Powered by Blogger.
मकवानपुर उत्तरी क्षेत्रको संचारको ईतिवृत्त

वैकुण्ठ ढकाल

दुई सय चालीस वर्षको इतिहासलाई थेगेका पुर्व राजा ज्ञानेन्द्र शाह अहिले नागार्जुन दरबारमा छन् । राज्यको सार्बभौमिक श्रोत र केन्द्र निरपेक्ष रुपमै नागरिक भएका छन् । नेपाल धरा अधिराज्यबाट गणराज्य भएको छ । रुपमा जो राष्ट्रपति भए पनि सारमा जनता देशको मालिक बनेका छन् । 

देश गणतन्त्रको मझेरिमा पर्दापण गर्न तात्कालिन र दिर्घकालिन रुपमा धेरै घटनावलीको प्रत्यक्ष परोक्ष योगदान छ । तत्कालिन घटनाक्रमका रुपमा दशक लामो ‘जनयुद्ध’, १९ दिने बसन्त बिद्रोहलगायत ऐतिहासिक रुपमा २००७ साल, २०२८ साल, २०३६ सालदेखि २०४६ सालसम्म नै जनताको केन्द्रीय भूमिका रहयो । 

नागरिकको जागरण र चेतनाका अगाडी मक्किएको र ‘आउटडेटेड’ राज्य र त्यसलाई पक्षपोषण गर्ने संस्था संरचनाको पुलिन्दा शनैःशनैः भाँच्चियो । हरेक  ठूला रुपान्तरणमा नागरिकको हस्तक्षेपकारी भुमिकाको बर्णन केही बाक्यहरुमा खुम्च्याउन सम्भव छैन । 

एक सय चार बर्षे जहानिया राणाकालीन शासनको बिस्थापन र पुन राजतन्त्रको पुर्नउत्थान पनि नागरिक मात्रले सम्भव भयो । इतिहास कहिल्यै सोझो रेखामा दौडदैन । सात सालको तात्कालिन भू–राजनीतिक यर्थाथताको बिश्लेषण गरेर जसरी नागरिकले निर्वासिएका राजालाई शंकाको सुविधा दिएर पुनः गद्धीमा बिराजमान गराए आज तिनै नागरिकले राजतन्त्रको उदाहरणिय बिदाइ गरे । 

यसरी हेर्दा तात्कालिन र ऐतिहासिक रुपमा पनि जनताको छोरोको शासन व्यवस्था स्थापित गर्ने सिंगो काम नागरिकबाटै भएको छ, चाहे त्यो बिसौं शताब्दीका नागरिक हुन् वा २१ औं शताब्दीका । नागरिकको बढ्दो चेतना र सुचनाको समुचित उपयोगबाट यो सम्भव भएको छ । यसरी हेर्दा हरेक प्रकारका रुपान्तरणसंग संचार अनोन्याश्रित रुपमा गाँसिएको छ । भलै नेपाली जनताको ठूलो त्याग र तपस्याबाट प्राप्त संबिधानसभा संबिधान बिनै बिघठन भयो । यो बेलामा संचार माध्यमले संयमित भएर आफ्नो भूमिका निर्बाह गर्नुपर्दछ । 

यो अवस्थासम्म आइपुग्न राज्य र नागरिकले अनेकौं प्रकारका कष्ट र सुविधाका जंघार तर्नु परेको छ । समाजमा व्याप्त कुरिति, कूसंस्कार, अन्याय बिरुद्ध लड्न कुनै न कुनै रुपमा संचारले महत्वपूर्ण भूमिका खेलेको छ । एउटा व्यक्तिका दुःख, पिर, बेदना, चाहना, आकांक्षा र उत्साह अर्को ब्यक्ति, समूह हुँदै समुदाय अन्ततोगोत्वा राष्ट्रसम्म संचारित हुन्छ । यो एक प्रकारले अनौपचारिक संचार हो । परेवाको खुट्टामा कागज बाँधेर संचार आदनप्रदान गर्ने, अग्लो डाँडा र घरघरमा पुगेर कटुवाल कराएर मानिस भेला पार्ने काम संचारकै रुप हो । अझै पनि बिहान र बेलुका नगरा बजाएर सीमित समुदायलाई समयको ज्ञान दिने परम्परा कतिपय स्थानमा बिद्यमानै छ । समयको निर्विवादित सुचकको मानक नभए पनि समय पत्ता लाउने मामलामा आफ्नो छाँया हेर्ने, आकासको जुन, घाम हेर्ने र चराचुरुङीको गुँड प्रवेशलाई आधार मान्ने परम्परा बिस्थापित भएको छ । समयको सहि जानकारी पाउने परम्परा अहिले रेडियोको टाईम चेक सुन्नेसम्म पुगेको छ । यी सबै श्रृखला संचार विकासका आधारमा भएका हुन् ।

