Powered by Blogger.
नयाँ पुस्ताले कसरी चिन्ने रुपचन्द्र विष्ट अर्थात थाहा आन्दोलनका अगुवा रुदानेलाई ?

रामनारायण बिडारी
रुपचन्द्र विष्ट तत्कालिन  परिवेशमा आर्थिक रुपमा सम्पन्न सैनिक परिवारमा जन्मिएका एक विद्रोही व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको जन्म मकवानपुर जिल्लाको हाल थाहा नगरपालिका स्थित दामनको घर्ति खोला भन्ने ठाउमा वि.स. १९९० पुस २६ गते भएको थियो ।  

कलिलो उमेरमै रुपचन्द्रले घर परिवारको  कडा वातावरणमा विद्रोह गरेर घर छोडी नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनु भयो । तत्पश्चात पार्टीका महासचिव पुष्पलालको अंगरक्षक एवं काठमाडांै जिल्ला समितीका सदस्य भएर काम गर्नुभयो ।  यो कामरेड. निर्मल लामा नपाल कम्युनिष्ट पार्टीको  काठमाडौ जिल्ला सेक्रेटरी हुँदाको कुरा हो । 

उहाँलाई काठमाडौंको पश्चिमी इलाका किर्तीपुर, पाँगा, नैकाप, थानकोट लगायतका क्षेत्रमा किसान जागरण अभियानको जिम्वेवारी दिएको थियो । यहीबेलादेखि उहाँ विद्रोही स्वभाव र दार्शनिक सोचका कारण अरु भन्दा फरक देखिनुहुन्थ्यो । त्यतिमात्र होइन महासचिव पुष्पलालको प्रिय पात्रका रुपमा समेत दरिनुभएको थियो ।

तर आफ्ना केही स्वभावजन्य कारणबाट उहाँ वि.स.२०११ सालमा कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल र निर्मल लामासंग दुइ वर्षकोलागी पार्टीबाट विदा  हुनुभयो । तर दुर्भाग्य त्यसरी विदा बस्नुभएका रुपचन्द्र विष्ट अर्थात रुदाने त्यस पछि जीवन पर्यन्त कहिल्यै कुनै पार्टिमा संलग्न हुनु भएन ।  तरपनि कम्युनिष्ट सिद्धान्तबाट भने उहाँ कहिल्यै विचलित हुनु भएन । 

२०१५ सालको आम निर्वाचनमा रुदाने स्वतन्त्र कम्युनिष्टको परिचयमा उमेदवार हुनुभयो । त्यसवेलाका कम्युनिष्ट कार्यकर्ताले उहाँको पक्षमा खुलेर प्रचार गरेका थिए ।

राजनीतिमा लागेपनि उहाँले आफ्ने प्राज्ञिक र स्वअध्ययनलाई छोड्नु भएन । उमेर ढल्के पछि  पनि उच्च शिक्षा हासिल गर्नको लागि  उहाँ स्नातकमा भर्ना हुनुभयो । उहाँले कानुनमा कानुनमा स्नातक परिक्षा दिइवरी दुवैमा उतीर्ण भए पनि सवैको रोहवरमा ति प्रमाणपत्रहरु जलाइए । 

उहाँको भनाइको थियो कि ति प्रमाणपत्रहरु समाजलाई धोखा दिनको लागि मात्र काम लाग्छ । मान्छे हुनको लागि त अनुभव, अनुभुति र साक्षात्कार अर्थात थाहा हुनु पर्छ । उहाँको एक दृढ अठोट के थियो भने वालिग मताधिकारको आधारमा हुने निर्वाचनमा आफ्ना विचार राखेर जनतामा जान छोड्नु हुँदैन । हार–जीतसंग सम्वन्ध राख्न आवश्यक छैन । 

जनतालाई निर्वाचनको बेलामा विचारको गर्भाधान गर्न सहज हुन्छ भन्ने उहाँको अठोट थियो । यहि अनुसार रुदाने दामन गाँउ पञ्चायतमा प्रधान पञ्चको उमेद्वार भै निर्वाचन जित्नु भयो । यस अघि उहाँ वडाध्यक्ष समेत हुनु भएको थियो ।  त्यतिमात्र होइन रुदाने २०१९ सालमा  काठमाडौंको कालिमाटीमा ग्राममा पनि निर्वाचन जित्नु भएको थियो ।

