Powered by Blogger.
संगठन सञ्चालनमा निपूर्णता र कौशलताको खाँचो देखिएकै हो

महेश कुमार बर्तौला, उपाध्यक्ष, अनेरास्ववियु

अनेरास्ववियुको राजनीतिमा २१ वर्षदेखि लगातार आन्दोलित व्यक्तिको नाम हो  महेशकुमार बर्तौला । अहिले अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष रहेका उनको जन्म २०४० पौष २९ गते नामटार गा.वि.स.–४, मकवानपुरमा भएको हो । 

लहड र बलबाहुको भरमा पैसाको प्रयोग गरेर राजनीति साट्न खोज्नेहरुका बीचमा सतीसाल जस्तो ठिङ्ग उभिइरहन सक्ने उनी आफैं सफल र अब्बल विद्यार्थी रहेकाले पनि शैक्षिक आन्दोलको समस्या गहिरोसंग बुझेका छन् । 

व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नातकोत्तर, राजनीतिशास्त्रमा पनि प्रथम श्रेणी मै  स्नातकोत्तर र  कानुन संकायमा एलएलबी पास गरेका उनले २०५२ सालमा श्री कालिकामावि नामटारबाट अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षका रुपमा विद्यार्थीकालको राजनीतिक जीवन सुरु गरेका थिए ।

त्यसयता  लगातार अनेरास्ववियुका जिम्मेवारी सम्हाल्दै इलाका कमिटी,  क्षेत्रीय कमिटी उपाध्यक्ष, क्याम्पस कमिटीको अध्यक्ष हुँदै अनेरास्ववियु मकवानपुर जिल्लाको दुई कार्यकाल अध्यक्ष, नारायणी अञ्चल कमिटी उपाध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको दुई कार्यकाल स्ववियु सभापति र स्ववियु काउन्सिल नेपालको केन्द्रीय संयोजक समेत भएर उनले जिम्मेवारी सम्हालीसकेका छन् ।  

त्यतिमात्र होइन अखिलको केन्द्रीय सदस्य, मध्यमाञ्चल व्यूरो प्रमुख, सचिवालय सदस्य, सचिव हुँदै २२ औँ महाधिवेशनबाट उपाध्यक्षको जिम्मेवारीमा क्रियाशिल छन् । उनको अखिलको राजनीतिक इतिहाँस हेर्दा कहिल्यै पछाडि फकिर्न नपरेको दृष्टान्त भएकाले पनि उनलाई एक कार्यकालका लागि अखिलको केन्द्रीय अध्यक्ष भएको हेर्ने आम विद्यार्थी तथा राजनीतिक वृतको चाहना भएको बताइन्छ ।

 विद्यार्थी आन्दोलनको रहर लाग्दो र भरलाग्दो उनै नेता महेश बर्तौलासंग दामन पोष्टले लामो कुराकानी गरेको थियो । प्रश्तुत छ ति कुराकानीको केही सम्पादीत अंशहरु ः 


यतिबेला अखिल पुरानो रफ्तारमा छैन, चलायमान हुन सकेन भन्ने व्यापक गुनासो छ नी ?

अखिलको वर्तमान कमिटी २२ औँ राष्ट्रिय महाअधिवेशनबाट निर्वाचित कमिटी हो । समयका हिसाबले हामीले ९ महिना व्यतित गरिसकेका छौँ । यस बीचमा सङ्गठनको केन्द्रीय कमिटी बैठक, सचिवालयको बैठक र आवश्यकताअनुसार दर्जनौँ पटक स्थायी कमिटीको बैठक सम्पन्न गरी सङ्गठनको आन्तरिक जीवनलाई चुस्त दुरुस्त र चलायमान बनाउन आवश्यक निर्णयहरु गरेका छौँ । 

यसबीचमा बाढीपहिरो पिडितलाई राहत, नीजि शैक्षिक संस्थाको शुल्क बृद्धी बिरोधी आन्दोलन, महंगी, कालो बजारी विरुद्धको आन्दोलन, गरिब विद्यार्थीहरुलाई प्लस टु अध्ययनको लागि शतप्रतिशत छात्रवृत्ति अभियानको सञ्चालन, संविधान कार्यान्वयनका निमित्त खबरदारी र जागरण अभियान सञ्चालन ग¥यौँ । 