संचार बिकासको क्रमिकता र यसले नागरिकको चेतनामा पार्ने प्रभावका बिषयमा  यति चर्चा गरिसकेपछि संचार के हो, यसको सैद्धान्तिक, प्रकृृयागत बिकासमा क–कसको के गति योगदान रह्यो भन्ने बिषयमा बिस्तारमा उल्लेख गर्न बाञ्छनिय नहोला । यहाँ भने मकवानपुर उत्तरी क्षेत्रको सञ्चार इतिहास, बिबरण र बिश्लेषण प्रक्षेपण गर्ने प्रचेष्टा गरिएको छ । 


भौगोलिक रुपमा जिल्ला सदरमुकाम हेटौंडा र राजधानी काठमाण्डौंको बीचमा पर्ने पालुङमा संचारको ईतिहासको त्यति लामो अनुभव छैन । पर्चाको कुरा गर्ने हो भने २०१४÷१५ सालबाट शुरु भएको पाईन्छ । यो क्षेत्रमा छापा पत्रकारिता तीसको दशकमा र प्रसारण पत्रकारिता ५० को दशकमा मात्रै शुरु भएको छ । 

छापा पत्रकारिताको श्री गणेश गर्ने श्रेय स्वर्गीय रुपचन्द्र बिष्टलाई जान्छ । तत्कालीन जनकल्याण हाईस्कूल (जनकल्याण मावि)मा  रुपचन्द्र बिष्ट प्रधानाध्यापक हुँदा विद्यार्थीहरुको सहभागितामा प्रकाशित ‘मुहान’ स्मारिका नै छापा पत्रकारिताको ‘सिलान्यास’ मान्नु पर्छ । 

मुहानले निरन्तता पाउन सकेन ।  निरन्तरता नपाउनुुको कारण छुट्टै बिश्लेषणको बिषय होला तर प्रकाशन हुन्जेल मुहानमा विद्यार्थीहरुका रचनाहरुले पर्याप्त स्थान पाउने गरेको थियो । 

त्यति हुँदाहुँदै पनि हाइस्कूल निर्माणका क्रममा ६० रुपियाँको अनियमितताका विषयमा पनि एक पाना खर्चिएको थियो । त्यसरी प्रारम्भ भएको संचारमाध्यमको रुप यतिबेला दुई वटा रेडियो (प्रतिध्वनि एफएम बन्द भइसकेको र अर्को एउटा रेडियो प्रसारणको तयारीमा) दुई वटा साप्ताहिक र एक दैनिक पत्रिकासम्म पुगेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रको राजनीतिक चेतनास्तर उकास्न विशेष भूमिका निर्वाह गर्ने रुपचन्द्र विष्टबाटै सञ्चारको पनि शुरुवात् भएको इतिहास फेला पर्छ । उनकै सक्रियता र आर्थिक ब्ययभारमा २०२८ सालतिर पत्रिकाको स्वरुपमा पुस्तक छापिएको यदाकदा सुनिने गरेको छ । 

त्यस पुस्तकमा तत्कालीन गाउँ पञ्चायतका महत्वपूर्ण जानकारीहरु र दामन–पालुङ क्षेत्रबाट हटिया लगिएको बोराको रकम लगायत तत्कालीन हटिया गाउँ पञ्चायतका अध्यक्षले नतिरेको बिबरण समेत छापिएको थियो । 