यी सवैको उपज नै २००६ मा भक्तपुरमा गरिएको पञ्चायती संम्मेलन थियो । जो क्रान्तीकारी किसान योद्धा पदम वहादुर वुढाथोकिले आयोजना गरेका थीए । त्यसमा रुपचन्द्र सहभागी हुनु भएको थियो । रुपचन्द्रले कम्युनिष्टको अभ्यास–व्यवहार र त्यसलाई सार्थकता दिने काम प्रधानपञ्च कालमा गर्नु भएको थियो । जसका कारण उहाँलाई सार्वजनिक सुरक्षा ऐन लगाएर सरकारले कारागारमा राख्यो । यो काल विकासको नमुना काल, शिक्षाको क्रान्तीकारी काल, कृषीको क्रान्तीकारी काल , थाहाको मुख्य अभ्यास काल थियो । 

यही समयमा पालुड. उपत्यकामा हाइस्कुल खुल्यो । ३८ वटा विहानी साक्षार कार्यक्रम खुल्यो । विकासघर निर्माण भयो । आधुनीक खेती चल्यो । जनतामा राजनैतिक चेतना निर्दलिय व्यवस्थाको विरुद्धमा ह्वात्तै उठ्यो । तत्काल त्यहाँ सामन्त, जाली फटाहाहरुको विरुद्धमा गरिएको संघर्ष र शासकवाट गरिने सवै ज्यादतिमा जनता जागरुक भएको अवस्था बन्यो । यही कालमा नै जनमुखी अभ्यास प्रसस्त भए । यसै अवधीमा उहाँले आफैंलाई नमुनाको रुपमा देखाँउदै क्रान्तीकारी तरवले  विवाह गर्नुभयो । कालान्तरमा  सो विवाह र परिवार पनि अस्तव्यस्त भयो । अब उहाँ एक्लै जीवन बिताउन वाध्य हुनुभयो । 

तर व्यक्तिगत जीवन जस्तोसुकै रहेपनि हरपल उहाँ जनता जगाउने कार्यमा सक्रिए भै रहनुभयो ।  निर्दलीय चरम दवदवाको कारण आफैले स्थापना गरेको हाइस्कुलको प्रधानअध्यापक पद छाडेर दामनमा  उहाँ ९ वर्ष वाख्रा पालेर बस्नुभयो । आफ्नै खाना पसल र लज खोलेर आफैले सबै काम गरेर दामनको टावरमा पर्यटकलाई  घुमाउने काममा समेत उहाँ संलग्न हुनुभयो । यसले मकवानपुरको दामनलाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन असाध्यै मद्दत पुगेको थियो ।

त्यसरी दामनमा दिनहरु बिताउँदाका अवस्थामा २०३७ सालको निर्दल कि वहुदल भनेर गरिएको जनमत संग्रहमा निलो लुगा लगाएर उहाँले बहुदलको पक्षमा जिल्ला भ्रमण गर्नु भयो । यो बेला सम्ममा उहाँले वनस्पतीशास्त्र, जीवशास्त्र, ज्योतिष शास्त्र, अन्तरिक्ष शास्त्र, पुर्विय दर्शन समेतको यथेष्ट अध्ययन गरिसक्नुभएको थियो । वहा विभिन्न भाषाका ज्ञाता समेत हुनुहुन्थ्यो । जसका कारण अध्ययन गर्न  पनि सजिलो भयो । खास गरी संस्कृत भाषा र अंग्रेजी भाषमा उहाँको अझ धेरै दख्खल थियो । 



खासमा २०२० साल देखि २०३७ सम्म नै उहाँको जनमुखी अभ्यास काल थियो । यही अवधीमा नै  उहाँमा ज्ञानको भण्डार भएको र दर्शन क्षेत्रमा पनि ठुलो उपलव्धी भएको हो । यही ज्ञान र अनुभुतिलाई थाहा दर्शनको रुपमा २०३८ को दोश्रो आम निर्वाचनदेखि २०५६ सम्म संप्रेषण गर्नु भयो । यसैका आधारमा यो अवधीलाई उहाँको विचार संप्रेषण काल मान्न सकिन्छ ।  जुन कुरा उहाँले  राष्ट्रिय पञ्चायत सदस्य (रापस) पदमा बसेर आफ्नो विचार दिइरहुनभयो ।   त्यसका लागि रापस पद साधन मात्र भएको थियो ।  