यद्यपी सङ्गठनको आन्तरिक सामथ्र्य पहिचान गर्ने सन्दर्भमा हामी केही अलमलमा प¥यौँ । बुझाइ र गराईमा केही असजिला पक्षहरु प्रकट भए, हामीले महाधिबेशनबाट निर्बाचित हुने कौशलता त देखायौं तर  निर्बाचित भइसके पछि संगठन सञ्चालन गर्ने निपूर्णता र योग्यता देखाउन सकेनौं । 

राम्रो गर्ने भन्दा भन्दै नेतृत्वले संगठन सञ्चालन गर्ने सन्दर्भमा तथ्य भन्दा तर्क तर्फ, विधी भन्दा बिबेक तर्फ, पद्दती भन्दा प्रेम तर्फ, नीति भन्दा नियत तर्फ, निर्णय भन्दा निगाह तर्फ चिप्लियो ।  जसका कारण सम्पूर्ण कार्ययोजना सहित समयमै सर्कुलर जारी गर्न सकेनोँ । त्यसैले कमिकमजोरीहरुलाई सच्याउँदै संगठनलाई एकमना एकताका साथ सञ्चालन गर्ने सन्दर्भमा बैठक तथा छलफलहरु चलिनै रहेको छ । तर विद्यार्थी हक हितका सवालमा भने हामी एक इन्च पनि तलमाथी छैनौं । 

विद्यार्थी राजनीतिको वर्तमान अवस्था निराशाजनक भयो भन्ने सुनिन्छ, किन यस्तो भएको हो ?

सामान्यतया विद्यार्थी राजनीति वा विद्यार्थी आन्दोलन भनेको मुलुकका लागि चाहिने अर्थात मुलुकलाई दक्ष ढंगले नेतृत्व गर्न सक्ने राजनेताहरु उत्पादन गर्ने विश्वविद्यालय हो । यहि विश्वविद्यालयबाट उत्तीर्ण भएकाहरु नै अहिले यो देशका राजनैतिकदलहरुका प्रमुख भुमिकामा रहेको र राजकीय जिम्मेवारीहरुमा पनि शीर्ष ठाउँहरु ओगटेको देखिन्छ । 

एकै वाक्यमा विगतको विद्यार्थी राजनीति वा विद्यार्थी आन्दोलनलाई सम्झने हो भने त्याग र र समर्पणको गाथाले भरिएको ऐतिहासिक, स्वर्णिम, उपलब्धिपूर्ण र गर्विलो इतिहासका रुपमा हाम्रो सामु प्रकट हुन्छ । इतिहासको त्यस सम्मानित जगमा उभिएको वर्तमान विद्यार्थी आन्दोलन भने जुन गतिका साथ जुन रुपले हिँड्नुपथ्र्याे त्यो धिमा गतिमा मात्र रह्यो । 

समाज वा राष्ट्रमा भएका घटना वा क्रियाहरुको तत्काल प्रतिक्रिया दिने मामलामा विद्यार्थी संगठनहरु अग्र मोर्चामै रहेको भएता पनि त्यसलाई बोक्ने, सञ्चालन गर्ने र निष्कर्षमा पु¥याउने सन्दर्भमा विद्यार्थी आन्दोलनले आफ्नो स्थापित प्रतिपक्षीय चरित्रलाई भुत्ते बनाउने गरेको देखिन्छ । यसले गर्दा नै हामीप्रति केही प्रश्नहरु लाग्ने गरेको सत्य नै हो । 

आन्दोलनलाई सारमुखी ढंगले अगाडि बढाउने भन्दापनि रुप पक्षमै तैरिएर प्रचारमुखी प्रवृतीबाट मात्र प्रेरित भएर सञ्चालित हुने कुरा नै अहिलेको नेपाली विद्यार्थी  आन्दोलन भित्रको प्रमुख रोग हो । 

विद्यार्थी आन्दोलन भित्रका चुनौतीहरु के के हुन्, ती चुनौतीहरु समाधान गर्न अखिलले किन शसक्त भुमिका निर्वाह गर्न नसकेको हो ?