यसपछि रुपचन्द्र विष्टका पद्यात्मक रचना समेटिएका पम्प्लेटहरु छापिन थाले जुन सःशुल्क थियो । ३० को दशकमा जनमुखी घोषणापत्रका नाममा छापिएको पम्प्लेट २५ पैसामा बिक्री हुन्थ्यो । एउटै पम्प्लेटको मूल्य पाँच रुपियाँसम्म पनि पथ्र्याे । 

पम्प्लेट किन्नेले पनि आधा घण्टाभन्दा बढी पढ्न पाइँदैनथ्यो । त्यतिबेला रामराजाप्रसाद सिंहका पम्प्लेट पनि दश रुपियाँमा बिक्री हुन्थ्यो । यो क्रम २०३७ सालसम्म निरन्तर जारी रहेको पाईन्छ । 

रुपचन्द्र विष्टको भूमिका र छापा पम्प्लेटको प्रभाव जनमत संग्रहमा अझ झाँगिएको थियो । राप्रपाका कमल थापालाई हराउन रुपचन्द्र विष्टको प्रकाशनहरुले झाँगिने मौका मिलेको देखिन्छ । 

०३७ सालतिरै बेनामे पत्रिका दामन पालुङमा देखा प¥यो । त्यस पत्रिकामा ‘दामनमा एक पोष्टर द्वन्द्व’ लेखिएको थियो । रुपचन्द्र विष्ट र कमल थापाको द्वन्द्वात्मक पम्प्लेट र भित्ते लेखनका विषय समेटिएको बेनामे पत्रिका जुन एक अंक मात्र देखा प¥यो, त्यसको पनि पत्रकारिताको इतिहास खोज्दा बूढापाकाबाट सुन्न पाइन्छ र यहाँनिर यति मात्रै भए पनि चर्चा उपयुक्त होला ।

आफ्नो ठाउँलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन भनेर अहिले युवा जमात लागि परेका छन् । त्यतिबेला पनि युवाहरुमा आफ्नो गाउँको पहिचान देशभरि होस् भन्ने भावनाबाट प्रेरित थिए भन्ने पुष्टि गरेको छ । 

बि.सं.२०४१ सालतिरबाट प्रकाशन थालिएको मकवानपुरे प्रतिभा २०४६ सालपछि निभ्यो । 

राज्यबाटै पनि रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रसँगै विभिन्न पत्रपत्रिकाहरुको प्रसारण र प्रकाशन  भैरहेको भए पनि उत्तरी क्षेत्रमा आफ्नै माध्यम शुरु हुन सकेन । शिक्षा, स्वास्थ्य, विकासे गतिविधिहरुको क्रमिक विकाससँगै युवाहरुमा करिब ५० को दशकतिर आएपछि भने आफ्नै कुनै माध्यमको आवश्यक्ता पर्ने रहेछ भन्ने महशुस भयो । त्यसपछि काठमाण्डौबाट कम्प्युटराइज गरि फोटोकपी गरेर घरका भित्ताहरुमा टाँस्ने गरि उजेली नामको भित्ते पत्रिकाको शुरुवात् भयो । 

२०५२ सालबाट ग्रामीण संचार  सेवा समाज नामक संस्थाले पालुङ ओखरबजारबाट शुरु गरेको ओपन थिएटर नै बिद्युतीय संचार माध्यमको औपचारिक शुरुवात भएको मान्नुपर्छ । पछि त्यही संस्था सामुदायिक संचार केन्द्र हुँदै रेडियो पालुङ सञ्चालनसम्म आईपुगेको छ ।

सन् १९९५ मा फिलिपिन्समा अडियो टावरको अवधारणाका बारेमा छलफल चलिरहँदा पालुङमा त्यसको प्रत्यक्ष अभ्यास भईसकेको थियो ।  

