Powered by Blogger.
जनमुखी राजनीति नाफामुखी हुँदैन,सेवामुखी हुन्छ

अधिवक्ता रामनारायण बिडारी 
रुपचन्द्रले जीवनभरी जनमुखी राजनीति गरे । जनमुखी राजनीतिको मूल दर्शन थाहा हो । यसैभित्र माक्र्सवाद पर्दछ । थाहा दर्शन र जनमुखी राजनीति अभिन्न अङ्ग हो । प्राण र शरीर जस्तो हो । जहाँ जनमुखी राजनीति हुन्छ, त्याहाँ थाहा दर्शन हुन्छ । जहाँ थाहा दर्शन हुन्छ, त्याहाँ जनमुखी राजनीति अनिवार्य हुन्छ । यो अलग गर्न सक्ने वस्तु वा विषय होइन । थाहामा मानवता बढी, जनमुखीमा श्रमिक बढी महत्वका हुन्छन् । राजनीतिमा बहुसङ्ख्यकको महत्व हुन्छ । श्रमिक र नारी समाजमा बहुसङ्ख्यक छन् । तिनीहरुको राजनीति जनमुखी राजनीति हो । जो थाहा दर्शनबाट निःसृत छ ।

थाहा कुनै ट्रेड मार्क होइन । कसैको व्यापार व्यवसायको लोगो पनि होइन । एउटा तपस्वीले आयुभरी तपस्या गरेर आर्जन गरेको थाहा दर्शन कसैले व्यापारिक लोगो बनाएमा कुनै पनि अवस्थामा सह्य हुँदैन । मासु काटेर बेच्ने व्यवसायीले वधशालामा शिव र बुद्धको मूर्ति राख्दा लोकले के भन्छ ?

रुपचन्द्र विष्ट दार्श्निक भएकाले पूर्वीय धर्म दर्शनको र पश्चिमी सांस्कृतिको आलोचना वा विश्लेषण गर्ने विद्वान हुन् तर अन्धभक्त परम्परावादी मूर्ति पुजक होइनन् । कसैले थाहालाई व्यापारको लोगो बनाए तर जनमुखी राजनीति गरेनन् भने त्यो असनतिरको गौतम बुद्ध मम पसल थापेर बसे वा लेखे जस्तो हुन्छ । रुपचन्द्रले आफू राजनीतिमा जन्मेदेखि अन्तिम समयसम्म जनमुखी राजनीति र थाहा दर्शन साथसाथै पालना गरे । जनमुखी राजनीति नाफामुखी हुँदैन । सेवामुखी हुन्छ । दिनु देवत्व, लिनु राक्षसत्व, लिनुदिनु बराबर व्यापार । यो भनाइ रुदाने कै हो ।
जनमुखी श्रमिकमुखी, नारीमुखी हुन्छ । शोषकमुखी, शासकमुखी, नाफामुखी हुँदैन । रुपचन्द्रबाट जनमुखी राजनीति झिकिदियो भने अपूर्ण हुन्छन् । थाहा झिकिदियो भने पनि अपूर्ण हुन्छ । थाहा र जनमुखीमध्ये म शोषकको पोषक राजनीति गर्छु अनि थाहा दर्शन बोकेको छु भन्छ भने त्यो ज्यूँदो लास सरहको मान्छे हो । मरेको लासलाई मान्छे भन्ने मान्छे हो । रुपचन्द्रले यस्तालाई शास फेर्ने लास भन्ने गर्नु हुन्थ्यो । थाहा त्यो भरियाले बोक्न सक्छ, जो जनमुखी हुन सक्छ । शोषण शासनको साझेदार मुनाफाखोरबाट थाहाको ज्ञान प्राप्त हुन सक्दैन । यिनबाट थाहाको अक्षर प्रचारसम्मको आशा गर्न सकिन्छ । थाहा एउटा विशाल वृक्ष मानेको खण्डमा म त्यसको बोक्रोको टुक्रासम्म हुँ भन्ने रुपचन्द्रको मप्रति टिप्पणी थियो ।