मकवानपुरवाट थालिएको यो  थाहा आन्दोलनले निर्दलीय व्यवस्था र राजतन्त्र समाप्त पार्न ठुलो बल मिलेको थियो । हालका कम्युनिष्ट पार्टी गठन र विस्तारमा पनि यही जग नै पर्याप्त बनेको थियो । 

उहाँको लवाइ–खुवाइ–हिँडाइ–बोलाई–गराई लगायतका  सवै कुराहरु सरदर मानिसको भन्दा फरक देखिन्थ्यो । सामान्य मानिस उहाँलाइ हेरेर रमाउँथे, नजिकमा झुम्मीन्थे । तर टाठाबाठा, शोषक सामन्त, हुने खानेहरु नजिक आउन बडो सकस मान्दथे । यसका विभिन्न कारणहरु छन् । 

उहाँको वलिष्ठ शरिर, गहिरो अध्ययन, अपार ज्ञान भण्डारका कारण अदम्य साहस पनि थियो । शासकहरु  उहाँदेखि सधै आतंकित हुन्थे । 

रापस हुदा जेल हालियो । जेलमै राजाका दुत गएर भने ‘जीवन जेलमा नै बिताउने कि माहाराजले दिएको सवै मन्त्रालय हेर्ने गरी मन्त्री बन्ने वा प्रधान मन्त्री ? वा रोजेको मन्त्री ?’ 

रुपचन्द्रले ति दुतलाइ लेखेर दिनु भयो , ‘तिम्रा यस्ता बेठीक व्यवस्थामा हामी जस्तालाइ मन्त्री पदमा पाइदैन । मेरो ज्यान बाहीर भन्दा यहि जेलमा राख्न उपयुक्त छ । किनकि यहाँ मारिँदा त दोष अरुलाई लगाउन मिल्दैन होला नि मारिच !’ त्यस बेला मारिचमान प्रधान मन्त्री थिए ।  ति दुत रुदानेको सोही व्यहोराको पत्र बेकेर राजा कहाँ गएका थिए ।  ति दुत थिए विरेन्द्रकेशरी पोखरेल । अर्का दुत मरिचमान आफैं थिए ।

अब रुपचन्द्रले रापस हैसियतमा गरेका साहासिक वैधानिक विद्रोहहरु बारे केही चर्चा गरौं । 

तत्कालिन राजा विरेन्द्रको जन्मोत्सव मुल समारोह समितिमा राष्ट्रिय पञ्चायत सदस्यको हैसियतमा सदस्यमा  उहाँ पनि मनोनयनमा पर्नुभएछ ।  उहाँलाई सोको जानकारी सहितको चिठ्ठी आयो । रुदानेले सो चिठ्ठी ल्याउने व्यक्तिलाई सोहि चिठ्ठीको पछिल्लो भागमा ‘आयोजक ! जिँउदो मान्छे अदालतमा लडि रहेको मुद्दा हो , यसको फैसला चिहानमा पुगे पछि मात्र हुन्छ । रापसरु’  लेखेर  िचठ्ठी को भर्पाइ गरि दिनु भयो । अनि भन्नु भयो ‘त्यसैले मैले आफ्नो जन्मोत्सव मनाउने गरेको छैन । जसले आफ्नो जन्मोत्सव मनाउँदैन उसलाई अरुको जन्मोत्सव मनाउने हक हुदैन । रापसरु (राष्टीय पञ्चायत सदस्य रुपचन्द्र)’ भनेर लेखि सो पत्र फिर्ता पठाइ दिनु भयो । 

