रुपचन्द्र बिष्ट, थाहा आन्दोलन र थाहा नगरपालिका
सानोभाई कार्की |
तत्कालीन शिखरकोट गाउँ पञ्चायत, पछि दामन गाउँ विकास समिती र हाल थाहा नगरपालिका वडा नम्मर ६ घर्तिखोलामा पिता पदमबहादुर बिष्ट तथा माता चित्रकुमारीको कोखबाट बिक्रम सम्वत १९९० पुस २६ गते जन्म लिई २०२६ पुस २६ गते नै विवाह बन्धनमा बाधिएका थिए स्वर्यीग रुपचन्द्र विष्ट ।
एक छोरी र एक छोराका पिता उनी स्वभावैले समाजको परिवर्तन चाहने बिद्रोही स्वभावका थिए । रुपचन्द्र समाजका एक योद्धा, सिद्धान्तका ज्ञाता तर सिद्धान्तलाई रटेर होइन ब्यबहारमा आफैबाट प्रयोग गरेर देखाउनु पर्दछ भन्ने मान्यता राख्दथे । उनी सामजिक द्रस्टाका रुपमा समेत परिचित थिए । ‘शत्रुले चिनेका मित्रुले नचिनेका, सिङ्गो समाज परिवर्तन गर्न हिडेका’ ।
सधैं समाजका बसीखानेहरुका बिरुद्ध गरिखाने श्रमिकहरु एकजुट भै लाग्नु पर्ने, शोषक र सामान्तहरुलाई मन ,वचन र कर्मले नै घृणा गर्ने मात्र होइन यिनका बिरुद्ध अनवरत लडाई जारी राखे । त्यस हिसाबले रुदानेको थप परिचय दिइ।हनु आवश्यक यस अर्थले छैन की उनलाई नचिन्ने कमै मात्र छन् । नचिन्नेले पनि उनीबारे सुनेका छन्, पढेका छन् ।
रुदानेले ‘निस्पक्ष सकृयताको अभ्यास’ थाहा लाई जनस्तरसम्म पुर्याई लोकप्रिय र जनप्रीय बन्न सफल भए ।
आफु स्थानीय जनकल्याण हाई स्कुलमा प्रधानअध्यापक हुँदा (२०२५–२६) तिर उनले आफु काम गर्ने स्कुलमा मात्र सिमित नरही हरेक स्कुलमा आफैंले रचना गरेका राष्ट्रगान गाउने चलन चलाए ।
उनले ‘झुत्रे झाम्रे लुरे त्यान्द्रे भोकाहरुको गाउँमा ...... ...... ........’ बोलको जनतालाई जगाउने खालको गित गाउने चलन चलाएका थिय । कलिला बालबालिकाहरु पनि योजनाकार हुन् भन्ने मान्यताका बिचारक स्वर्गीय बिष्ट स्कुल स्कुलमा गएर कालो पाटीमा लेख्दथे, ‘अब के गर्ने ?’
