ठेकेदारी र प्लटिङबाट उदाँउदो मकवानपुरे राजनीति
शिवकुमार काशी |
विचार, सिद्धान्त, पद्धति र विधिको लिगबाट राजनीति परतिर धकेलिन थालेको छ । जहाँ विधि र बिधानसम्मत गतिविधि र सक्रियता हुँदैन त्यहाँ पक्कै पनि अराजकताले जन्म लिन्छ । र, यात्रा दीर्घकालसम्म रहन सक्दैन । रहँदैन पनि । जसरी रेलको लिगबाट रेल बाहिर गइसकेपछि दुर्घटनाबाहेक अरु बिकल्प हुँदैन, त्यसरी नै राजनीतिले पनि लिगबाहिर जाँदा गन्तब्य पु¥याउँदैन ।
दुर्घटना हुन्छ नै, अर्थात जनताका आशा, आकांक्षाहरु स्वाभाविक रुपमा त्यतिखेर ओझेलमा पर्छन् र अराजकता हाबी हुँदै जान्छ । जनताका नाउँमा नक्कली नेताहरुको समेत बिगबिगी हुँदै जान्छ ।
पहिलो संविधान सभाको निर्वाचनमा सर्मनाक हार ब्यहोरेका मकवानपुरका काँग्रेसी नेता त्यसयता चाहिँ सफलताको बाटोमा छन् । दोस्रो संविधान सभाको निर्वाचन जित्नु, चारैवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्रै काँग्रेसको बिजय भएर वाहवाही हुनु, लगत्तै काँग्रेस जिल्ला सभापतिमा जित्नु, त्यसपछि अहिले पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीमा खुमबहादुर खड्को जोडबलमा तानिनु लगायतका उपलब्धीले उनी सफल देखिन्छन् ।
उनको यो सफलताका भित्री कारणहरु, परिणामहरु र आगामी दिनका यात्राहरुका बारेमा भने जोकोहीले चर्चा, परिचर्चा र विश्लेषणहरु नगरेका हुन सक्छन् ।
जनमुखी नेता रुपचन्द्र बिष्टको थाहा अभियानबाट राजनीतिक यात्रा थालेका बानियाँ यतिखेर मकवानपुरमा मात्र होइन, केन्द्रको राजनीतिमा पहुँच राख्ने नेता बनेकामा कुनै शंका छैन । यसका पछाडि ठूलो आर्थिक कारण छ । उनी आर्थिक रुपमा समृद्ध छन् । निर्वाचनहरुमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्छन् । किनकी लामो समयदेखि ठेकेदारी पेसा संहालेका उनी अहिले पनि सोही पेसाबाट भागेका छैनन् ।
बरु राजनीति र ठेकेदारीलाई सँगै लैजाँदा झन् फलिफाप हुँदै गएको छ । जुनसुकै निर्वाचनहरुमा पैसा खन्याएर उनले आफ्नो पकडमा पार्ने गर्छन् । आफ्नो क्षेत्रमा निर्वाचन जित्नका लागि उनले तत्कालीन बैद्य माओवादी, राप्रपा तथा तत्कालीन एमाओवादी केन्द्रसँग पनि सेटिङ हानेका थिए । तत्कालीन राप्रपा नेपाल अध्यक्षकी पत्नी प्रलिता थापा मकवानपुर क्षेत्र नं १ का उम्मेदवार हुनु, एमालेले दमदार उम्मेदवार नपठाउनू र वैद्य माओवादीले आर्थिक लाभसहितको मत खन्याउनु उनको लागि सौभाग्य बन्न पुग्यो ।
