साहित्यकार शर्माको ‘बार्दलीमा जून’ लोकार्पण
काठमाडौं । सोलुखुम्बुकी स्रष्टा शान्ति शर्माको दोस्रो कृति मुक्तक सङ्ग्रह ‘बार्दलीमा जून’ लोकार्पण गरिएको छ । सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको उक्त कृतिको लोकार्पण समारोहमा परराष्ट्र मन्त्री एवं साहित्यकार प्रदीप ज्ञवाली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरि ज्ञानुवाकर पौडेल, प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. कुमार कोइराला, डा. देवी नेपाल, सांसद आङ दावा शेर्पा, रामकाजी कोने, रमेश पौडेल, वियोगी बुढाथोकी, प्रोल्लास सिन्धुलीय, नन्दकृष्ण जोशी, वशिष्ठ अधिकारी, कलानिधि दाहाल, नन्दु उप्रेती, विजयध्वज थापा, सुनिल अधिकारी लगायत थुप्रै साहित्यकार एवं साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साहित्यले मानवमा सकारात्मक उर्जा भर्नु पर्दछ भन्दै शान्ति शर्माका मुक्तकमा आफूले त्यस्तो उर्जा पाएको बताउनुभएको थियो ।
पुस्तकमाथि आफ्नो अत्यन्त आकर्षक समालोचकीय मन्तव्य प्रस्तुत गर्दै प्रा. डा. रामप्रसाद ज्ञवालीले पुस्तकमा प्रणय र परिवेश गरि दुई प्रकारका मुक्तकबाट समाजका विविध विषय समेटिएको उल्लेख गर्नुभएको थियो । उहाँले प्रेम निस्वार्थी नहुने तथा सौन्दर्य आफ्नो इच्छा र चाहना अनुसार फरक हुने कुरा दृष्टान्तसहित बताउनुभएको थियो ।
डा. कुमार कोइरालाले मुक्तक लेखनको विषयमा मुक्तक विधाको सल्यक्रिया गर्नुभएको थियो भने ज्ञानुवाकर पौडेलले पुस्तकमा अरू स्थापित साहित्यकारबाट भूमिका लेखाएर कृतिलाई बैशाखी टेकाउने काम नगरेकोमा कृतिकारलाई बधाई दिनुभएको थियो ।
डा. देवी नेपालले शान्ति शर्माको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा
शालिन आवाजमा भद्र शब्दहरूको संयोजन गर्दै मुक्तककार शर्माले सबैलाई दिएको धन्यवाद पूजा सकिएपछिको प्रसाद झैँ स्वादिलो थियो । कार्यक्रम प्रस्तोता सरोज घिमिरेले कार्यक्रमलाई मुक्तक झैँ बान्किलो ढङ्गले प्रस्तुत गर्दै गर्दा मुक्तककार प्रकाश बस्नेत गफाडी र शिवराम खड्काले कृतिबाट दुई–दुईवटा मुक्तक वाचन गरेर थप रौनकता प्रदान गर्नुभएको थियो ।
मुक्तककार शान्ति शर्माको यस अघि नै गजल सङ्ग्रह ‘अम्लान फूल’ प्रकाशित छ । मुक्तककार शर्मा दियालो साहित्य सरगमकी अध्यक्ष हुनुहुन्छ ।
0 comments
Write Down Your Responses