प्रत्येक जिल्लामा ज्येष्ठ नागरिक मञ्च बनाऔं
युक्तलाल विक |
‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ यो भनाइ नेपाली जनजीवनको यथार्थपरक मौलिक उखान टुक्का आज पनि मलाई अत्यन्तै सान्दर्भिक लाग्दछ । बूढाबूढीहरुलाई गरिएको सम्मान र उनीहरुप्रति दर्शाएको आदरभाव नै यस उखानको प्रमुख बिशेषता हो ।
लामो समयको अन्तरालमा अनगिन्ति दुख पीडा रोदनको अनुभूति हर्ष खुसि उल्लासमय क्षणको भोगाई र अनुभब सामाजिक, सास्कृतिक र धार्मिक जीबन शैलीको बुझाई अनि भोगाई गृहस्थी जीबन संचालनको लामो अभ्यासले तयार भएको जीबन कहानी उत्प्रेरणाको प्रमुख श्रोत हो ।
सामाजिक जीबन यापनको महत्वपूर्ण कार्यभार बृध्दबृध्दाको प्रत्यक्ष संलग्नतामा अगाडी बढ्दै गईरहेको छ । नैतिक आचरण सामाजिक एबम सांस्कृतिक ब्यबस्थापन सरल जीबनशैली आदिको अनुकरणीय उदाहरण पनि बृध्दबृध्दानै हुन । बिगतको लामो भोगाइले उनीहरुमा परिपक्वता कायम भएको हुन्छ । भोगाई र अनुभब जीबन संचालनको महत्वपूर्ण पाटो हो । आगामी दिनलाई कसरी सरल र सहज बनाउने भन्ने कुराको मार्ग दर्शन पनि हो । यसले बिगतका कामको समिक्षा र सिंहाबलोकन गर्ने काम गर्दछ । गल्ति कमजोरीको पुनरावृति नगर्ने राम्रा र सकारात्मक कुराहरुलाई बस्तुपरक ढंगबाट निरन्तरता दिदै जाने काम गर्दछ ।
लामो जीबनचक्रको अविरल यात्रामा बृध्दबृध्दाहरुले धेरै घुम्ती र मोडहरु पार गरेका हुन्छन त्यसैले बृध्दबृध्दा जिउँदा इतिहासका पाना हुन् । जसलाई हामी जुनसुकै समयमा पढ्न सक्छौ । उनीहरुको जीबनशैलीको शुक्ष्म एबम बृहतर रुपमा ब्याख्या विश्लेषण गर्न सक्छौ । अनुभब र भोगाई सिकाईको महत्वपूर्ण जीबनदर्शन हो । जीबनलाई सहि गन्तव्यमा पुरयाउने साधन पनि हो । यसले सामाजिक संरचनालाई परिष्कृत र ब्यबस्थित बनाई जीबनशैलीलाई योजनाबध्द रुपमा अगाडी बढाउन मध्दत पुरयाउदछ । बृध्दबृध्दाको भोगाई र अनुभब परिवार समाज र सिंगो देशलाई सुब्यबस्थित रुपले दिगोविकास एबम समृध्दिका लागि उपयोग गर्नु नितान्त आबश्यक छ ।
उनीहरुले प्राप्त गरेका ज्ञान नयाँ पिँढीमा हस्तान्तरण गरिनुपर्दछ । उनीहरुका सिपलाई समयसापेक्ष ढंगबाट आधुनिकी र बैज्ञानिकीकरण गर्दै अगाडी बढाउनु पर्दछ । बृध्दबृध्दाको ज्ञान सिप क्षमता र दक्षतालाई भरपुर प्रयोग गर्ने हो र उनीहरुको भूमिकालाई उच्च सम्मान दिने हो भने निश्चयनै हामी उन्नति र समृध्दी तर्फ लम्कन सक्छौ । यसमा हाम्रो ध्यान जानु नितान्त आबश्यक छ ।
अब हामीले बूढाबूढीको कुरा सुन्नुपर्छ । उनीहरुको योगदान र भूमिकाको सम्मान गर्नुपर्छ । जसरी परालको आगो तुरन्तै बल्छ राप पनि चाडै सिध्दिन्छ ताप पनि आउदैन तर मूढा बलिरहन्छ राप र ताप पनि आइरहन्छ । बृध्दबृध्दा भनेका धेरै भोगाई र अनुभवले खारिएका ज्ञानका भण्डार हुन । त्यसर्थ उनीहरुले उर्जाशील समयमा ब्यतित गरेका अनुभब र कामहरुको पुनस्मरण गर्ने र उनीहरुसंग भलाकुसारीको दोहन चलाउनु पर्दछ । बृध्दासंग मनका कुरा अभियान चलाई अन्तरमनका भावनाहरुलाई समाज परिवर्तन र सुधारमा केन्द्रित गराउनु नितान्त आबश्यक छ । अनि मात्र आगो ताप्नु मूढाको कुरा सुन्नु बूढाको भन्ने उखानको सार्थकता सिध्द हुन्छ ।
