ष अनि विकृत रुपबारे केही भोगाई र अनुभव छन् होला नी, केही चर्चा गरिदिनुस् न ?
साहित्यिक योगदान र सृजनाको राम्रो मूल्यांकन हुनु सुन्दर पक्ष भएता पनि विभिन्न गुटउपगुट र राजनीतिका आधारमा राम्रा स्रष्टा ओझेल पार्दै गुणस्तरीयताको मापदण्डको आधारमा नभै अन्य कारण विभिन्न कार्यक्रम र प्रतियोगितामा गुणस्तरहीन सृजनालाई प्रथम ,द्वितीय गराउनु दुख पक्ष हो ।
अन्त्यमा यहाँले जोड दिएर भन्नुपर्ने कुराहरु केही छन् भने राख्न सक्नुहुनेछ ?
मेरो साहित्यिक यात्रामा हौसला प्रदान गर्दै आउनुभएका देशका विशिष्ट व्यक्तित्वहरू, विभिन्न क्षेत्रका वरिष्ठ कर्मचारी ,उच्च न्यायकर्मी, मलाई भावना भनेर चिन्ने प्रिय पाठकहरू सदैव माया ,सल्लाह सुझाव पाइरहूँ । अब आउँदै गरेका चौथो र पाँचौ कृतिको समीक्षा गरिदिनुहोला ।
मेरो साहित्यिक जीवनलाई आम पाठक माझ अविराम उभ्याउनु हुने वरिष्ठ पत्रकार दामन पोस्टका सम्पादक एवं काठमाडौं जिल्ला पत्रकार महासंघका पूर्व अध्यक्ष शन्त सर एवम् दामन पोस्ट परिवार प्रति आभारी छु । हार्दिक धन्यवाद ,जय साहित्य !
0 comments
Write Down Your Responses