यस विषयलाइ लिएर तत्कालिन पञ्चायतका केही व्यक्तिहरुले रुदानेलाई कारवाहि गरिनु पर्छ भनि पञ्चायत नीति तथा जाँचवुझ समिति (पनिजावुस) मा उजुरी हाले ।  त्यतिमात्र होइन जन्मोत्सव समारोहमा कारवाहीको माग गरि भाषण पनि गरे । जाँचबुझ समितीका अध्यक्ष नवराज सुवेदीले रुदानेलाई स्पष्टीकरण सोधे तर रुदानेले सो पत्रको पृष्ठ भागमा लेखेको कुरा नै स्पष्टीकरण हो भनि जवाफ दिनुभयो । 

यस भित्र ठुलै सैद्धान्तीक, दार्शनिक र राजनैतिक कुरा छन् ।  के कुनै मान्छे जन्मेको कारण समाज र मानव जातिलाइ कति सकारात्मक प्रभाव प¥यो ? त्यस अनुसार पो उत्सव मनाउने हो । नकारात्मक प्रभाव परेमा त शोक पो मनाउनु पर्ने हो नि । तर दुष्ट मनुष्यले पनि उत्सव मनाउने अनि  अरुले हो –हो गर्ने काम किन प्रचलन भयो ? यो प्रश्नको उत्तर अहिलेका जन्मोत्सव मनाउन केक काटेर प्रचार गर्नेले दिन सक्छन् ? केक काटेर उत्सव मनाउने चलन कहाँवाट किन आयो ? वर्तमान बुज्रुकले बलपुर्वक व्याख्या गर्न खोज्लान् तर औचित्य पुष्टी गर्न सक्दैनन् ।  निरंकुस राजतन्त्रमा चलेको कालोे व्यवस्थामा त्यसका नायकलाई  रुदानेले दिएको उत्तर तत्कालिन शासकलाई कडा चुनौति नै थियो । तर आजको परिवर्तीत समयमा पनि यो वेथिति घटाउन सकिएन । 

यसै गरि  तत्कालिन वडामहारानी ऐश्वर्यको जन्मोत्सवमा रुदानेको नाममा एउटा चिठ्ठी आयो । स्मारिका प्रकाशन गर्न लागेकोले बडामहारानिको बारेमा रापसहरुसंग एक–एक वटा लेख मागीएको थियो । यसमा रुदानेले एक कागज माग्नु भयो र लेखिदिनु भयो ‘ऐराल एक ठुलीबडी आइमाइ हुन् किनकी उनले राजासंग विवाह गरिन् । रुदाने’ 

यो कागज लिएर सो हलकारा दरवार गयो । यसमा कम आँटको कुरा छैन । मै हुँ भन्ने हालका नेताले पनि यो साहास गर्न सक्दैनथे । यस प्रकरणमा पञ्चहरु कराउन हिम्मत गरेनन् किनकि यसमा कागज छुट्टै थियो । ऐरालको अर्थ (ऐश्वर्य राज्य लक्ष्मी) लगाउनु पर्दथ्यो । अनि राजासंग विवाह भनेको कुन राजा ? वडामाहाराजधिराज श्री ५ पो संवैधानिक राजा हुन् । अरु त सयौं राजा हुन्छन् नि भन्दै विभिन्न तर्क वितर्क उठ्यो । 
एक पटक दरवारको विरुद्धमा नै रुदानेले राष्ट्रीय पञ्चायत भित्रै भाषण गर्नुभयो ।  उहाँले ‘सकार दरवारमा बसेकाहरुले अपराध अन्याय गरे जनता आपतमा परे’ भनेर भन्नु भयो ।  अनि पञ्चे रापसले तत्काल नियमापत्ती गरे । कारवाहिको माग राखे । अध्यक्षले रापसरुलाई स्पष्टीकरण दिन आदेश दिए ।  रुदानेले ‘मैले भनेको कुरा सत्य छ । स्पष्टीकरण त सरकार दरवारमा बस्नेले दिनु पर्ने हो’ भनि जवाफ दिनु भयो । त्यस पछि सदनमा हंगामा नै भयो । केहि मण्डले प्रवृति भएकाले ‘रुदानेले यो राजदरवारलाई भनेको हो । यस्तो भन्नेलाइ कडा कारवाही गर्न प¥यो’ भन्ने माग राखे ।
  