यति टुक्रोसम्म पनि अरु रुपचन्द्रको जीवन कालमा अरु भएनन् भन्ने अर्थ हो त्यो । थाहा र जनमुखीको रजविज मसँग छ । उहाँकोे जीवनकालमा मैले सधैँ सम्झने कुरामध्ये रुदानेले धेरै मान्छेसँग चिनाउने काम गर्नुभयो । कसैलाई वर्षको एकपटक, कसैलाई महिनाको एक पटक जनमुखी राजनीति गर्दा सम्पर्क गर्नु । यदि त्यो व्यक्तिले निःसर्त जनमुखी राजनीतिलाई सहयोग गर्छ भने त जनमुखी हैसियतले भेट्दा बेस हुन्छ भन्ने कुरालाई ती व्यक्तिले आफू ठूलो भएको ठान्नु पटमूर्ख हो । पहिला आफूले निःसर्त जनमुखी र थाहालाई सहयोग गरेको भए भेट्नु भनेको हो । यति नबुझेर म ठूलो ठान्नु पनि र प्रचार गर्नु बेइमानी पनि हो ।

दार्श्निक धर्म गुरुहरुको अनेकौँ सहयोगी हुन्छन् । त्यस्तै रुपचन्द्रले २००८ देखि २०५६ सम्म आफ्नो उद्देस्य पूरा गर्न अनेकौँ पाइलामा अनेकौँ व्यक्ति साथ लिए । बुद्धले पनि अनेक साथ लिए दरबार छोड्दादेखि बुद्धत्व प्राप्त गर्दासम्म तर उनका चेला त सबै भएनन् । विरोधी पनि निस्के । वुद्धलाई भजाएर उनका वरिपरिकाले उपद्रो पनि गरे । हात्तीको रुप लिएर बुद्ध मार्न पनि आए । सुतेको ठाउँमा साँप पनि पठाए । तर उनका चेला त थोरै न भए । यस्तै २०४३ पछि केही वर्ष रुदानेले कसैलाई उपयोग गरेको मान्छेले म रुदानेको सबै जिन्दगीको विशेष मान्छे हुँ भन्नु पनि महापाप हो । यो प्रचार गर्ने विषय होइन । 

स्वार्थी निर्घीणीले मात्र सानो कुरालाई ठूलो बनाएर विषेश प्रचार गर्छ । रुदानेले श्रमिक जगाउन खोज्नु भएको हो । शोषकलाई हैन । शासकलाई पनि हैन ।

शोषक र शासकसँग घनिष्ट भएर जनमुखी हुन सक्दैन । जब जनमुखी हँुदैन तब थाहा दर्शनसँंग गाँसिन सक्दैन । थाहा दर्शन शासन गर्न शोषण गर्न प्रतिपादन भएको होइन । जब नेपालमा जनयुद्ध सुरु भयो । जनमुखी विरुद्धको शासन चल्न थाल्यो । जुन २०५६ देखि २०६३ सम्म थाहालाई व्यापारमा लोगो बनाएनन् । 

यस बारेमा कुनै प्रचार त के कुरासम्म पनि गरेनन् । २०६१।६२ मा थाहा पुस्तक प्रकाशन गर्न मलाई धौधौ प¥यो । पे्रस नपाउने, टाइप गर्न नमान्ने, किताब ओसार्न नमान्ने आदिआदि । जब २०६३ पछि जनयुद्ध समाप्त भई क. प्रचण्डको मूल राजनीतिमा उदय भयो । तब मान्छेहरुले थाहालाई लोगो बनाउने, ट्रेडमार्क बनाउने गर्न थालेको देखियो ।