सामुहिक संचारको प्रत्यक्ष अनूभव गरिरहेको पालुङले दक्षिण एसियाकै पहिलो अडियो टावर संचालन गरेको जस पाएको छ । सामुहिक संचार राम्रो नमूना प्रस्तुत गरिरहेको ग्रामीण संचार २०५५ सालमा जिल्ला प्रसाशन कार्यालय मकवानपुरमा सामुदायिक संचार केन्द्रको नाममा दर्ता भयो । 
५१२ नं.मा दर्ता भएको संस्था रेडियो पालुङ संचालनमा आएपछि छायाँमा परेको (अहिले त मृतप्राय) छ । 

तत्कालिन अध्यक्ष मणिराज ढकालको सक्रियतामा डबली कार्यक्रमले निरन्तरता पायो । गाउँ गाउँमा र टोलटोलमा कार्यक्रम संचालन गर्ने सिलसीलामा बिभिन्न ठाउँमा कार्यक्रमहरु पनि संचालित हुन्थ्यो सामुदायिक संचारको नाममा  । सामुदायिक संचार सेवामा संलग्न दीपक हमाल, दयाराम कार्कीलगायतको समूहले कोटथुम्की नामक भित्तेपत्रिका प्रकाशन शुरु ग¥यो । 

यो पत्रिका पनि लामो समय टिक्न सकेन् । अघि बढ्ने क्रममा पुराना पत्रपत्रिकाको प्रकाशनको निरन्तरता टुट्दै गयो । २०५५ देखि ०६० सालबीचमा दर्जनौ पत्रपत्रिका प्रकाशित भए । त्यसमा संंस्थागत र आधिकारिक दर्ता भएर चलाइएका पत्रिकाहरु एउटै थिएन । 

पालुङमा पहिलो पटक सामुदायिक संचारकै नाममा पालुङ मासिकको शुरुवात् गरियो । यो पत्रिका मासिक रुपमा प्रेसबाट प्रकाशित पहिलो हो । त्यसको केहि समयपछि पालुङबाटै साप्ताहिक रुपमा कुमार नेगी र वैकुण्ठ ढकालको सम्पादनमा केहि अंक प्रकाशित भए । त्यहि समयमा बिभिन्न बिद्यालयबाट मासिक रुपमा भित्तेपत्रिकाहरु प्रकाशित भए । 
जमर्को, आकाशदेवी उजागर, सौगात, मधुवाटिका, अजीब, लालीगुराँस, त्रिकोण, शुभारम्भलगायत मासिक पत्रिकाहरु प्रेस मै छापिएर प्रकाशित हुन्थ्यो । २०६२ सालमा प्रभात नामक पत्रिका सबैभन्दा बढी पृष्ठमा प्रकाशित भयो  । 

खोजमूलक पत्रिका बनाउने उद्देश्यका साथ वैकुण्ठ ढकालको सम्पादनमा प्रकाशित पत्रिका १२ देखि २४ पृष्ठमा प्रकाशित हुन्थ्यो । मासिक ५ सय प्रति  प्रकाशित पत्रिका ४ अंकबाट बढी निरन्तरता दिन सकिएन । यसमा सामुहिक प्रयास अभाब रह्यो । आर्थिक रुपमा घाटा ब्यहोर्न नपरे पनि पत्रिका लामो समय चलेन । 

यतिबेलासम्म पालुङलाई कर्म क्षेत्र बनाएर पत्रकारिता गर्नेको संख्या पनि केहि वाक्लिन थाल्यो ।  नेपालकै पहिलो मोफसलमा व्यवसायिक एफएम मनकामना एफएम, प्रभातकालीन दैनिक, मधुपत्र साप्ताहिक, प्रयास साप्ताहिक (पछि अर्धसाप्ताहिक), कुराकानी साप्ताहिकलगायतका पत्रपत्रिकामा उत्तरी क्षेत्रका खबरहरु छापिन थाले । 