समयमा नै स्वबियुको निर्बाचन गराउन नसक्नु र स्वबियुको निर्बाचन भन्ना साथ तीन कोष टाढा भाग्ने , सम्मेलन सकिना साथ अर्को सम्मेलन लागिहाल्ने, जसरी जेसुकै गरेर भएपनि नेतृत्वमा कब्जा जमाउन खोज्ने प्रवृत्ति , विधि विधान, पद्दतीअनुसार नभई भाँड गुरुहरुबाट मात्र निर्देशित हुने गलत प्रवृत्ति, नियमित विद्यार्थीहरुको माझमा कमजोर साङ्गठनिक गतिविधि, अस्वस्थ गुटउपगुटको प्रतिस्पर्धा नै यतिबेलाको  विद्यार्थी राजनितिका प्रमुख चुनौतिहरु हुन् । 

यस्ता अवस्थाबाट विद्यार्थी आन्दोलनलाई जोगाउँदै परिवर्तनका उपलब्धिहरुको रक्षा र संस्थागत गर्दै आर्थिक समृद्धिको मार्ग भएर समाजबादसम्म पुग्ने नेपाली जनताको संवैधानिक संकल्पलाई साकार तुल्याउन विद्यार्थी सङ्गठनका वर्तमान नेतृत्वहरुमा बढी कर्तव्य बोध देखिनु जरुरी छ । यसका लागी अनेरास्ववियुले नै आफ्नो पनि समिक्षा गर्दै बढि जिम्मेबार हुदै विशेष पहलकदमी लिनु पर्दछ । प्रमाणित तथ्य के हो भने यदि विद्यार्थी राजनितिको क्रान्तिकारी छवि कमजोर भयो भने वा विद्यार्थी राजनिति दुब्लो भयो भने विद्यार्थी आन्दोलन शक्तिहिन र जीर्ण हुन्छ । 

यदि विद्यार्थी आन्दोलन नै जीर्ण भयो भने देश र जनताका विरुद्ध सदैव गद्दारी गर्नेहरु, प्रतिक्रियावादीहरु, सामन्तीदलालहरु, विस्तावादीहरुले फणा उठाउन सक्छन् र प्रकारान्तरमा जनताका अधिकारहरु माथि धावा बोलिने छ, लोकतान्त्रिक मुल्य र मान्यतालाई समाप्त पार्दै मुलुकलाई अन्धकार  तर्फ धकेल्ने चेष्टा गर्ने छन् । 

त्यसैले विद्यार्थी राजनिति वा आन्दोदलन नै लोकतन्त्रको आधार हो । राष्ट्र निर्माणको जग हो । एकता र सद्भावको मियो हो ।  त्यसैले यो सत्यलाई बुझेर विद्यार्थी राजनीति भित्रका खराब प्रवृत्तिहरुलाई निमिट्यान्न पार्दै अघि बढ्न जरुरी छ । विद्यार्थी आन्दोलनको नेता सङ्गठन भएको नाताले अनेरास्ववियुले यसको विशेष अगुवाइगर्नुपर्दछ ।

अख्तियार प्रमुख  लोकमान सिंह कार्की विरुद्ध महाअभियोगको प्रस्ताव पारित हुने विषय अझै अन्यौलमा छ, तपाँइहरु शैक्षिक मुद्दा छोडेर किन यो राजनीतिक मुद्दाका खिलापमा लाग्नुभएको हो ?

लोकमान सिंह  कार्की एउटा मामुली कर्मचारी हुन् । एउटा कर्मचारीलाई हटाउन ठूलो ताकत नै चाहिँदैन । २ सय ४० वर्षे इतिहास बोकेको सामन्तवादको नाइके राजतन्त्रलाई नारायणहिटी दरबारबाट लखेटेर नागार्जुन जंगलमा धपाउन सक्ने ताकत भएका विद्यार्थी आन्दोलनका सामु लोकमान नामको फिस्टे चरोलाइ हटाउने कुरो कुनै गणनाको बिषय होइन ।

तर यहाँ लोकमानको कुरो होइन, कुरो लोकमान प्रवृत्तिको सफायाको हो । लोकतन्त्रमा संविधान, कानुन, अदालत, जननिर्वाचित संसद भन्दा माथि कोही पनि हुँदैन तर यी सबै भन्दा माथि आफू रहेझैँ गर्दै, यी सबैलाई अटेर गर्दै, धज्जी उडाउँदै, आफूलाई श्रीपेच बिनाको राजाको रुपमा उभ्याउँदै धुर्बे हात्तीले जस्तो सिमा भन्दा बाहिर गएर बितण्डा मच्याउँदै राज्य आतंक फैलाउने लोकमान प्रवृत्तिको सफाया जरुरी छ । 

त्यस्तो प्रवृत्तिको नाइके लोकमान अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो गरिमामय संस्थाको प्रमुख पदमा रहने कुरा कुनै पनि शर्तमा शोभनीय नहुने हुँदा उनी विरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित हुनु जरुरी छ । 

अखिलका अहिलेका कार्यभारहरु के के हुन् ?

