कविताः गरुँ सुकर्म
भवानी न्यौपाने ‘भावना |
तिमी राम बन्नू म सीता बनूँला
सपार्दै म आत्मा उदाई रहूँला ।
दुबै एक बन्दै गरौंला सुकर्म
यही मंत्र जप्दै बनोस् पूर्ण जन्म ।।
पुकार्दै म द्यौता गरूँ काम राम्रो
यही कामले लेखियोस् नाम राम्रो ।
म देखूँ सदा देव द्यौता पुजारी
म डाकूँ सधैँ स्वर्ग धर्ती पुकारी ।।
रसीला र मीठा नयाँ गीत गाऊँ
यही देशबासी संगै प्रीत लाऊँ ।
फलाऊँ यहीँ अन्न भर्ने भकारी
यहीँ पोख्न पाऊँ म माटो सिँगारी ।।
सजाई म डाडा पखेरा फुलाऊँ
बनी निर्झरा भीर पाखा सुसाऊँ ।
चखेवा र डाँफे रहून यो वनैमा
म हेर्दै रमाई बसूँला मनैमा ।।
सधैँ चित्तमा होस् पियारो स्वदेश
बनोस् ढुक्ढुकी झैँ स्वभाषा स्वभेष ।
मलाई सधैँ लाग्छ नेपाल राम्रो
यही नै छ संसारमा स्वर्ग हाम्रो ।।
म बाचूँ यहीँ भूमिमा नित्य हाँस्तै
रमाऊँ यहीँ मारुनी नाच नाच्तै ।
म रोदी जमाई रमूँ देउडामा
भनूँ नित्य प्यारी म नेपाल आमा ।।
–तुलसीपुर –५, ग लाइन दाङ
0 comments
Write Down Your Responses