आफ्नै जन्मभूमिबाट पत्रिकाको प्रकाशन गर्ने, एउटै क्षेत्रका पत्रकारहरुबीच संगठीत हुने जमर्को स्वरुप सुरेन्द्रमान प्रधानको अध्यक्षतामा पंक्तिकार सचिब रहेको मिडिया सोसाइटी मकवानपुर नामको संस्थासमेतको विकास भयो । 
पालुङबाटै पत्रिकाको शुरुवात् गर्नु पर्छ भन्ने मान्यता हुँदाहुँदै पनि प्रेस र नवयुगका नागरिकको आवश्यक्ता र चाहाना अनुसारको पत्रिका तयार गर्न नसक्ने भएपछि पत्रिका प्रकाशनको जाँगर मेट्टिदै गयो ।

जसोतसो मार्टस् प्रविधिको टेलिफोनकै भरले पनि उत्तरी क्षेत्रका खबर देशभर फैलाउन सक्रिय उत्तरी क्षेत्रका पत्रकारहरुका माझमा तालिम तथा अध्ययनको खाँचो त्यत्ति बेला पर्याप्त थियो । अन्य संचार माध्यमका समाचार ढाँचा अनुसार पत्रकारितामा कलम चलाएकै भरमा पनि उत्तरी क्षेत्रमा दुःखसुख र खाँचोका कुरा, कृषकका गुनासाहरु राष्ट्रव्यापी रुपमा फैलाउने सामथ्र्य जुटाइसकेका थिए । 

२०५९ सालसम्म आइपुग्दा केहि संख्यामा राष्ट्रिय दैनिक पत्रिकाहरुमा दामनपालुङ आसपासका समाचारहरु छापिन थालिसकेका थिए तर स्थानीय स्तरबाटै पत्रिका प्रकाशन गर्ने अभियान भने ०६१ सालसम्म पनि सफल हुन सकेन । अनेकौं समस्याहरुका बाबजुद पनि केहिको संख्यामै भए पनि क्रियाशील पत्रकारहरुले गाउँका सबैलाई होसियारी बनाउन भने सफल भै नै रहे । 

सामुदायिक संचार केन्द्रका दीपक हमाल भने रेडियो संचालनको अभियानका ०५६ सालतिरैबाट लागिरहे । निरन्तर रुपमा सूचना तथा संचार मन्त्रालय धाउने र माग अनुसारको कागजात मन्त्रालय ओसार्ने काममा जुटिरहे । यो मन्त्रालय धाउने अभियानले २०६० सालतिरसम्म पनि सफलता पाएन । 

०५६ सालतिर दर्ता भएको पालुङ बहुउदेश्यीय सहकारी संस्थाले पनि रेडियो खोल्ने विषयमा चासो देखाउन थाल्यो । सामुदायिक संचार केन्द्रको जनशक्तिमात्रैले पनि रेडियो नखुल्ने र सहकारीको अर्थले मात्र पनि रेडियो नखुल्ने अवस्था सिर्जना भएपछि दुई वटैको सहकार्यमा रेडियो खोल्ने सहमति जुट्यो । 

ब्रोडकाष्टिङ एसोसियसन अफ नेपाल ब्यानका अध्यक्ष रहिसकेका विष्णुहरि ढकालको मकवानपुरे संचार यात्रा पनि करिब यहिनिरबाटै शुरु भयो । सरकारीका अध्यक्ष भएका  र यसअघि नै रेडियो संचारमा अभ्यस्त भैसकेको हुँदा एफएम दर्ताको जिम्मा पनि उनले नै सम्हाले र ०६०÷०६१ मा सूचना तथा संचार मन्त्रालयको एफएम दर्ता १०६÷०६०÷०६१÷५४९ मा पालुङ बहुउदेश्यीय सहकारी संस्थाको नाममा रेडियो पालुङ एफएम १०७.२ मेगाहर्जको नाममा इजाजत प्राप्त ग¥यो । 

तत्पश्चात २०६१ साल असार २१ गते मंगलबार विहान ८ः२१ बजे स्थानीय पुरोहितहरुबाट मन्त्रोच्चारण गरि विधिवत् प्रसारण शुरुवात् भयो । 