अनेरास्वबियु मुलुककै सबैभन्दा ठुलो र नेतृत्वदायी संगठन हो । यस नाताले आजका समसामयिक र ज्वलन्त मुद्दाहरुलाई ठिक ढंगले उठाउन तथा संबोधन गर्न प्रभाबशाली कार्ययोजनाहरु निर्माणका साथ अघि बढ्नु जरुरी छ । 

त्यसैले अबको अखिलको प्रमुख कार्यभारहरु भनेको नयाँ संविधानलाई पूर्ण कार्यान्वयनको लागि दबाब, खबरदारी र जनपरिचालन अभियानलाई ससक्त बनाउने, त्रिभुवन विश्वविद्यालय लगायत सम्पूर्ण विश्वविद्यालयहरुमा अविलम्ब स्ववियुको निर्वाचन गराउन दबाब सिर्जना गर्ने, सङ्गठनका सम्पूर्ण कमिटीहरुलाई विधान बमोजिम अद्यावधिक गर्ने, सङ्गठन भित्रको बैचारिक राजनैतिक कामलाई तिब्र बनाउने, सार्बजानिक शिक्षाको गुणस्तर र यसको बिश्वसनीयता बढाउदै शिक्षा क्षेत्र भित्र बढीरहेको व्यापारीकरण, माफियाकरण र बढ्दो शुल्क आतंकलाई  अन्त्य गर्न शसक्त शैक्षिक आन्दोलनको अगुवाइ गर्ने, सर्टिफिकेटका आधारमा निव्र्याजी शैक्षिक र व्यवसायिक ऋण  प्राप्तिका लागि विशेष अभियान सहित दबाब सिर्जना गर्ने रहेको छ । 

यी नै कार्यभारहरुलाई पुरा गर्न यतिबेला हामी बिशेष कार्ययोजनाका साथ सम्पुर्ण कमिटीहरु परिचालनको तयारीमा जुटिरहेका छौं ।

पछिल्लो समय एमालेको नेतृत्वको सरकार ढलाइयो, अब राष्ट्रिय राजनीतिमा यस पार्टीको भुमिका कमजोर भएको हो ?

व्यवस्थापिका संसदभित्रको गणितलाई हेर्दा नेकपा एमाले दोस्रो राजनैतिक दल हो । तर संसद भित्र वा बाहिर चाहे त्यो विचारको तहमा होस् या त व्यवहारको कोणबाट होस.् जनता र राष्ट्रको हितका लागि निर्वाह गरेको भुमिकाका आधारमा नेकपा (एमाले) पहिलो र प्रमुख राजनैतिक शक्ति हो । अझ नयाँ संविधान निर्माणमा यसले खेलेको भुमिका र कार्यान्वनका लागि लिएको राष्ट्रबादी अडानलाई हेर्ने हो भने देशलाई विखण्डन गर्न खोज्ने, देशको सार्वभौमिकता समाप्त पार्न चाहने, देशलाई स्थायी शान्तिको बाटोमा हिँड्न नदिने तत्वहरुका लागि त एमाले बैरी नै होला तर आम देशभक्त राष्ट्रवादी जनताहरुका लागि नेकपा एमाले असल साथी हो । 
यतिबेला देशलाई कमजोर बनाउन खोज्ने सयौँ हर्कतहरु देखा परिरहेका छन् । सुखी जनता समृद्ध राष्ट्र बनाउने उद्देश्यका साथ अघि बढिरहेको के.पी ओली सरकारको रथलाई विदेशी रापतापमा बिचैमा ढालेर नयाँ सरकारका नाममा केही लेण्डुप दोर्जेहरु जन्मेका छन् । सरकारको नेतृत्वमा बसेका ती लेण्डुप दोर्जेहरुको नेपालललाई सिक्किमीकरण गर्न खोज्ने प्रवृत्तिलाई समाप्त पार्न देशको यस्तो संगिनमय घडीमा नेकपा एमालेले आफ्नो पूरा शक्तिका साथ एकताबद्ध भएर सति सालझैँ उभिनु जरुरी छ । जतिजतिबेला देशलाई सङ्कट पर्दछ, त्यति त्यति बेला जनताको अपेक्षा एमालेसँग नै रहन्छ । चाहे त्यो माओवादीहरुको कथित शसस्त्र युद्धलाई अन्त्य गर्न होस्, चाहे राजतन्त्रलाई समाप्त गर्न होस् , चाहे संविधान निर्माणमा होस् या चाहे संविधान कार्यान्वयनका लागि होस्, चाहे भारतीय नाकाबन्दीको मुकाबिला गर्दै देशको सार्भभौमिकता बचाउन होस् एमाले सँग नै जनताको अपेक्षा थियो त्यो एमालेले कुनै कसर बाँकी नराखी पूरा ग¥यो । 

विगत  लामो समयदेखि स्ववियु निर्वाचनको मिति तोकिँदै स्थगित गरिनुको दोष कसको छ   ?

