Powered by Blogger.
अब हाम्रो कार्यभार विशुद्ध शैक्षिक क्रान्तिको हो

निलकण्ठ आचार्य, उपाध्यक्षका प्रत्यासी
नयाँ नेतृत्वका लागि अहिले काठमाडौमा अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । करिव ३ सय प्रतिनिधीको विवाद टुङ्ग्याउन बाँकी नै रहेपनि नयाँ विभिन्न नेताहरुले नेतृत्वका लागि उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैमध्ये अखिलको केन्द्रीय सदस्य, सचिवालय हुँदै लेखा आयोगको संयोजक निलकण्ठ आचार्यले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिँदैछन् । दिपक गौतमको प्यानलबाट उम्मेदवारी दिएका आचार्य अखिल भित्र अध्ययनशिल नेताको रुपमा चिनिन्छन् । प्रस्तुत छ उनै आचार्यसंग दामन पोष्टले गेको कुराकानीः

अखिलको राजनीतिमा आउन तपाँईलाई के कुराले प्रभावित पा¥यो ?

जतिबेला म स्कुल पढ्दै थिँए, मलाई मेरो गाउँकै धेरै बाल बालिकाहरु जो दाउरा घास अनि बस्तु गोठालो जाने गर्थे । स्कुल जाने बातावरण थिएन । मलाई उनीहरुलाई पनि स्कुल लैजानु पर्छ भन्ने भावना पैदा हुन्थ्यो र एक दिन स्कुलमा अनेरास्ववियुको जिल्ला नेताहरू आएर स्कुल जान नपाएको बालबालिकाहरुलाई स्कुल लैजानु पर्छ, उनीहरुले पढ्न पाउनु पर्छ र शिक्षामा सबैको समान पहुँच हुनुपर्छ ।

 धनी र गरिब परिवारका विद्यार्थीले पाउने शिक्षा समान हुनुपर्छ साथै राष्ट्रियताको पक्षधर हो भन्ने अनेरास्ववियुको विचार बुझेर म अनेरास्ववियुमा लागे । 

तपाई  उपाध्यक्षमा नै किन उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ ?

म अनेरास्ववियुको गतिबिधिमा निरन्तर क्रियाशिल छु । संगठनले गरेका हरेक गतिविधि र आन्दोलनमा सहभागी र नेतृत्वदायी भुमिका निर्वाह गर्दै संगठनको स्कुल कमिटी हुँदै क्याम्पस, जिल्ला, अञ्चल, केन्द्रीय सदस्य, सचिवालय हुँदै अहिले केन्द्रीय लेखा आयोगको अध्यक्ष छु । 

अबको परिवर्तित सन्दर्भमा अनेरास्ववियुको विगतको गरिमालाई जोगाउदै थप नयाँ ढंगले सृजनात्मक आन्दोलनको नेतृत्व गर्न सक्छु । आज विद्यार्थी आन्दोलनमा देखिएको अराजकता ,अस्पष्टता, गुन्डागर्दी, आर्थिक भ्रष्टाचारको अन्त्य गरि विद्यार्थी आन्दोलनलाई थप नयाँ शिराबाट लैजान र लाखौं विद्यार्थीलाई विद्यार्थी आन्दोलनमा आकर्षण गराउन मेरो उपाध्यक्षमा उम्मेदवारी हुने छ । 

अहिलेको अवस्थामा विद्यार्थी आन्दोलनबाट विद्यार्थीहरु टाढा रहेका छन्, किन होला ?