यसपछि कुमार नेगी, दीपक हमाल, कपिल ढकाल, सुरेन्द्रमान प्रधान, इच्छापूर्ण कार्की, वैकुण्ठ ढकाल, सिताराम बयलकुटी, मनोहर ढकाल, गीता सुँयाल, वविता ढकाल, राम कार्की, रामप्रसाद ढकाललगायतको समूह सक्रिय रुपमा एफएम प्रसारणमा देखिए ।

यससँगै राजकुमार कार्की, राजकुमार केसी, जागृत रायमाझी, हृदयन्द्र रायमाझीलगायतले फेरि छापा पत्रकारितालाई निरन्तरता दिने जाँगरका साथ हेटौंडामा छापिने गरि अभ्यासको परिशिष्टाङ्क स्वरुप शुरुमा पाक्षिक र पछि साप्ताहिकको शुरुवात् भइ ४५ अंकमा यसको पनि अन्त्य भयो । 

२०६४ साल भाद्र २ गतेबाट बज्रबाराहीका शन्तराम बिडारी, पालुङका पुष्कल ढकाल लगायतको सममूहले साप्ताहिक पत्रिका दामन पोष्टको प्रकाशन शुभारम्भ ग¥यो । काठमाण्डौबाट प्रकाशित पत्रिकाले मकवानपुरलाई बढी प्राथमिकता दिएको छ । बिक्री र सामाग्री दुबै हिसाबले मकवानपुर महत्वपूर्ण रहेको प्रधानसम्पादक शन्तराम बिडारीको मत छ । 
मुलुकको बदलिँदो परिस्थिति, साँगुरो संसार, संचारका साधनहरुको विकाससँगै फेरि एक युवा समूह दामनमा एफएम स्थापना गरि आधा नेपालको भूभागमा प्रसारण सुनाउने अभियानमा लागे । 

दिपक हमाल, सुरेन्द्रमान प्रधान, वैकुण्ठ ढकाल, इच्छापूर्ण कार्की, रामबहादुर बस्नेत, मनोहर बस्नेत, श्रीराम कार्की, प्रमोद जोशी, मुक्तिनाथ उप्रेतिलगायतको समूह यो अभियानमा जुटे । 

करिबकरिब गाउँमा हल्ला मात्र शुरु हुँदा प्रतिध्वनि मिडिया प्रा.लि. कम्पनी रजिष्ट्रर कार्यालयमा दर्ता भई मन्त्रालयमा दर्ता प्रकृयामा पुगिसकेको थियो । समाजमा हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनु पर्छ, समाजको हितमा निर्णय हुनु पर्छ र हरेक मानव कार्य व्यवशायिक हुनु पर्छ भन्ने समूह यो अभियानमा लागे । 

निरन्तर एक महिनाको प्रयास पछि सूचना तथा संचार मन्त्री दिलेन्द्रप्रसाद बडुको कार्यकाल बि.सं.२०६३ भदौ १३ गते १ हजार वाट क्षमताको प्रसारण इजाजत पायो । 

श्रावण १९ गते कम्पनी दर्ता गरि छिट्टै इजाजत प्राप्त गरेपछि एफएम प्रसारणका लागि हतार गरे । आ–आफू कार्यरत संचार संस्था छोडी स्थानीयस्तरकै संचारकर्मीहरुको संख्या बढाउन तालिम लगायतका कार्यक्रमहरु संचालन गरि मंसिर २९, २०६३ को साँझ ७ः०७ बजे कलसाइनबाट प्रसारण शुभारम्भ गरियो । 

यतिबेला उत्तरी क्षेत्रमै दुइ वटा एफएम भैसकेको छ । उता सदरमुकाममा हेटौडा एफएम मात्रै प्रसारणमा थियो । यतिबेलासम्म आइपुग्दा नयाँ पुराना गरि झण्डै ५० जनाको हाराहारीमा सूचनाविभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र लिनेहरु भइसकेका छन । 

एफएमको प्रसारण पछि छापामाध्यममा पनि बलियो उपस्थिति जनाउनु पर्छ भनेर प्रतिध्वनि मिडिया प्रालिकै प्रकाशनमा प्रतिध्वनि न्यूज अपडेड नामक पहिलो पटक  रंगीन साप्ताहिक पत्रिका प्रकाशन शुरु भयो । त्यसले पनि लामोसमय निरन्तरता पाउन सकेन् ।  