त्यसो त काँग्रेस जिल्ला अधिवेसनमा नै १ करोड बढी खर्च गरिएको चर्चा काँग्रेसबृत्तमा छ । क्षेत्रीय अधिवेसनहरुमा आफू अनुकूल नेतृत्व ल्याउनमा उनको आर्थिक लगानी चर्कै छ । सभापति शेरबहादुर देउवानिकट भनिएका बानियाँभन्दाअघि सभापति पदमा पुराना र पार्टीमा ठूलो योगदान गरेका नेता माइकल रामचन्द्र अर्याल उठ्ने चर्चा थियो । तर, राजनीति घुम्दैफिर्दै आर्थिकतिर लम्केपछि माइकल रामचन्द्र अर्याल साइड लागे । किनकी उनी गरिव तर उँचो राजनीतिक छबि भएका नेता थिए ।
जिल्लामा चुनावअघिदेखि नै पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यायसँग बानियाँको मनमुटाव छ । कारण हो, देउवासँग बानियाँ धेरै नजिकिनू । यद्यपि सदैव देउवा प्यानलबाट महालक्ष्मी उपाध्यायको केन्द्रदेखि जिल्लामा एकछत्र राज छ । दुवै नेताहरु एकापसमा यसरी प्रतिस्पर्धा अहिले पनि गरिरहेका छन् । यही द्वन्द्वका बीच अहिले बानियाँले आफ्नो अलग्गै बाटो रोजेका छन् ।
उनी अहिले देउवाबाट खुमबहादुर खड्काको बाटोमा हिँडेका छन् । उनैको कोटामा राज्यमन्त्री बनेर अहिले जिल्लामा प्रतिद्वन्द्वी पार्टीहरुलाई त देखाइरहेका छन् नै स्वयम् काँग्रेसभित्र पनि महालक्ष्मी उपाध्याय, पूर्व जिल्ला सभापति रघुरमण न्यौपानेहरुलाई समेत आफ्नो हैसियत बृद्धि भएको प्रमाणित गरिरहेका छन् । जिल्लाभर फूलमाला, अबिर लगाएर उनी यतिखेर स्वागत र सम्मान खाँदै हिँडिरहेका छन् । कम्युनिष्टहरुले भन्नेगरेको ‘बुर्जुवा शैली’ उनका लागि यतिखेर सही लिग बनेको छ ।
बानियाँको राजनीति र ठेकेदारी एकसाथ अघि बढेको छ । राजनीतिक पहुँच पु¥याएर निर्माणका ठूला योजनाहरु पार्ने र सोही योजनाको ठेक्का पनि आफ्नै कन्ट्रक्सनले पार्ने उनको शैली छ ।
त्यति मात्र होइन, सो योजना पूरा हुँदा त्यस वरपरका जग्गाको भाउ बढ्ने भएकाले योजना पार्नासाथ जग्गा खरिद गरेर सम्पति जोहो गर्ने र प्लटिङ गर्ने उनको कम्पनीको शैलीले जिल्लाको राजनीतिमा असामान्य क्रियाकलाप देखाएको छ । एकै व्यक्तिले योजना पार्ने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने र उपभोक्ताको रुपमा समेत रहने परिपाटी ठीक हो वा होइन ? सान्दर्भिक बहसको खाँचो छ ।
यता त्यस्तै अर्का पात्रको कुरा गरौँ । तत्कालीन पञ्चायतका हिमायती कमल थापा प्रजातन्त्र आएपछि पनि उदाए, शाही कू को प्रभाव सकिएपछि लगभग पतन नै भइसकेपछि पनि फेरि गणतन्त्रमा राम्रै उदाए । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि उनीमा झन् उत्साह बढेको छ ।
राजतन्त्र र हिन्दू धर्म ल्याएरै छोड्ने उद्घोषका साथ मन्दिरका पुजारी मात्र होइन, केही थान पास्टरहरु समेत अघिपछि लगाएर हिँडेका छन् । त्यसो त उनी राष्ट्रिय हाइट भएका र अर्थ राख्ने नेता हुन् । उनका बारे खास टिकाटिप्पणी गर्ने ठाउँहरु गणतान्त्रिक व्यवस्थाका अगुवाहरुले मज्जैले दिएका छन् ।
