पदमपोखरी बहुमुखी क्याम्पसको स्तर उन्नतिका लागि श्रीमद भागवत ज्ञान महायज्ञ हुने
यहि चैत २१ गतेदेखि २९ गतेसम्म हुने महायज्ञको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने भएका छन् । चैत २१ गते दिउँसो साढे १२ बजे मुख्यमन्त्री पौडेलले महायज्ञको उद्घाटन गर्ने क्याम्पसका प्रमुख कृष्णमाया लटौलाले जानकारी दिए । महायज्ञको लागि तयारी जोडतोड भइरहेको बताइएको छ । महायज्ञमा पण्डित सुशिल पौडेलले भागवत कथा वाचन गर्नेछन् भने राष्ट्रिय कलाकारहरुले समेत संगितमय कथा वाचनमा साथ दिनेछन् ।
गायक तथा कलाकारको संयोजनको जिम्मा दिनेश प्रसाईलाई दिइएको छ । कार्यक्रममा प्रमुख भागवत वाचक पण्डित सुशिल पौडेल सहित भागवत उपवाचक पण्डित रमेश चालिसे, प्रमुख बौद्ध धर्म गुरु खेन रेन्पुन्छे तथा आचार्य सर्वजीत तामाङ, बौद्ध गुरु ज्ञान बज्र लामा लगायतले भागवत तथा बौद्ध ज्ञान वाचन गर्नेछन् ।
२१ गतेदेखि २९ गतेसम्म हुने कार्यक्रमहरु अन्तर्गत चैत २१ गते बिहान ८ बजे शोभा कलश यात्रा हुनेछ भने साढे १२ बजे कार्यक्रमको उद्घाटन मुख्यमन्त्री पौडेलले गर्नेछन् । त्यस्तै चैत २२ गतेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म पण्डित गुरु तथा बौद्ध गुरुबाट भागवत पुजा अर्चना तथा पाठपरायण हुने सप्ताह ज्ञान महायज्ञ मुल समारोह समिति पदमपोखरी बहुमुखी क्याम्पसले जनाएको छ । त्यस्तै बिहान ११ बजेदेखि ५ बजेसम्म भागवत कथा प्रवचन, संगीतमय भजन किर्तन र भगवानको झाँकी लिला प्रस्तुत गरिनेछ । प्रत्येक दिन साँझ साढे ६ बजेदेखि साढे ९ बजेसम्म महात्मीय कथा, भजन किर्तन झाँकी लिला प्रस्तुत गरिने छ ।
कार्यक्रम अन्तर्गत नै चैत २८ गते बौद्ध धर्म गुरुहरुबाट विशेष प्रवचन दिईनेछ भने चैत २९ गते प्रवचनका साथै तिलार्चन र दिउँसो समापन कार्यक्रम हुने बताइएको छ ।
वि.सं. २०७१ सालमा सम्बन्धनप्राप्त क्याम्पसमा स्थानीय विद्यार्थीलाई प्रोत्सहान दिँदै वडा नम्बर १२ र १३ का स्थानीय विद्यार्थीहरुका लागि वडा कार्यालयको समन्वयमा निःशुल्क शिक्षाको व्यवस्था समेत मिलाईदै आएको छ । हाल व्यवस्थापन संकाय मात्र पढाई हुने क्याम्पसमा विद्यार्थीलाई अझ पढ्ने वातावरण मिलाउनकालागि र विद्यार्थीको अभाव हुन नदिनका लागि क्याम्पस प्रमुख लटौला सहित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर रोक्कासहितको टोली वडाका बुद्धिजीवीहरुसँगको छलफलमा प्राप्त सुझावका आधारमा विभिन्न योजनासहित अगाडि बढेका छन् । क्याम्पसमा हाल ५ जना शिक्षकहरुले कुनै सेवा सुविधा बिना नै अध्यापन गराईरहेका छन् ।
0 comments
Write Down Your Responses