विद्युतीय संचार माध्यमपछि उत्तरी क्षेत्रमा छापा पत्रकारिता फेरि ओझेलमा परेको महशुस हुन थाल्यो । राष्ट्रिय दैनिकसँग आवद्ध संचारकर्मीहरु पनि आ–आफू कार्यरत एफएममा सक्रिय भएपछि राष्ट्रिय छापामा पालुङका समाचारहरु क्रमिक रुपमा घट्न थालेका छन् । 

यसै बेला फेरि स्थानीय स्तरमा क्रियाशील संचारकर्मीहरुको प्रकाशन संस्था मकवानपुर संचार विकास समूहको जन्म भयो ।  सुरजकुमार भुजेल प्रकाशक रहेको खबरपत्रिकामा संचारमा झ्वाट्ट देखा परेका जितेन्द्र प्रधान प्रधानसम्पादक, राजेश श्रेष्ठ व्यवस्थापक, राजकुमार केसी सम्पादक लगायतले हेटौंडाको न्यू लाइट अफसेट प्रेसबाट छापिने गरि ६ पृष्ठको पत्रिका शुरुवात गरेको देखिन्छ– २०६५ बैशाख ३० गतेबाट । 

यो पंक्तिसम्म आइपुग्दा बिकास खबरपत्रिकाको निरन्तर प्रकाशन छ । २०६८ सालमा राजकुमार केसी प्रकाशक र हरिशरण रायमाझी सम्पादक रहेको मध्यनजर नामक साप्ताहिक पत्रिका प्रकाशन शुरु भयो । त्यो पनि केहि अंक प्रकाशन भएर बन्द भयो । त्यसैगरी शुरुमा साप्ताहिक रुपमा निस्केको सोधीखोजी साप्ताहिक १० अंकजति छापिएर बन्द भयो ।

सुरेन्द्रमान प्रधान प्रकाशक र कुमार नेगीको सम्पादकत्वमा बाइरोड साप्ताहिक केहि अंक छापिएर बन्द भयो । २०७४ भदौदेखि नेगीको सम्पादकत्व शान्तिपुर दैनिक प्रकाशन भइरहेको छ । जनमुखी साप्ताहिक पनि प्रकाशनमा आएको छ । 

उत्तरी क्षेत्रको सामाग्रीलाई प्राथमिकतामा संचारको कान्छो पुस्ता विकासखबर डटकम, दामन पोष्ट डटकम, थाहापाटी डटकम प्रसारण भइरहेको छ । 

सञ्चारको विकासक्रमको प्रसङ्ग चलिरहँदा सामुहिकता र व्यवसायिकताको चरम अभाव छ । सामूहिक भावनाको विकासको लागि भनेर २०७४ साल माघ २७ गते काठमाण्डौंमा भेला गरी थाहा–काठमाण्डौं पत्रकार समाज गठन गरिएको छ । यसले ठूलो काम केहि गर्न नसके पनि उत्तरी क्षेत्रको सञ्चारको इतिहास खोज्ने काम गर्छ तत्कालका लागि । अहिले शिशुकालमा छ, नीति, योजना, कार्ययोजना र कार्यक्रमहरु बन्दै जालान् । 

संचारको विकासका हिसावमा उत्तरी क्षेत्र कुनै क्षेत्रभन्दा पछाडि परेको छैन । तर यसको निरन्तरताले फेरि उहि इतिहासलाई नै सम्झाउँछ । भनिन्छ नि विगतले आगतलाई संकेत गर्छ । 




(यो लेख मकवानपुरको उत्तरी क्षेत्रको सञ्चारको उत्खननको प्रयासको थालनी हो । यसलाई  पूर्णता दिनका लागि विज्ञ पाठकवाट सुझाब सल्लाहको अपेक्षा गरिएको छ ।)

0 comments

Write Down Your Responses