Powered by Blogger.
भावना


कपिलदेव भट्टराई 

कैले मेरो हृदयतलको भावना चढ्छ लेक ,
कैले वर्षासित नजिकिँदै चल्न थाल्छन् विवेक ।
हेर्दै सेता शिखर हिमका पुग्छ कैले मनाङ,
कैले खेल्दै अधिक गतिले भावना पुग्छ दाङ ।।

कोसी टेक्दा चरणतलले चित्त पुग्छन् इलाम ,
मैले टेक्दा जनकपुरमा भावना बाजुरामा ।
बज्दा मेरा मधुर घुँघुँरा भावना खैँजडीमा ,
घुम्दा मैले बुटवल पुगिन् भावना बैतडीमा ।।

के ले चल्छिन् अधिक गतिले भावना भाव बोकी ?
हिड्ने कस्तो पथ छ सजिलो एकबित्ता नरोकी ।
कस्ती होलिन् कवि हृदयकी भावना लौ न आऊ,
मैले लेख्ने करकमलको लेखनी यो समाऊ ।।

राखौँ मैले मन बिच कठै! भावना खुम्चिएलिन् ,
छोडौँ मेरै रसिक मनकी भावना उम्किएलिन् ।
गर्ने के हो ? भन न कसरी भावना भाव साँच्ने ?
कैले होला तन मन मिसी भावना साथ नाच्ने ?

बस्दा आफू नजिक नजिकै भावना पुग्छ टाढा ,
जाँदा टाढा क्षितिजपथमा भावना हुन्छ गाढा ।
छोडौँ छोड्दा पनि नछुटिने भावना हुन्छ कस्तो ?
तोडौँ तोड्दा पनि नसकिने भावना लौह जस्तो ।।

–हेटौंडा 

0 comments

Write Down Your Responses