टिप्पणी गर्न खोजिएको अर्का पात्र चाहिँ उनका भाई अर्थात माननीय गणेश थापा हुन् । जो ९ महिनादेखि मकवानुरमा जमेर पूर्णकालीन राजनीतिमा छन् । थापाको शैली र राज्यमन्त्री बानियाँको राजनीतिक शैली उस्तै छ । युवाहरु बटुलेर फुटबल बाँड्ने, आफ्नै व्यक्तिगत धन खर्चेर छात्रबृत्ति बाँड्ने, दीर्घरोगीहरुको उपचारमा व्यक्तिगत धन बाँड्ने लगायतका शैलीहरु थापाका छन् ।
त्यसो त संविधान घोषणा गर्नुअघि लिइएको सुझाव संकलन कार्यक्रम भाँड्न लागेपछि मकवानपुरमा एमालेको प्रतिकारमा टाउको फुटेका थापाको इतिहाँस राजनीतिमा भन्दा पनि खेलक्षेत्रमा छ । निरन्तर लामो समय एन्फा अध्यक्ष भएका थापा म्याच फिक्सिङसहित अन्तर्राष्ट्रिय फुटबल संगठनहरुमा निर्वाचनका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आँखा लगाएका र छानबीनमा परेका व्यक्ति हुन् ।
यतिखेर उनी मकवानपुरको क्षेत्र नं १ मा केन्द्रित रही राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन् । आफू चुनाव लड्नका लागि होइन, जनताको सेवा गर्न आएको भन्दै गाउँघर धाइरहेका उनी पनि कतिपय सामाजिक सहयोगहरुमा आर्थिक रुपमा सामेल भएर त्यसलाई राजनीतिसँग दाँज्न चाहिरहेका छन् ।
विभिन्न बैँक, संस्थाहरुसँगको समन्वयमा एम्बुलेन्सहरु ल्याउने र जिल्लाका विकट गाउँहरुमा बितरण गर्ने र त्यसको जस लिने काममा उनको भूमिका छ । जनता पनि अरु नेताभन्दा यिनै पो ठिक कि भनेर यतिखेर चासोपूर्वक हेरिरहेका छन् ।
यस्तै शैली भएका अर्का नेता छन् जिल्लामा । तिनको नाउँ हो–जयराम लामिछाने । अन्तर्राष्ट्रिय ठेक्काको मान्यता प्राप्त यिनको राजनीति शैली पनि बानियाँ र थापाजस्तै छ ।
क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग संविधानसभा चुनाव लडेपछि श्रेष्ठ र लामिछानेको लडाइँका बीचबाट एमालेले चिट्ठा पारी सुवास ठकुरी बिजयी भएका थिए । चुनावताका र अहिले पनि उनले आफ्ना डोजरहरु प्रयोग गरेर जनताको बाटो आफै बनाउने भन्दै मिहेनत गरिरहेका छन् । व्यक्तिगत सम्पत्ति प्रयोग गरेर बाटो खन्ने र अरु कामहरु गर्नमा यिनी पनि अगाडि छन् ।
यता लालकिल्ला भनेर बेला बेलामा कुर्लिने माओवादी पार्टी र आजीवन किल्ला भनेर ठोकुवा गर्ने एमाले पार्टी बानियाँ, थापा र लामिछानेहरुको राजनीतिक शैली देखेर दंग परेका छन् । यही पाराले उनीहरु व्यक्तिगत सम्पत्ति खर्चेर अघि बढ्दा राजनीतिक लिक कस्तो हुने हो भनेर विचरण भइरहेको छ । कतिपय गाविसका माओवादी केन्द्रका गाउँ कमिटीका अध्यक्षहरु नै राप्रपा प्रवेश गरिसकेका छन् ।