त्यस्तै रुपचन्द्रको जनमत बलियो भएको बेलामा केही मान्छे २०४३ तिर अचानक आए तर २०३८ मा आएनन् किनभने २०३८ मा ती व्यक्ति रुपचन्द्रलाई बहुला भन्थे । त्यो बेला पञ्च नै सबथोक भने जस्तो गर्दथे । अहिले त नगरको नाम थाहा रहन गयो । सरकारले पनि थाहा बारेमा चासो राख्न थाल्यो । शासनमा पनि थाहा मन पराउनेहरुको संलग्नता हुन थाल्यो, सरकारले बजेट र सम्मान गर्न थाल्यो । तब त झन् व्यापारमा पनि थाहा मात्र हैन यसको खोल मात्र प्रचार गर्न थाल्यो । किन २०३८ मा रुपचन्द्रसँग सम्पर्क भएन ? किन २०५७ देखि २०६३ सम्म थाहा लोगो कसैको भएन ? रुपचन्द्रको भक्ति श्रमिक राजनीतिसँग जुटेको हुन्छ । श्रमलाई प्रधानता दिने सिद्धान्तमा आधारित हुन्छ ।

त्यही अनुरुप आचारण व्यवहार गरेको हुन्छ । रुपचन्द्र जनसाधारण जस्तो देखिने मात्र हैन उस्तै हुनुहुन्थ्यो । यो नेपालको राजनीतिमा चासो राख्ने सबैले जानेको कुरा हो । निष्पक्ष सक्रियताको अभ्यास गर्ने उहाँको नारा हो । थाहाको मर्म हो । सत्तापक्षको संलग्नतामा सधेैँ रहनेहरु निष्पक्ष हुनै सक्दैनन् । सत्य बोल्न पनि सक्दैनन् । त्यसले जनमुखी हुनै सक्दैन, जब जनमुखी हुन सक्दैन तब थाहा उसको विषय नै हुन सक्दैन । जनमुखी बेगर थाहामा पुग्ने दिशा नै पत्ता लाग्न सक्दैन । जनमुखी हुन श्रमिकमुखी राजनीतिमा संलग्न हुनैपर्दछ । श्रम सामाजिक रुपमा दैनिक गर्नैपर्दछ । यस्तो कार्य प्रचारात्मक हैन क्रियात्मक मात्र हुनुपर्दछ । 

मैले २०३८ देखि राजनीतिक रुपमा र २०३० देखि विद्यार्थी रुपमा यो राजनीतिमा संलग्न छु । बरु हाल एक दुई वर्षदेखि म पनि जनमुखी सिद्धान्तमा अलि गडबड भएको छु । बहुदलीय गन्जागोलमा अलमलिएको छु ।ठीक छ रुपचन्द्रले थाहा ध्यानाकर्षणका लागि लेखेर बोलेर थाहा प्रचार गर भन्नुभयो । त्यो गर्न हरेकलाई छुट नै छ । तर मैले वा अरु कसैले अनेक व्यवसायहरु थाहा दर्शन अनुरुप गरेँ, मेरा यो नाफा वा उपज थाहा नै हो भन्नु हुँदैन । त्यहाँ थाहा दर्शन मुछ्नु जनताको नजरमा झन् गिर्नु हो । अझ धर्म मान्नेहरुले त यसलाई घोर पाप हो भन्नुपर्र्छ ।

यस्तै थाहा दर्शनले जनमुखी होऊ । जनमुखी राजनीति गर तर सकेनौँ भने व्यापार गर्दा पनि यो दर्शन विरुद्धको काम नगर भनेका हो । यदि व्यापार गर्छौं भने थाहा दर्शनलाई त्यहाँ मिसाएर दुर्ग्न्धित नपार भनेका हुन । व्यापार नाफामुखी हुन्छ । जनमुखी, सेवामुखी हुन्छ । दर्शनलाई दुरुपयोग नगर । यो महाअपराध हो महापाप हो । रुदानेले समाज विकास निम्ति बनाएको वैज्ञानिक औजार धुत्र्याइँ गरेर दुरुपयोग नगर । थाहादर्शन निजत्वमा दुरुपयोग नगर । क्वान्टम सिद्धान्त अनुसार पदार्थ बन्न परमाणु चाहिन्छ । परमाणु बन्नका लागि इलेक्ट्रोन, प्रोटोन चाहिन्छ तर मूर्खले परमाणुभन्दा तल देख्दैन ।