मलाई अहिले पनि सम्झना छ , कालाभैरब प्रावि को कक्षा २ मा पढ्दै गर्दा लामो कदका मान्छे आएर कालो पाटीमा ‘अब के गर्ने ?’ वाक्य लेखेको । मलाई थाहा थिएन, उनी को थिए , किन लेखे ,कता गए ? पछि बुझ्दा ती जनताका मान्छे रहेछन् भन्ने कुरा आफु ठुलो भएपछिमात्र जानियो । तिनै मान्छे (२०२९) भन्दा धेरै अघि २०१५,२०२८ मा राष्ट्रीय पञ्चायतको निर्वाचनमा उम्मेद्वारी दिइसकेका नेता पो रहेछन ।
बिए , बिएल को शिक्षा डिग्री प्राप्त गरेका उनले सो पछि २०३८, २०४३, २०५१ र २०५६ मा पनि चुनाव लडे । २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा विजयी पनि भए । जुन बेला उनले आफुले जानेको सिद्धान्तलाई त्रुटिरहित तवरले सम्पन्न गर्न सफल भए । जसले उनको उचाईलाई धेरै माथि उचाल्यो र जीवन्त बनाउन सक्यो ।
त्यसको एउटा आधार थियो कि सिद्धान्तप्रतिको अक्षुण निष्ठा , लोभ लालसबाट मुक्त , निद्रा र प्रशंसाबाटाढा । वास्तवमा उनीबाट सिक्नुपर्ने मुल पाठ यहि थियो ।अध्यनको कुरा गर्दा उनले पनि बुर्जुवा शिक्षा भारतबर्ष , पूर्वीय धर्मदर्शन नै अध्यन गरेका थिए । उनी कसरी जनपक्षीय नेता बन्न पुगे भन्दा तल्लो तह गाउँ पञ्चायतमा २०२२ को चुनाब मा नै उम्मेदवारी दिएर विजयी भएका थिए । सो पछि २०२५–२०२६ मा पहिलोपटक र दोश्रो पटक २०२९–३० मा जन कल्याण मावि को प्रधानअध्यापक बन्न पुगे ।
समाजको स्तर एकातिर अनि सम्प्रेषण गरिएको बिचार र व्यवहार अर्कोतिर भएर हो वा समाजमा उनको शत्रुहरुको हालीमुहाली भएर हो, उनलाई स्कुलबाट निकालियो ।तत्पश्चात ७ बर्ष सम्म दामनको निजि घरमा बाख्रा पालनका साथ बसेका उनले समाजलाई त्यहाँ बाट पनि थुप्रै ब्यबहारिक कुराहरु सिकाएका थिए ।
एकान्तको बसाई परिवारसँगको बिछोड, समाजमा ल्याउन खोजेको परिवर्तनबाट एक प्रकारको बैराग ,पशुसंगको हेरचाह, बिदेशीहरुसंगको हेलमेल तर सिद्धान्त प्रति अविचलित र अविराम निष्ठा नै उनको त्यो बेलाको विशेषता रह्यो ।
उनको स्वअध्यनको निरन्तरता जारी नै थियो । पारिवारिक सम्बन्ध केबल बाँच्ने र बचाउँने खेल मात्र होइन, यो सबैको हुने गर्दछ तर मानव केबल आफ्नो लागि मात्र नभई अरुको लागि हो किनकी उ संग चेतना छ ,अत पारिवारिक सम्बन्ध बिछोड हुनु नौलो कुरा होइन भन्ने रुपचन्द्रको मान्यता थियो ।
महत्वपूर्ण कुरा सिद्धान्त र सो प्रतिको लगाव हो । सिद्धान्त बचाउ र कार्यान्वयनको लागि समाज , समाजको कुरीति, कुसस्कृतिसंग मात्र होइन , कुरा नमिल्दा परिवारसँग पनि बिद्रोह हुन सक्दछ । यो मान्यता स्वयम् रुपचन्द्रको जीवनबाटै प्रष्ट थियो ।
यी र यसप्रकारका जीवनोपयोगी कुराहरूका सर्जक बिष्ट नेपाली समाजबादी चिन्तकका रुपमा पनि आफ्नो पहिचान समाजमा छोडेर जान सफल भए ।निडर, हठी , बिद्रोही अति बलिया, समाजको स्तर भन्दा धेरै माथिल्लो तहको ज्ञानका धनी र बिषय विज्ञ समेत रहेका बिष्ट बाचुन्जेल न कसैको बने न कसैलाई आफ्नो बनाए !