फेरी अध्यक्षवाट आदेश भयो, ‘माननिय रुपचन्द्र बिष्ट,  प्रष्ट भन्नु प¥यो, यो के भन्न खोज्नु भएको हो ?’  रुदानेले फेरी जवाफ दिनु भयो ‘दरवार त मुलुकमा धेरै छन् । सिंह दरवार, बागदरवार, सेतो दरवार, लाल दरवार आदी तर श्री ५ महाराजधिराजको दरवार वा राज दरवारलाइ त राज प्रासाद पो भनिन्छ त । यत्ती कुरा नवुझ्नेहरु चाकरी गर्न व्यस्त छन् । केही कारवाही हुन्छ भने जसले राजदरवार भन्ने शव्द जोडे उतै होस ।’  भनि जवाफ दिनु भयो । 
त्यस पछि सदनमा हासोको पर्रा छुट्यो । फेरी यसमा आपत्ती गर्ने आँट गरेनन् । वास्तवमा दरवार भनेको सामान्य रुपमा जनताले राजदरवार नै बुझ्ने हो । कर्मचारी पनि दरवार नै भन्थे । यसको मतलव राजदरवार नै हो । तर संसदीय अभ्यासमा रुदानेले ति निरंकुश पञ्चेलाइ वैधानिक रुपमा पुष्टी गरि दिन्थे कि उनका भनाई जनताले वुझ्ने तर कानुनले नसमात्ने ।  यो क्षमता पनि इतिहासमा स्मरणीय छ । 

अहिले आफैंले आफैलाई माननिय भन्न रुचाउनेको हुल बढ्दो छ । अझ सामन्ती सोच भएकाहरुले त सम्माननिय किन नभनेको भनि संसदमा आपत्ती गर्नेहरु पनि छन् । सम्माननिय शव्द राजतन्त्रसंग सम्वन्धित छ । सामन्त प्रथासंग सम्वन्धित छ । जसरी अधिराज्य भन्ने शव्द राजतन्त्रसंग सम्वन्धित छ । 

बेलायतले राइट अनेरेवल भन्ने चलन चलायो । अपर हाउस, लर्ड हाउस भन्ने सव्द प्रयोग ग¥यो । यी सवै सामन्ती सोचका कुरा हुन् । रुदानेलाई कसैले माननीय भनेर संवोधन गरेको अवस्थामा उहाँले सोध्नु हुन्थ्यो । जनता जाननिय भए ? 

यदि जनता जाननिय भएका छैनन् भने उसको प्रतिनिधी माननिय हुदैन । जव जनता जाननिय हुन्छन् तव उसको प्रतिनिधि माननिय हुन्छ । यो जनतन्त्रसंग संवन्धीत छ । 

भारतमा प्रधानमन्त्रीलाई सम्माननिय भनिँदैन । राष्ट्रपतिलाई पनि सम्माननिय भनिँदैन । चीनमा पनि भनिँदैन । अमेरिकामा पनि भनिँदैन । 

तर बेलायतमा भनिन्छ किन ? सामान्य जवाफ छ । त्यहाँ राजतन्त्र छ ।  तर नेपालमा किन यस्तो भनिन्छ ? नेपालमा राजतन्त्र थियो । वेलायतको जस्तै प्रिभि काउन्सील सट्टामा राज परिषद वा राजसभा थियो । तिनका सदस्यलाई सम्माननिय भन्ने प्रचलन राजाले वेलायतलाई हेरेर गरेका थिए । त्यसैले रुदानेले सदनमा कहिल्येै पनि सम्माननिय शव्द प्रयोग गर्ने काम गर्नु भएन । 

एक पटक यस विषयमा पनि रुदानेले अध्यक्षलाई सम्माननिय भनि सम्वोधन नभएको कुरामा नियमापत्ती भयो । रुदानेले आफैले अध्यक्षसंग तत्काल समय माग्नु भयो र भन्नु भयो ‘माननिय अध्यक्ष महोदय ! यो सदन भित्र कोहि पनि सम्माननिय छैनन् । सवै माननियको हैसियतमा उपस्थीत छौ ।  यदि कसैलाई संम्माननिय चाहिएको हो भने राजसभा तिर खोज्न जानु पर्छ कि ? यस कुरालाइ लोकेन्द्रवहादुर चन्द सहितका माननियहरुले टेवुल ठटाएर सर्मथन गरेका थिए । 


हालको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली रुदाने र उहाँको थाहा दर्शनमा पनि विज्ञ हुनुहुन्छ । यसर्थ आनी–बानी र व्यवहार –आचरण आदीमा केहि गर्न सकिन्छ कि? 

