म काममा विश्वास गर्छु, चुनौतिमा रमाउँछु
कमला बोहोरा, सचिवका प्रत्यासी, अनेरास्ववियु |
अनेरास्ववियुको २२ औ राष्ट्रिय महाधिवेशन भोलीबाट काठमाडौमा हुँदै छ । नयाँ नेतृत्वका लागि उस्तै चुनावी सरगर्मी चलेको छ । अनेरास्ववियुको दुई पटक सचिवालय सदस्य भएकी कमला बोहराको पनि महाधिवेशनमा सचिव पदमा उम्मेदवारी पर्ने भएको छ । सुदुरपश्चिमको कञ्चनपुरबाट विद्यार्थी राजनीतिमा सक्रिय बोहरा सचिव भएर अखिललाई नयाँ शिराबाट अघि बणउने बताउँछिन् । अखिलको महिला विभाग प्रमुख समेत रहेकी बोहरासंग दामन पोष्टले गरेको कुराकानीः
तपाईको चुनाव जित्ने आधार के छ त ?
मेरो जीवन राजनीतिकै लागि हो । यो बाहेक मेरो अरु केही स्वार्थ छैन । त्यसैले मैले संगठनको हितलाई नै आफ्नो हित मानेको छु ।
बिभिन्न खाले चरित्र बोकेका विद्यार्थी नेताहरुको भिडमा अहिलेसम्म निष्कलङ्क छु त्यो नै मेरो जित्ने बलियो आधार हो ।
अर्कोकुरा म अरुले जस्तो निर्वाचनको समयमा मात्र कार्यकर्ता माझ जोडिन्न । म सधै विद्यार्थी आन्दोलनमा सक्रिय रहेको छु र संगठनले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्छु र सवै कार्यकर्ताहरु माझ क्रियाशिल नेतृत्वका हिसावले परिचित छु । यो नै मेरो जित्ने आधार हो ।
प्रतिनिधीहरु तपाईको पक्षमा कत्तिको देखिएका छन् ?
अधिकांश प्रतिनिधी प्राय मैले चिनेका र मलाई सहयोग गर्ने साथीभाई नै आउनु भएको छ । उहाँहरुकै सहयोगले म सचिव जित्ने हो । अहिलेको प्रतिनिधी हेर्दा मेरो पक्षमा ७० प्रतिशत रहेका छन् । मैले अखिलमा खेलेको भूमिकाको प्रतिनिधीहरुले मूल्याङकन पक्कै गर्नुहुनेछ र म सचिवमा जित्ने कुरामा ढुक्क छु ।
आफ्नो मुल्याङ्कन आफैं गर्दा अखिल भित्रको तपाई कस्तो नेता हो ?
म अखिलभित्रको गतल प्रवृतिको विरोध गर्ने मान्छे हुँ । म गलत गर्दिन र कसैसंग डराउँदिन । न्यायको पक्षमा दृढतापूर्वक उभिन्छु । काममा विश्वास गर्छु । चुनौतिमा रमाउँछु । र, संगठनलाई गतिशिल ढंगबाट लैजाने खुबि छ । त्यसैले इमान्दार र वौद्धिक जमातले मलाई रुचाउछँन् ।
केही त विद्यार्थी नभएर पनि अखिलमा राजनीतिक गरिरहेका छन ?
हो । केहीमा त्यस्तो देखिएको छ तर म निरन्तर विद्यार्थी हुँ । अहिले पनि म क्याम्पसमा भर्ना भएको छु । त्यसैले नेता हुन लायक छु । मेरो उमेर र योग्यता पनि विद्यार्थी नेता हुन सुहाउँदो खालको छ । तर यहाँ धेरै विद्यार्थीहरु क्याम्पसको गेट कुरेर नेता हुन खोज्दैछन ।
त्यसैले मेरो पहिलो अभियान नै क्याम्पसको गेट कुर्ने होइन् कि कक्षा कोठा छिर्ने संगठन बनाउने हो ।
तपाईको एजेण्डा के छन त ?
