Powered by Blogger.
केन्द्रीय सदस्यबाट आउट हुँदा इतिहासकै अवमुल्यन


काठमाडौं । यही जेठ ८ गते एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुको नाम महासचिव विष्णु पौडेलले सार्वजनिक गरे । 

४ सय ४१ जनाको केन्द्रीय समितिमा तत्कालिन माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य र त्यसअघिका केन्द्रीय सल्लाहकार रामनारायण बिडारीको नाम भने कतै देखिएन । 

कानुनी मामलामा जानकार, संसदीय मोर्चामा तर्कसंगत ढंगले बुलन्द प्रस्तुती गर्न सक्ने खुवी भएका र  रुपचन्द्र विष्टले सुरु गरेको थाहा आन्दोलनका एकमात्र अभियन्ता बिडारीको नाम उक्त सुचिमा नदेख्दा धेरैले आश्चर्य पनि माने । किनकी अध्यक्ष प्रचण्डका तर्फबाट अर्का अध्यक्ष केपी शर्मा ओली समक्ष केन्द्रीय समितिका लागि प्रस्तावित सुचिमा भएको बिडारीको नाम अन्तिममा ‘मिलाउनकै लागि’ काटकुट पारिएको थियो । 

बिडारी, थाहा आन्दोलन, तत्कालिन जनमोर्चा र यस अघिको एकिकृत माओवादी केन्द्रलाई नजिकबाट बुझ्नेहरुले भने बिडारीलाई यो वृहत एकतापछिको केन्द्रीय कमिटीमा नपार्नु इतिहासमाथिकै अवमुल्यनको रुपमा लिएका छन् । 

उनीहरु भन्छन्, ‘अहिलेको माओवादी केन्द्र यो रुपमा आउनुअघि धेरै घटक र मोर्चाहरुको समिश्रण र योगदान छ, जसमध्ये एउटा कालखण्डमा रामनारायण बिडारीले पनि आफ्नो स्थानबाट पसिना बगाएकै छन् ।’

को हुन् बिडारी ?

उमेरले झण्डै ६ दशक भेट्न लागेका  ५८ वर्षिय होचा कदका अग्ला व्यक्तित्व रामनारायण बिडारी नेपाल ल क्याम्पस पढदा अखिल पाँचौ र छैठौको संयुक्त संघर्ष समिति बनाएर उपत्यकाको संयोजक भएका थिए । 

त्यतीबेला नै उनले २०३६ को विद्यार्थी आन्दोलनमा उपत्यकामा पञ्चायतविरुद्ध आन्दोलनको संघघोष गरे । २०३८को दोश्रो आम निर्वाचनमा  बिडारीको सक्रियता झनै बढ्यो । ‘तावेदार संविधान बदल्नु पर्छ, जनतालाई जनमुखि संविधान चाहिन्छ,  जो जनतावाट जारी हुनुपर्छ,’ त्यो बेला बिडारीका हरेक भाषण यस्तै हुन्थे । 

उनी यही नारा दिएर जनमुखि घोषणा पत्र बोकेर चुनावको उपयोग गर्ने रुपचन्द्र विष्टसंग  नजिकिए । मकवानपुरमा जनमुखि राजनितिमा संलग्न भए । मकवानपुरको उत्तरी भेगमा खटिएर जन राजनिति सुरु गरेका रामनारायण बिडारी २०४३ मा भएको आम चुनावमा रुपचन्द्र विष्टले सुरु गरेको जनमुखी राजनीतिको प्रमुख प्रचारकका रुपमा खटिए ।
  
उनी उमेद्वारीको प्रचारमा सहकर्मीहरुको नेतृत्व गर्दै अघि बढ्नुका साथै सोहि सालमा थाहा दर्शन र जनमुखी राजनीतिवाट जिल्ला सभापतिको जनमुखि र जनपक्षीय तर्फको साझा उमेद्वार बने ।  त्यतीमात्र होइन बिडारी २०४८ मा प्रतिनिधि सभाको जनमुखी उमेद्वार र २०५१ मा प्रतिनिधि सभाको महोत्तरीमा जनमोर्चाको उमेदवार भएर संसदीय मोर्चाको मैदानमा भिडे ।

२०४८ मा ने.क.पा (जनमुखी) को महासचिवको हैसियतमा ने.क.पा.(एकताकेन्द्र) (जुन वेला अध्यक्ष प्रचण्ड तत्कालिन  एकता केन्द्रको महासचिव हुनुहुन्थ्यो) संग एकता भयो । त्यसपछि एकता केन्द्र र मसाल मिलेर संयुक्त जनमोर्चा भयो । बिडारी सो पार्टीको केन्द्रीय सदस्य रहेर मुलुक भरि थाहा दर्शन र जनमुखी राजनीतिको अभियान चलाउँदै देश दौडाहमा हिँडे । 

२०५२ देखि जनमोर्चाको केन्द्रीय सल्लाहकार, एकता केन्द्रको सल्लाहकार भएर भुमिका निर्वाह गरेका उनले २०५५ देखि ने.क.पा. माओवादीको एक सदस्यीय सेलमा रहेर मानवअधिकारकर्मी र नागरिक समाजको आवरणबाट सक्रीय राजनीतिक भुमिका निर्वाह गरे ।  

बिडारीले पञ्चायतकालमा भूमिगत राजनीति गर्ने माले र बहुदलकालमा भूमिगत राजनिति गर्ने माओवादीको बाहिरी मोर्चामा रहेर निर्धक्क ढंगले काम गरेको ति दुवै दलका हालका नेताहरु र विशेषगरी अध्यक्ष द्धोय प्रचण्ड र केपी ओली दुबैलाई पक्कै लाइ थाहा नभएको होइन । 