तर पछिल्लो समयमा बृध्दबृध्दाप्रति जुन किसिमको प्रेम र सद्भाब हुनु पर्ने हो त्यसमा केहि कमि आएको कारणले उखानको सान्दर्भिकतालाई नै कतै उपहास गरेको हो कि भन्ने भान हुन्छ । आफ्ना छोरा छोरीलाई बूढेसकालको साहरा ठान्ने बुवा आमालाई हेलाँ र तिरस्कार गरेका केही घटनाहरु प्रकासमा आईरहेका छन । छोरा छोरी देखि आजित भएर घर परिवारलाईनै परित्याग गरि विभिन्न बृध्दाश्रम आश्रय लिईरहेका छन् ।
जीवनको अन्तिम क्षणमा पारिवारिक मिलनको सुखद अनुभूतिमा रमाउन चाहने बृध्दबृध्दाहरु बहिष्कृत हुनु भनेको ज्यादै दुखद पक्ष हो । भनिन्छ नि मातृ देवो भवः पित्रृ देवो भवः आचार्य देवो भवः अतिथि देवो भवः अर्थात माता पिता गुरु र पाहुना भनेका भगवान हुन् । जसरी हामी भगवान प्रति भक्तिभाव दर्शाउछौ त्यसरी नै आमा बुवा प्रति आदर र भक्तिभाव दर्शाउनु पर्दछ । सबै दुख कष्ट बिर्सिएर कुण्ठा र बेदनाहरुलाई समेत लुकाएर ओठमा हाँसो छर्दै हामीलाई ताते ताते गर्दै डोहोरयाउनु भो । भोक र तिर्खाले ब्याकुल हुँदा पनि किन्चित दुख नमानी के के खान्छौ भनि सोध्दै खोज्दै हामीलाई खुवाउनु भो । आफ्ना सन्ततिलाई प्राण भन्दा प्यारो ठानी ममताले सिगार्नु भो ।
बिरामी हुँदा काम्दै तडपदै कहिले टाउको कहिले नाडी छाम्दै के भयो बाबु भन्दै दुखित हुनु भो । जाडो भई ओठहरु काप्दा सिरकले गुटुमुटु पारि सुताउनु भो । हामीलाई हिड्न सिकाउनु भो पढ्न सिकाउनु भो यावत सबै कुरा सिकाउनु भो । जीबन र जगतलाई बुझ्ने योग्य र कर्मठ ब्यक्ति बनाउनु भो ।
यसरी ममताकी खानी प्रेरणाको श्रोत हाम्रा आमा बुवा साच्चै शाश्वत ईश्वर हुन । उनीहरुको सेवामा समर्पित हुनु हरेक छोरा छोरीको कर्तब्य हो । हामीलाई बाल्यकालमा दुख कष्टका बाबजुद पनि ममताले सिँगार्दै डोहोरयाउने आमा बुवालाई अब हामीले पनि उहाहरुलाई भोको र नाङ्गो राख्नु भएन ।
उहाँहरु बिरामी हुँदा उपचार गर्नु पर्यो जसरी हामीलाई के भो बाबु भनि नाडी छाम्नु हुन्थ्यो । हिजो हामी संग रमाउनु भो आज हामी उहाँहरु संग रमाउनु पर्छ ्र यी सबै काम गर्ने पालो अब हाम्रो हो । बृध्दबृध्दाहरु पारिवारिक मेल सुख समृध्दी चाहन्छन् । आफ्ना सन्ततिको उन्नति प्रगतिमा रम्न चाहन्छन् । त्यसर्थ उनीहरुप्रति माया प्रेम र सदभाब व्यक्त गरौं । हरेक दुख सुखमा हातेमालो गरौं । कहिल्यै पनि आफ्ना छोरा छोरीको माया प्रेमबाट बिमुख हुन नपरोस । दुख कष्टले ब्याकुल बन्दै संयम गुमाउन नपरोस् ।