स्वभाविक छ, आज विद्यार्थी आन्दोलन एकातिर र विद्यार्थी जमात अर्कोतिर छ । विद्यार्थी आन्दोलनले तिनलाई सम्बोधन गर्न सकिरहेको छैन । आज विद्यार्थी संगठनको औचित्यताको सन्दर्भमा समेत प्रश्न उठिरहेको छन् । आज विद्यार्थी सगंठन विद्यार्थीको पक्षमा भन्दा नेता बन्ने भ¥याङको रूपमा जाँदै छ र  दलका नेताहरुले आफ्नो प्रचार गर्ने प्रचारक विद्यार्थीलाई बनाइरहेका छन् । 

बिगतमा ठूलाठूला परिवर्तनको आन्दोलनमा प्रमुख शक्ति  विद्यार्थी हो । अबको विद्यार्थी आन्दोलनलाई आत्मनिर्भर , सृजनशिल, मुलुकलाई समृद्धिको दिशामा लैजान सक्ने शिक्षा प्राप्तिको आन्दोलनमा लैजानु पर्छ र उठेका तमाम प्रश्न समाधान खोज्नुपर्दछ । 

विद्यार्थीले किन राजनीति गर्ने  त ?

सबैभन्दा सचेत बर्ग विद्यार्थी हो । सचेत बर्ग नै राजनीतिबाट टाढा रहने हो भने मुलुक कस्तो ब्यक्तिबाट शासित हुन्छ, बुझ्नु जरुरी छ । अब सक्षम र योग्यहरुले शासन नगर्ने हो भने मुलुक समृद्धिको दिशातर्फ जानै सक्दैन । तसर्थ योग्यहरुले शासन गर्न विद्यार्थील ेनै राजनीति गर्ने हो । 

तपाईले जितेपछि  अखिल कस्तो बनाउनुहुन्छ ? 

अब पुरानो ढंगले विद्यार्थी आन्दोलन अगाडि बढ्दैन । अबको आन्दोलन सृजनशिलताको हुनुपर्दछ । अखिल पनि पुरानै ढर्रामा चलेको छ । त्यसलाई बदल्नु पर्दछ ।  

अब हाम्रो कार्यभार विशुद्ध शैक्षिक क्रान्तिको हो ।  अखिल त्यो दिशा तर्फ जान्छ । त्यति मात्र होइन आज अनेरास्ववियुमा काम भन्दा गफ धेरै गर्ने, संगठनलाई कमाइ खाने भाडो बनाउने, गुन्डागर्दी गर्ने ,असक्षमहरुको भिड बढ्ने जुन क्रम छ त्यसको अन्त्य हुन्छ ।  हरेक शैक्षिक संस्थामा अनेरास्ववियु पुग्छ । 

तपाईलाई किन जिताउने त ? 

म अनेरास्ववियुमा पहिल्यैदेखि नै सक्रिय रहेको छु । म अखिलभित्रको स्वच्छ विद्यार्थी नेताको रुपमा चिनिन्छु । म एक बैचारिक वहस गर्ने सक्ने विद्यार्थी नेता भएकोले म जस्तो नेता अखिलमा आवश्यक छ । अनेरास्ववियु विचार, इमानदार, योग्य ,क्षमतावान, संगठनलाई नयाँ गति दिन, आर्थिक पारदर्शी र साँच्चै विद्यार्थीको संगठन बनाउन मलाई प्रतिनिधीहरुले जिताउनुहुनेछ भन्ने आशा छ ।   

जित्ने आधार के छन् त ? 

मेरो जित्ने पहिलो आधार भनेको  क्रियाशिलता हो । मैले संगठनले  दिएको हरेक जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेको छु । त्यसका साथै रचनात्मक  शैक्षिक क्रान्तिको नेतृत्व म गर्न सक्छु । आज सिङ्गो प्रतिनिधिले  निलकण्ठ आचार्य इमानदार ,भाबी योजना तर्जुमा गर्न सक्ने, योग्य, आर्थिक पारदर्शी भएको ठान्दछन् । 

र, मलाई  संगठनभित्र इमान्दारिताका साथ  भूमिका निर्वाह गर्न सक्ने, बिचारमा दृढता र व्यवहारमा लचकता भएको भनेर बुझ्ने गर्दछ्न त्यो नै दरिलो आधार हो भन्ने लाग्छ  ।  





0 comments

Write Down Your Responses