स्वतन्त्र विद्यार्थी युनियन पञ्चायती शासकहरुलाई घँुडा टेकाएर प्राप्त भएको नेपालको विद्यार्थी आन्दोलनको एउटा महत्वपुर्ण उपलब्धी हो । २०६५ पछि नियमितरुपमा स्वबियुको निर्वाचन हुन नसकेका कारण तथा २०७१ भाद्र ८ गते स्वबियुका पदाधिकारीहरुलाई  आफ्नो पदिय हैसियतमा कुनै पनि काम गर्न नगराउन सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशका कारण समेत क्याम्पसहरुमा विद्यार्थीहरुका समस्या गुनासो र हक हितका मुद्दाहरुमा स्वबियुको भुमिका र पहलकदमी शुन्य भएको छ । 

यसैका कारण नेपालको बिद्यार्थी आन्दोलन क्षयीकरण हुदै क्रमशः कमजोर र भुुत्ते बन्दै गइरहको छ । यदि यस बर्ष समेत स्ववियुको निर्वाचन गर्न सकिएन भने सिङ्गो विद्यार्थी आन्दोलन लगभग मृत प्राय हुन सक्ने र अब पनि शैक्षिक सस्थाहरुमा विद्यार्थी संगठनहरुको जरुरी रहेको छ त ? भन्ने बहसको प्रारम्भ हुन सक्ने खतरा छ ।

किन भने विद्यार्थी आन्दोलनको शक्ति, प्रभाबशालीता र प्रभाबकारिताको  प्रमुख आधार भनेकै स्ववियु हो । विगतका वर्षहरुमा निर्वाचन विधीलाई आधार बनाएर निर्वाचन भाड्दै आइरहेका अखिल क्रान्तिकारी, नेविसंघ तथा अन्य केही क्षेत्रीयतावादी विद्यार्थी संगठनहरुले यस पटक पनि उमेर हदको विषयलाई चर्काएर स्ववियू निर्वाचन नगराउने षडयन्त्र गरिरहेको देखिन्छ । 

तथापी पनि विद्यार्थी आन्दोलनको नेता संगठन हुँदाको नाताले अनेरास्ववियुले यी सबै षडयन्त्र र अप्ठ्याराहरुलाई मुकाविला गर्दै स्ववियु निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण आन्दोलनको नेतृत्व  गर्नेछ  । 

स्ववियुलाई निल्न खोज्ने विश्वविद्यालयका असक्षम पदाधिकारीहरुका विरुद्ध देशव्यापी रुपमा शसक्त आन्दोलन संचालन गरी सोही आन्दोलनको बलबाट निर्वाचनको सुनिश्चितता गर्नुको वैकल्पिक बाटो अब हामीसँग छैन । 

अन्त्यमा भन्नुपर्ने केही ?

अहिले अध्यक्षले एकांकी ढंगले गरेका निर्णयहरुबाट उहाँ आफैं पछाडि फर्कनु परेको छ । कार्यविभाजनहरुको सर्वमान्य व्यवस्थापन नभएसम्म संगठनमा गतिशिलता पक्कै आँउदैन । आन्दोलनका नाममा असम्वन्धीत र सरोकार बाहिरका मागहरु तेस्याउने र लहडमा तालावन्दी गर्ने र खोल्ने जस्ता काम भइरहेको छ । आन्दोलन जस्ता चिजहरुलाई व्यत्तिगत स्वार्थसिद्धीसंग गाँसिनु हुँदैन । 

अनि सिङ्गो संगठनले त्यसलाई स्वामित्वका रुपमा ग्रहण गर्न सक्नुपर्छ । कहिँकतै त्यसो भइरहेको छैन भन्ने साथीहरुका तर्फबाट व्यापक गुनासो आएको छ । जसलाई सम्वोधन गर्दै अघि बढ्नुपर्छ । म खासगरी अध्यक्ष नविनाजीलाई यस विषयमा गम्भिर हुन आग्रह गर्छु ।




0 comments

Write Down Your Responses