जीवन र जगत सबैको साझा हो , सबैसंग सबै चिज छ, जो एकसंग छ । त्यसैले उनले आफ्नो केबल जीवन भोगाईबाट साश्वत र सत्य बैचारिक बिचार सम्प्रेशण गरे जुन हिजो सत्य थियो, आज पनि सत्य छ र भोलि पनि त्यत्तिकै सान्दर्भिक रहने छ ।
जुन यस प्रकारको थियो, ‘हामी कसैको होइनौ ,कोही हाम्रा होइनन्, सत्य र न्यायका हामी ,ठिक र सत्य हाम्रो ।’
यी र यस्ता थुप्रै सैद्धान्तिक बिचारका धनीलाई उनको भनाईबाट भन्दा गराई बाट सिक्नु पर्ने प्रशस्त सन्देशहरु छन् । यहिक्रममा आफ्नो कर्तव्यप्रती समर्पित हुँदै गर्दा अनुसन्धानको क्रममा उनले एक शब्द प्रकाशमा ल्याए । ‘थाहा’ । अग्रेजी शब्द अनुसार ‘पलयध’ अर्थात जान्नु , बुझ्नु नै थाहा हो ।
उनी भन्दथे, ‘भ्रमको उल्टो थाहा ,निष्पक्ष सकृयताको अभ्यास थाहा ।’ यसबाट यो सिद्ध हुन्छ कि जब मानिसले कुनै बिषय बस्तुप्रतिको भ्रम वा अन्यौलबाट मुक्त हुन्छ उ जीवन र जगतको बारेमा स्पष्ट हुन्छ ,त्यही थाहा हो ।
जब मानिसले थाहा पाउँछ, अनि मात्र चेतनायुक्त हुन्छ । चेतनशील भएपछि मानव आफ्नो मात्र हुँदैन । उ अरुको हुन्छ । अरु भन्नाले समाजमा गरिखानेहरु जो मेहनती जनता हुन् । उनिहरुको संख्या अत्याधिक छ, तिनीहरुलाई कम संख्याका बसिखानेहरु जो अरुको श्रम र पसिनाले कमाएको सम्पतिबाट आफ्नो भाग्यलाई आधार बनाएर जिउने गर्दछन , तिनिहरुको बिरुद्ध जनमत तयार गर्दै शक्तिमा ल्याउन प्रयत्नरत रहनु पर्दछ । उनको भनाइ यो थियो । उनले यसलाई थप प्रष्ट पार्न यस्तो पर्चा पनि छापेका थिए जसमा लेखिएको थियो, ‘एक थाल भात र एक अंगालो स्वास्नीसंग तेरो जीवन बित्ने भए धिक्कार छ यो जिन्दगीलाई’।
यो भनाई कम मननीय छैन । उनले यी महत्वपूर्ण दुई अक्षेरीय थाहा शब्दलाई मानिसका कपडा , घरका गारो ,भित्तामा ,पर्चा र पम्प्लेटहरुका सहारामा प्रचारप्रसार गर्दै हिँडे, हिँडाए । यसले एक हदसम्म ब्यापकता लियो । जहाँतही थाहा को गुन्ज गुन्जियो । सत्य र न्यायका प्रतिमुर्तिका रुपमा उनलाई मानियो । मनाइयो ।
थाहाका प्रणेताका रुपमा मकवानपुरबाट राष्ट्रको एकमात्र सर्जक, नेता, प्रदर्शक लगायतको पदवीले बिभुषित गरियो ।थाहाको कुरा गर्ने हामीहरु जसले आत्मसात ग¥यौ, आफुले आफै जिउमा लेखेर ,अरुलाई लेख्न लगाएर ,पर्चा पढेर ,पढ्न लगाएर उसका विरुद्ध कुरा गर्नेहरु बिरुद्ध मोर्चाबन्दी गरेर अनेकौ अनेक बिधिहरुबाट ।
ब्यक्तिगत गुणगानका बिरोधी, स्तुतिगानका बिरोधी बिष्टको आदर्शका बिरुद्ध हामी अलि बढी नै हौसियौ कि वा चेतनाको लागि समर्पित हुनु पर्नेमा कतै त्यो मर्ममा पुग्न सकिएन कि वा त्यो आदर्शको अवलम्बन हाम्रो लागि कठिन भयो कि ? थाहा छैन किन हो ?