विद्वान वैज्ञानिकले एक मिलिमिटरको १०औं खर्ब भाग पनि देख्न सक्छ । ती गामा किरणका तरङ्ग देख्न सक्छ । त्यस्तै जनताले थाहा दर्शन जनमुखी राजनीति र व्यक्तिका व्यापारका गामा किरण—विकिरण देख्न सक्दछन् । यो बाटोको जोकोही पनि लाग्न सक्दछन् ।

विशुद्ध जनप्रिय दर्शन थाहालाई व्यक्तिको व्यापारसँग कसैले पनि जोड्न मिल्दैन । रुपचन्द्र भन्नुहुन्थ्यो । मेरो जीवन पछि मेरो नाम जोडेर यो सिद्धान्तको ठीक उल्टो गर्दै हिँड्नेहरु आउनेछन् । यो कुराबाट बच्न हरेकले सके जनमुखी राजनीति गरोैँ । नसके थाहाको प्रचार मात्र गरौँ । त्यो पनि नसके चुपसँग बसोैँ । 

तर थाहा दर्शन व्यक्तिगत जीवन र व्यवसायमा दुरुपयोग नगरौँ । तपाईसँग साच्चेै पैसा छ भने तपाईं साच्चै जनमुखी हो भने रुपचन्द्रको किताब जस्ताको तस्तै १० लाखप्रति छापेर ७५ जिल्लामा नै पुग्ने प्रवन्ध गरौँ । त्यसमा आफू नमिस्सिऔँ । आफू नमिस्सीकन जस्ताको तस्तै चिन्नु जान्नु थाहा हो । यो रुदानेकै भनाइ हो । तपाईंका वा मेरा निजी आर्जनका सम्पत्ति र काममा जोडेर थाहा दर्शनमा फोहोर नहालौँ । 

रुपचन्द्र बारे भावी पुस्ताले अध्ययन गर्ने छ । त्यो अध्ययनमा बाधा नपारौँ । भावी पुस्ताले सिद्धान्त प्रतिपादनलाई परिमार्जित गरेर लागू गर्ने छ । हो स्मरण गरोैँ, थाहा लेखौँ, नाम पनि राखौँ । तर मैले गरेको काम दर्शनसँग नगासौँ । मेरो काम कति नैतिक छ कति अनैतिक छ समाजले हेरिहाल्छ नि किन डराउने । चिहानमा मूल्याङ्कन हुन्छ । मलामीमा हैन । चिहानमा पुगेपछि उसको काम र जिन्दगी टुङ्गिन्छ । अनि मूल्याङ्कन गरौँला । 

मान्छेको व्यापार कति थाहा कति अथाह । मैले गरेको काम वा व्यापार बुद्धको हिनयान र महायानका नीति बमोजिम छ भन्दा सबै बौद्ध धर्मवलम्वीलाइ चोट लाग्न जान्छ । किनभने ती काम नितान्त मेरो निजी हुन् । बुद्धको जीवनकालमा अजात शत्रु पनि त सम्पर्कमा आयो नि । सम्पर्क थाहा युगमा धेरै मान्छेसँग भयो । ती मान्छेमध्ये म एक हुँ भन्ने सोचौँ र उहाँका दर्शनको राजनीतिको अहिले जति उपलब्ध छ तिनको सके करोडौँ नसके लाखौँ कपी मात्र छापिदिऊन् । यसमा किन खर्च गर्न डराएको ? किन समाजका उपद्रो गर्न पल्केका, ठगी खान पल्केकालाई खुसी पार्न मात्र खर्च गर्ने । छापिएका किताब देशभर यातायातको प्रवन्ध गरेर टिम बनाएर प्रचार गरौँ न । 

किन मसँग रुदाने गाँसेर साँघु¥याएर उनका सिद्धान्तलाई विकृत बनाएर आफ्ना कुरा ढाकछोप गर्ने । किन आफ्ना काममा निजी काममा थाहाको खोल हालेर छोप्ने ? 

0 comments

Write Down Your Responses