एमालेलाई पनि आफ्ना कार्यकर्ता रोक्न हम्मे परिरहेको छ । सिद्धान्ततः विधि र पद्धतिको कुरा गर्ने यी कम्युनिष्ट पार्टीका नेताहरु सैद्धान्तिक आधारमा आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै गर्दा गाउँमा बाटो, खेलकुद, खानेपानी जस्ता पूर्वाधारहरु समेत विपक्षी दलका नेताहरु आएर व्यक्तिगत लगानीमा वा राजनीतिक पहुँच राखेर सम्बन्धित निकायहरुबाट बनाइदिन थालेपछि झस्किन थालेका थालेका छन् । त्यसो त दुबै ठूला कम्युनिष्ट पार्टीभित्र गुटगत समस्याले अर्थपूर्ण उल्झन्हरु ल्याउने गरेका छन् ।
पहिलो संविधान सभामा ४ वटै क्षेत्र जितेको माओवादी र दोस्रो संविधानसभाको चुनावमा ३ वटा क्षेत्र जितेको एमालेले आफूलाई प्रतिरक्षा गर्न सक्नुपर्छ । एमालेले ४ महिने अभियान चलाएर त्यो तयारी गरेको छ भने सरकारी माओवादी अन्यौलमै देखिन्छ । एमाले तथा माओवादीका पूर्व सांसदहरु तथा वर्तमान सांसदहरु एबम् केन्द्रीय नेताहरु गाउँ जाँदा कार्यकर्ताहरुले ‘जयराम लामिछाने, गणेश थापा र इन्द्र बानियाँ’ स्टाइलमा गाउँमा आउन सुझाव दिने गरेका छन् ।
तर त्यो शैली गलत भएको र राज्यले अर्बाै खर्चंदा त गाउँको मुहार फेर्न हम्मे भइरहेकाले व्यक्तिगत लगानीमा असम्भव भएको भन्दै एमाले र माओवादी नेताहरुले नीति, विधि र पद्धतिको कुरा गर्नेगरेका छन् ।
समाज र मतदाता राजनीतिक छैनन् । सबै मतदाता राजनीतिक र सैद्धान्तिक चुरो बुझेर मत हाल्न जान्छन् भन्ने पनि छैन । यही कुरालाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हावी हुनेगरी केही नेताहरुको सक्रियता देखिन्छ । यसले मकवानपुरे राजनीतिमा नयाँ ट्रेन्ड देखाएको छ । यो ट्रेन्डले राजनीति र समाजसेवालाई लिग आउट गरेको छ । किनकी भविष्यमा राजनीतिक उपलब्धीपछि ती नेताहरुले आफ्नो लगानी के कसरी उठाउलान् ?
ती सबै जनमैत्री होलान्÷नहोलान् ? र, अर्काे पाटो छ, उसो भए के जिन्दगीभर राजनीति र समाजसेवामा कपाल फुलाएका गरिव नेताहरुले राजनीति नगर्ने ? राजनीति गर्न ठेकेदारी नै गर्नुपर्ने हो ? काँग्रेस र राप्रपाजस्ता पार्टीमा अध्यक्ष, सभापति वा सांसद र मन्त्री हुन डोजर किन्नै पर्ने हो ?
यी प्रश्नहरु अब स्वयम् राजनीतिक पार्टीभित्रका कार्यकर्ताहरुले उठाउनु पर्ला कि नपर्ला ? यो प्रश्नको जबाफ यदि ‘हो’ मा आउने हो भने तपाईं पनि तुरुन्तै ठेकेदारीमा लागेर डोजर किन नकिन्ने ? त्यसो हो भने कुखुरापालन मात्रै गरेर राजनीति सम्भव नहोला ।
(जनआस्थाबाट)
1 comments
Write Down Your Responses
December 22, 2016 at 10:27 PM
एमाले का चै सबै सहि??
कि तीन का बिस्लेषण गर्न नहुने हो