पारिवारिक बिमेल आपसी समझदारीका कारण बुढेसकालमा मानसिक रुपले विक्षिप्त भई घर त्यागेका वा त्याग्न बाध्य भएकाहरुको जीबन ज्यादै कहालीलाग्दो बन्दै गईरहेको छ । रोग र तनावले ग्रसित बृध्दबृध्दाहरु जुन अबस्थामा भेटिन्छन उनीहरुको मनोविज्ञान बुझ्दा अधिकांसहरु परिवारबाट नै अपहेलित हुनु परेको बुझिन्छ । वृध्दबृध्दाहरु राज्यका महत्वपूर्ण हिस्सा हुन् ।
उनीहरुले गरेको योगदानको राज्यद्वारा कदर गरिनु पर्दछ । बिकसित मुलुकहरुमा बृध्दबृध्दाको लागि बिशेष सुबिधाको व्यवस्था गरिएको हुन्छ । सम्पन्न परिवारमा उनीहरुको संरक्षण र स्याहार गर्न हेरालुको व्यवस्था समेत गरेका हुन्छन् । बृध्दबृध्दाको स्वास्थ्यप्रति राज्य गम्भीर रहेको हुन्छ । बेला बेलामा स्वाथ्य परिक्षणको व्यवस्था मिलाइएको हुन्छ । रुची अनुरुपका संगीत र मनोरन्जनको व्यवस्था समेत मिलाएको हुन्छ ।
हाम्रो देशमा पनि बि.सं.२०५१ मा तत्कालिन सरकारका प्रमुख प्रधानमन्त्री मनमोहन अधिकारीले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७५ बर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई मासिक रु १०० का दरले भत्ता दिने व्यवस्था मिलाउनु भयो । यो नेपालको इतिहाँसमा बृध्दबृध्दाप्रति गरिएको सम्मानको अनुपम नमुना हो । यो कार्य हालसम्म पनि निरन्तर रुपमा अघि बढिरहेको छ ।
यो आफैमा महत्वपूर्ण कदम त हो तर पर्याप्त होइन । राज्यको तर्फबाट बृध्दबृध्दाको लागि अझै गर्न बाकीनै छ । राज्यले ज्येष्ठ नागरिकको संरक्षण र सुरक्षाको लागि प्रत्येक जिल्लामा ज्येष्ठ नागरिक मंच गठन गरिनुपर्दछ । यसका साथै ज्येष्ठ अशक्त नागरिकका लागि पुनर्स्थापना केन्द्र गठन गरि भरणपोषणको व्यवस्था मिलाउनु आबश्यक छ । बृध्दबृध्दाको स्वास्थ्यको नियमित परिक्षण धार्मिक एबम पर्यटकीय क्षेत्रको भ्रमण मनोरन्जन लगायतका कुराहरुको ब्यबस्थापन गर्नु आबश्यक छ ।
हाल धार्मिक मठ मन्दिरहरुमा बृध्दबृध्दाहरुको लागि आश्रयस्थलको व्यवस्था मिलाएको भएता पनि अझ ब्यबस्थित हुन सकेको छैन । निजि साधनश्रोतको उपयोग गरि समाज सेवामा लागेका मानुभावहरुले बृध्दबृध्दाको स्याहार संरक्षण गर्न केहि बृध्दाश्रमहरु खोलेको पनि पाइन्छ । यो ज्यादै राम्रो र अनुकरणीय काम हो ।
जसले आफ्नो जीवनको सम्पूर्ण लगानी बृध्दबृध्दाप्रति समर्पित गर्न र समाजसेवाको महान कार्यमा समर्पित हुन संकल्प लिनुभो उहाँहरुलाई धन्यवाद दिनै पर्छ । तर पनि नागरिक हरुको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व हो । त्यसर्थ असहाय बृध्दबृध्दालाई भरणपोषणको व्यवस्था सहित संरक्षण र स्याहार गर्न राज्य तदारुकताका साथ अग्रसर हुनुपर्दछ । बृध्दबृध्दाका लागि आफ्नो सन्तानबाट प्राप्त गर्ने मायामा कुनै किसिमको पनि कमि आउनु हुँदैन । हामीलाई सक्षम बनाउन अतुलनीय भूमिका उहाँहरुबाट भयो त्यसको सदैब स्मरण गर्नु पर्दछ र सम्मान गर्नु पर्दछ । हामीलाई आज यहाँसम्म पुरयाउन खेलेको भूमिकालाई कहिल्यै नभुली बृध्दबृध्दाको सेवा गर्ने अब हाम्रो पालो भन्दै हामीले हाम्रो कर्तब्य पुरा गरौ ।
0 comments
Write Down Your Responses