Powered by Blogger.
असार १५ : ​यसरी मनाईयो धुमधामका साथ हेटौडामा धान दिवस (फोटोफिचर)



मकवानपुर / किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । 
यसैक्रममा मकवानपुरको हेटौडा सहित विभिन्न स्थानमा आज धान रोपाई तथा दहि चिउरा खाने कार्यक्रम रहेको छ खेतमा ।
 रोपाई गरि दहि चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । 
राष्ट्रिय धान दिवसका अवसरमा आज कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् ।
कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।
सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ । 
तस्विर  सौजन्य : सुनिल राउत
पन्ध्र असारको महत्व
कृषिप्रधान देश नेपालमा असार १५ को छुट्टै विशिष्ट महत्व छ । त्यही महत्वपूर्ण दिन आज देशभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । २०६१ मंसिर २९ गते नेपाल सरकारले निर्णय गरेर प्रत्येक वर्र्ष असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरेपछि यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै बाजा बजाएरै रोपाईँ गर्ने परम्परा छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास भएकाले गैरकृषि क्षेत्रमा आबद्ध व्यक्तिसमेत खेतमा गएर हिलो खेल्ने अनि कृषकसँग एकछिन् भए पनि एकाकार हुने प्रचलन सुरु भएको छ । 

नेपालले आजभन्दा करिब चार दशकअघि फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था इरीसंग समन्वय गरेको थियो । सो समन्वयले गर्दा धानबालीका जात र खेती गर्ने तरिकासम्बन्धी धेरै प्रविधिको विकास हुनुका साथै प्रचारप्रसारसमेत भएको छ । नेपालको जुम्लामा पनि धान फल्ने गर्छ जुन संसारको सबैभन्दा अग्लो धान फल्ने स्थान हो । नेपालमा धानको उत्पादन बढ्यो भने देशको आर्थिक वृद्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आर्थिक वृद्धिदर नै ओरालो लाग्छ ।

 त्यसैले धानले देशलाई अतुलनीय योगदान पु¥याएको छ । तर, समय अनुकूल नीति बनेर त्यसलाई पालना गर्न नसक्दा धानबालीबाट मुलुकले पर्याप्त फाइदा लिन सकेको छैन । काठमाडांै उपत्यका जस्तो राम्रो धान फल्ने जमिन घरहरूले भरिँदै गएका छन् । मुख्य इलाका मात्र होइन, काठमाडौें परपरका गाउँ क्षेत्रसम्म प्लटिङ गरेर घरहरू निर्माण गर्न थालिएको छ । काठमाडौंमा देखिएको यो सहरीकरणको विस्तार र प्लटिङ गरेर जग्गाको भाउ बढाउने प्रवृत्ति अन्य सहरमा पनि फैलिन थालेका छन् । झापा, मोरङजस्ता धानबालीका लागि प्रसिद्ध जिल्लामा पनि प्लटिङ गरेर जग्गाको भाउ बढाउने लहर चलेको छ । यसले धानको मात्र होइन, समग्र खाद्यान्न उत्पादनमै कमी आएको छ र बर्से्नि अर्बौं रूपैयाँको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको छ । नेपालको कुल खाद्यन्नमा धानको करिब ५० प्रतिशत देन हुने गरेको छ र कुल गार्हस्थ उत्पादनमा समेत धानको करिब २० प्रतिशत योगदान हुने गरेको छ । नेपालको कुल खेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुनेगरेको छ । बेरोजगारी समाधान गर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपूर्ति गर्न समेत धानको विशेष योगदान रहिआएको छ ।

 धानको यति महत्व भए पनि यो बालीबाट सोचे जति फाइदा लिन नसकिएको अवस्था छ । पछिल्लो जानकारीअनुसार नेपालमा प्रतिमहिना एक अर्बभन्दा बढीको चामल आयात हुने गरेको छ । धानको उत्पादनमा पर्याप्त मात्रामा वृद्धि गर्न नसक्दा यस्तो लाजमर्दो स्थिति सिर्जना भएको हो । नेपालले करिब दुई दशक अघिसम्म आफ्ना जनतालाई उपभोगमा पु¥याइ बढी भएको धान, चामल निर्यात गर्ने गरेको थियो । जनसंख्या वृद्धिका साथै खेतीयोग्य जमिन बसोवासका लागि नासिँदै गएको र आधुनिक प्रविधिको कृषिमा यथेष्ठ प्रयोग हुन नसकेकाले पनि देशको बढ्दो जनसंख्यालाई पुग्ने गरी उत्पादन गर्न सकिएको छैन । नेपालमा खाद्य बालीमा पहिलो धान, दोस्रो मकै, तेस्रो गहुँ, चौथो कोदो र पाँचौंमा जौबाली रहेको छ । 

त्यसमा पनि सबैभन्दा बढी प्रयोग हुने खाद्य पदार्थ चामल नै हो । कुनै वर्ष पानी कम पर्नासाथ धान उत्पादनमा कमी आउने गरेको छ । अझे सिंचाइयुक्त जमिन अत्यन्त कम भएकोले मौसमी खेतीमै किसान निर्भर हुनुपर्दा मुख्य बाली नै अर्बौं विदेशी मुद्रा खर्चेर आयात गर्नुपर्ने अवस्था आउनु अवश्य पनि राष्ट्रिय लज्जाको विषय बन्न पुगेको छ । तराई क्षेत्रमा तीनतीन महिनामा उत्पादन हुने धानसमेत आइसकेको छ। तराई क्षेत्रमा चैते धानको उत्पादन २० देखि २५ प्रतिशतभन्दा बढी हुन्छ । हालसम्म नेपाल सरकारले ५६ वटा धानका जात सिफारिस गरिसकेको छ । यी जातहरू सिफारिस गरिए पनि कुन स्थानमा कुन धान लगाउने भनेर किसानलाई जागरुक र प्रशिक्षित गरिएको अवस्था छैन । 

हरेक वर्ष असार १५ पारम्परिक रूपमा केही नेताले दौरा–सुरुवालमा गोरु जोतेजस्तो, बाउसे गरेजस्तो गर्दैमा तथा विद्वान्हरूले कोठामा बसेर दही–चिउरा खाएर शास्त्रार्थ गर्दैमा धानबालीमा सुधार आउने देखिंदैन । त्यसका लागि सर्वप्रथम त मलिलो माटोमा प्लटिङ गर्ने प्रवृत्ति रोक्नुपर्छ र कृषि विशेषज्ञलाई गाउँ–गाउँमा पु¥याएर ठाउँअनुसार खेतीको परम्परा सुरु गर्नुपर्छ ।

0 comments

Write Down Your Responses