तर क्षमताले अवशर पाँउदै आएका बिडारीलाई पार्टीभित्रैको एउटा पंतिले भने  सधैं इश्र्याको नजरले हेर्ने गरेको थियो । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेझैं जति इश्र्या गरेपनि उनको व्यक्तित्व, क्षमता र कार्यशैलिकै कारण अध्यक्ष द्धोय प्रचण्ड र ओलीले उनलाई अवसर दिइरहे । 

पछिल्लो समय भुगोलको राजनीतिमा बलियो जनाधार खडा गर्दै टिकट लिएर प्रत्यक्ष चुनाव लड्ने सोच बनएका थिए उनले । तर टिकट दिन नसकिएपछि राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने ३ जनामध्येको कोटामा उनको शिफारीश भयो । 

उनका दाँजोमा राजनीतिक हिसावले ‘केटाकेटी’ समेत यो ऐतिहासिक एकतामा केन्द्रीय सदस्य बनेको मौकामा बिडारी नसमेटिनुले जनमुखि राजनीति र रुदानेको विचारलाई समेत न्याय नमिलेको अर्थमा अहिले आम मकवानपुरेहरुले बुझेको पाइन्छ । तर बिडारी आफैंको भने यसमा खासै गुनासो छैन ।  

उनले दामनपोष्ट प्रतिनिधीसंग भने, ‘केही प्राविधीक कारणले पर्न सकिएन होला, तर मलाई नेताहरुले राख्न नखोज्नुभएको भन्ने पक्कै लाग्दैन । ’

उनले विगत सुनाउँदै भने, ‘पञ्चायतकालिन अवस्थामा हामीले खेलेको राजनैतिक कार्यनितिले मालेलाई र वहुदलकालमा माओवादीलाई स्पष्ट सहज गरेको पक्कै हो ।  यो कुरा दुवै दलका नेतालाई जानकारी पनि छ । वहुदलकालमा भन्दा रुपचन्द्र विष्टका साथ जनमुखि सहकर्मी भएर जनता व्युँझाउने काममा पञ्चायतकालमा  मजाले हिँडीयो । ’

उनले त्यही आधारले पनि  शिर्ष नेतृत्वले ज्यान हत्केलामा राखेर हिँडेको र जेलनेल भोगेको मान्छेहरुलाई समेटेको भए इतिहासप्रति समेत न्याय हुने धारणा सुनाए ।

एउटा कुरा चाँही के सत्य हो भने रुदाने र बिडारीहरुले संविधान सभाको नारा र वहुदलको स्वतन्त्रता साथै जनतालाई व्युझाउने साहसिलो कदम उठाइरहँदा देशमा  रहेका अधिकांश वहुदलवादीहरु  कि प्रवाशतिर थिए भने वहिष्कारमा थिए । 

पञ्चायतभित्रै छिरेरै पञ्चायतकै भण्डाफोर गरी जनता जागृत गर्ने काममा  भिड्ने र स्वतन्त्रताको किलो गाड्ने बिडारीहरु एकिकृत कम्युनिष्ट पार्टीको पनि पक्कै हिस्सेदारीबाट पन्छि र पन्छाउन नमिल्ने तर्क राजनीतिका जानकारहरुको पनि छ । उनीहरु भन्छन्, ‘त्यति बेला अहिलेका कतिपय नेताहरु पत्रकार र शिक्षक बनेर बसेको अवस्था थियो । 

सोझै रुपचन्द्र विष्टसंग जनमुखि सहकर्मी भएर गाउ गाउ बस्ती बस्ती पुगेर मण्डलेहरुको साम्राज्य भत्काउने काम गरेको र मालेको त्यतिवेलाको राजनितिलाई प्रत्यक्ष सहयोग गरेको कारण नै वहुदल आयो । वहुदल आएको कारण नै जनयुद्ध गर्न सजिलो भयो ।’ 

बिडारी भन्छन्,  ‘त्यो बेला जनयुद्ध एउटा आवश्यक तत्व भैसकेको थियो, जनयुद्ध सुरु गर्ने आँट त्यतिबेला कमरेड प्रचण्डले नगर्नुभएको भए शायद गणतन्त्र आँउदैनथ्यो । त्यस्तो जगजगीको बेला  हामीले जनयुद्ध भन्दा प्रत्यक्ष र देखिने ढंगले बाहिर वसेर माओवादी क्रान्तीलाई सहयोग गर्न सकियो । पञ्चायतकालमा निर्मल लामा र भक्त वहादुर श्रेष्ठ समुहलाई पनि संगठन गर्न मद्दत मिल्यो ।’ 

त्यसो त त्यो कदमले धेरै नै सहयोग तत्कालिन माले लाई  नै भयो । राष्टीय पञ्चायतवाट सैद्धान्तीक रुपमा देशव्यापी वहस रुपचन्द्र विष्टले चलाए । 

यसमा जनमुखि सहकर्मीहरुले महत्वपुर्ण भुमिका खेलेका थीए । जसमा रामनारायण विडारी, रुपचन्द्र विष्ट पछिकोे सहकर्मी थीए । तत्कालिन संचार माध्यम, नेता र जनतामा यो कुरा जगजाहेर नै छ । 

त्यसैले जानकारहरुको ठोकुवा छ, ‘बिडारीको बहिर्गमनले इतिहासप्रति न्याय त पक्कै भएको छैन । यस्ता महत्वपुर्ण पात्रहरुलाई समेट्न अर्को विशेष निर्णय हुँदा पनि अन्यथा भन्न मिल्दैन’ 

–दामन पोष्ट प्रतिनिधी




0 comments

Write Down Your Responses