रुदानेले सार्वजनिक सभामा गर्ने सम्वोधनको मुल अंश यस्तो हुन्थ्यो ः
सभाध्यक्ष ! 
कलिलाबाट विद्रोहकारी परिवर्तन,
श्रमिकवाट क्रान्तीकारी परिवर्तन,
जीवन विषयी वुद्धीजिविबाट वौद्धिक स्वतन्त्रताको प्रयोगकारी परिवर्तन र
नारीवाट सामाजिक परिवर्तन पाइने मुख्य मुहानहरु भएकोले यहि सम्वोधन गरियो । यसमा सबै परे होलान् । नपर्नेहरु सम्वोधनमा परेनन् । 

यी शुत्र आज बहुदल हुँदै संघीय गणतन्त्र प्राप्त हुँदाका अवस्थामा पनि लागु गर्नुपर्ने हो । बजेट पनि यही नीति अनुसार बन्नु पर्ने हो । सरकारको कार्यनीति, वार्षिक कार्यक्रम यसै अनुरुप हुनुपर्ने हो । तर हुन सकेको छैन । यो नै बिडम्वनाको कुरा हो ।

२०३९ सालमा रुदानेले सार्वजनिक  प्रश्न जनता समक्ष गर्नु भयो ।  उहाँले भन्नुभयो, ‘जात ठुलो कि जनता ? नाता ठुलो कि न्याय ? स्वार्थ ठुलो कि सत्य ?’ यो प्रश्न अहिलेका दल र नेतालाइ पनि उत्तीकै महत्वको छ । यसै गरी ‘केटाकेटी बिग्रे आमाबाबु दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी , व्यवस्था बिग्रे अगुवा दोषी अनि यर्थाथमुखी कर्तव्यमुखी बाहेक पछुवा–भगुवा सारा दोषी ।’

त्यो व्यवस्था बिग्रेको थियो । त्यो सरकार बिग्रेको थियो । जनता बिग्रेका थिए ।  व्यवस्थाको अगुवा राजा थिए । तसर्थ दोषी राजा नै हुन् भन्ने कुरा किटान गरिएको यो कुरा पर्चामा नै आएको थियो ।  अहिलेका दल र नेताले यो मनन गर्नु पर्ने वेला भएको छ । नत्र उही,  ‘काम एकाथरीलाई, कमाइ अर्को थरीलाई’ हुने सामाजवादको उल्टो व्यवस्था चलि रहन्छ ।



त्यसैले अहीलेका दल र नेताले तलको भनाइलाई आत्मासाथ गर्न आवश्यक छ । जुन यसप्रकार छ । उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘थाहासंग प्रेम गर ,थाहा तिमी कहाँ आउँदछ । थाहाप्रति इमान राख, कर्तव्य तिमी कहाँ आउँदछ ,कर्तव्य हो जिन्दगीको सक्कल ।’

यही कुरामा ध्यान जाओस् र रुदानेलाइ सम्झना राज्य तहबाटै गरियोस् । यो देश सप्रिएमा वा बिग्रिएमा दोष अहिलेको नेतृत्वलाइ जान्छ । यो कुरा रुदानेले २०२९ सालमा  अञ्चलाधिशसंग वयान दिँदा राजालाई लक्षित गरि भन्नु भएको थियो । ‘जो जति शक्तिमा छ , समाज सप्रे बिग्रेमा , त्यो त्यति जिम्मेवार छ ।’ यो कुरा अब नेपाल कम्युनिष्ट पार्टीमा लागु हुन्छ । जनताका असली सेवक रुदानेको २० औं स्मृति दिवश मनाइरहँदा हामी सबैले यो कुरा हृदयबाटै मनन गरौं । 

(तत्कालिन जनमुखी सहकर्मी  तथा हाल रुपचन्द्र विष्ट स्मारक समिति, नेपालका अध्यक्ष बिडारी  संघीय संसद अन्तर्गत राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति समेत हुनुहुन्छ ।)



0 comments

Write Down Your Responses