हामीले यहाँसम्म आईपुग्दासम्म धेरै खाले परिवर्तनहरु देखेका छौ । सवै परिवर्तनको उपज भनेको राजनीति नै हो । त्यसैले विद्यार्थीहरुबीचमा राजनीति गर्नुपर्छ भन्ने चेतना विस्तार गर्न जरुरी छ । तर हिजोको राजनीतिसंग आजको राजनीति फरक हुनु आवश्यक छ । हामीले पहिले जस्तो सडक सघर्ष तथा आन्दोलन भन्दा पनि प्राज्ञिक आन्दोलनको उठान गर्न जरुरी छ ।
समय सापेक्ष शिक्षा नीतिको अभावमा जनचेतना, सामाजिक परिवर्तन र विकासको गतिको लिक भित्र मुलुकलाई राख्न नसक्दा विश्व परिवेशमा फेरि पनि हामी अविकसित, गरिव र भ्रष्ट मुलुकको सूचिमा छौँ । शिक्षा विकासको मूल आधार हो । प्रगतिको वाहक हो । त्यसैले सर्वसुलभ, जनमुखी शिक्षा र आर्थिक समृद्धिमा विद्यार्थीहरुलाई सहभागि गराउन अबको विद्यार्थी आन्दोलन अघि बढाउनुपर्छ ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने, नेपालको स्रोत साधानलाई पहिचान गरि उपभोग गर्न सक्ने, नेपालको मौलिकतामा आधारित सामान्य जनताको पहुचमा पुग्न सक्ने, पहुँचको ग्यारेन्टी गर्न सक्ने, अवसर र पहुँचको ग्यारेन्टी भएका शैक्षिक कार्यक्रम अबको शिक्षा नीति बनाउनुपर्छ ।
शिक्षामा सुधार गर्नुपर्ने कुराहरु के के हुन् ?
नेपालको शिक्षा नीति केही सम्भ्रान्त र दलालहरुको हातमा छ । उनीहरुले आफ्नो स्वार्थको रुपमा नेपालको शिक्षा प्रणालीलाई घुमाइरहेका छन् । यहाँको परीक्षा र पठनपाठन विषयबस्तु पनि केही व्यक्तिहरुले निर्माण गर्ने र शैक्षिक संस्थाको स्थापना र शिक्षामा विभिन्न खाले विभेदको सिर्जना गर्ने काम तिनै दलालहरुले गरिरहेका छन् । शिक्षामा सुधार गर्नका लागि अबको विद्यार्थी आन्दोलनको प्रमुख विषय शिक्षाको आमूल रुपान्तरण भएको घोषणा सहित स्पष्ट शिक्षा नीति निर्माणको लागि केन्द्रीत गर्नुपर्दछ र भ्रष्ट शैक्षिक माफियाहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्दछ ।
शिक्षा क्षेत्रमा जबर्जस्ती दुई खालको शिक्षा प्रणाली लागु भएको छ । यसको अन्त्य नहुन्जेलसम्म नेपाली विद्यार्थीहरु पुरै नेपालमा दुई खालको वर्ग निर्माण भई नै रहनेछ । त्यसैले पढ्ने पाठ्यक्रम समान हुनुपर्दछ र सर्वसुलभ गराउनुपर्दछ ।
नेपालको योग्य युवा विदेशीने र बुढा र अयोग्यहरुले सरकारी कर्मचारीतन्त्र धानिरहेको अवस्था छ । यसले गर्दा कुशल जनशक्ति र आधुनिक वौद्धिकता विदेशले प्रयोग गरि रहेको छ । यसको अन्त्य गर्न अनेरास्ववियुले योजना सहित युवा शक्ति र स्रोत सहि कार्यन्वयन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ ।
यहाको भूगोल, वातावरण र नेपाल सुहाउँदो र यहि देशमा प्रयोगमा आउने खालको शिक्षा नीति निर्माणमा जोड दिनुपर्दछ ।
अखिललाई कस्तो बनाउने सोचमा हुुनुहुन्छ ?
अखिललाई चन्दा तथा गुण्डागर्दी विहिन र नैतिक आचारणमा स्वच्छ बनाउने मेरो सोचाई छ । बौद्धिक वर्गहरुको संगठन निर्माण गरि साँच्चिकै विद्यार्थी आन्दोलनको अगुवा संगठन निर्माण गर्ने योजना छ ।
अबको विद्यार्थी आन्दोलन के का लागि हुनुपर्छ ?
अब राजनीतिक होइन शैक्षिक आन्दोलन गर्न जरुरी छ । नेपालको समान्तवादी शिक्षा नीति परिवर्तन तथा समाज व्यवहारमुखी सर्वसुलभ शिक्षा नीति कार्यन्वयन गदै आर्थिक समृद्धिको बाटो देखाउने प्राविधिक शिक्षामा सरकारको उच्च लगानीलाई जोड दिनुपर्छ ।
0 comments
Write Down Your Responses