उनको जीवनको गराई र भोगाईको अबलम्बन गर्न सकेनौ । परिणामस्वरूप उनको आदर्श केबल मुतिदर्शनमा सिमित हुन पुग्यो । सिद्धान्तनिष्ठ भै ब्यबहारिक हुनु पर्नेमा कुरा उनको, काम आआफ्नो शैली र स्वभावकै रहन पुग्यो ।
यद्यपि वर्तमानमा रुपचन्द्रको जन्मभूमी, कर्मभूमी आज उनको जीवनको अनुसन्धान र भोगाईबाट प्रतिपादित ‘थाहा’ को नामबाट नगरपालिका घोषणा हुन पुगेको छ । यो गौरवको बिषय हो । राज्यले यो भूमिको पुत्रलाई राष्ट्रको बिभुतिको मान्यता प्रदान गरि हुलाक टिकट छपाइ गरि सम्मान गरेको छ । यो अर्को मह्त्वपुर्ण पक्ष हो । यो गतिलाई सम्मान गर्नु पर्दछ ।
अब यहाँ प्रश्न उठ्दछ कि के अरुले दिएको मान र सम्मानले हामी सन्तुष्ट भएर पुग्छ वा यसले हामीहरुको जिम्बेवारी थपिएको छ ? मेरो बिचारमा यदि हामी हाम्रो भूमिपुत्र यो भुमिको अग्रज , सामाजिक द्रस्टा ,अथक परिवर्तनका मुल पात्रको सपना पूरा गर्न र उनलाई वास्तविक सम्मान गर्न चाहन्छाँै भने निश्चित रुपमा हामी र हाम्रा नेताहरुको काँधमा गम्भीर जिम्बेवारी थपिएको छ ।
अब हामीले हाम्रो थाहा नगरलाई साँच्चिकै निष्पक्ष सकृयताको अभ्यास गर्ने थलोको रुपमा यसलाई उभ्याउन सक्नुपर्दछ । उनले थालनी गरेको समानताको सिद्धान्तलाई ब्यबहारमा उतार्न सक्नु पर्दछ । आर्थिक पारदर्शिता उनको महत्वपुर्ण कार्यक्रम हो । यसलाई प्रयोगमा ल्याउन सक्नुपर्दछ ।
नारी शिक्षा उनको योजना हो । नारीलाई समान न्याय ,आर्थिक स्वतन्त्रता र सामाजिक अगुवाको रुपमा लाने बृहत् योजना बनाउनु पर्दछ । कलिलाबाट बिद्रोहकारी परिवर्तन उनको नारा हो । बालअधिकरको लागि जन्मदेखी नै उसले पाउने जन्मसिद्ध अधिकारको रक्षाका लागि योजना बनाई कार्यान्वयनको लागि प्रतिबद्ध हुन सक्नु पर्दछ ।
शारीरिक श्रम सबैले सबैको लागि गर्ने ,जिम्बेवारी फरक फरक उपभोगको अधिकार बराबरको सिद्धान्तलाई आत्मसात गर्नु पर्दछ । आयआर्जनकालागी सामुहिक श्रम,सामुहिक उत्पादन र सामुहिक लगानीको नीतिलाई कुनै स्थानबाट प्रारम्भ गर्नु पर्दछ।यी आदर्श पुरुषले अंगिकार गरेका समाज नै बदल्ने नीति र योजनाहरुलाई यो सानो लेखबाट सबै व्यक्त गर्ने भन्दा पनि विकासका लागि अरुको मुख ताकेर अरुलाई दोष दिएर आफू काम नगर्ने वर्तमान परिपाटीको अन्त गरि हामी संलग्न हुने सबै गतिबिधिहरुमा परिवर्तन आफैबाट सम्भव हुन्छ भन्ने मुल भावनाको आत्मसात गर्ने काम गर्नुपर्छ ।
अधिकारको पूर्ण खोजी गर्न ,प्राप्तिको लागि सबैले आ आफ्नो ठाउँबाट लडाँई लड्दै आफ्नो कर्तब्यको पालनामा दृढताका साथ लागि पर्ने , सास्कृतिक रुपान्तरणको लागि समर्पित रहने, अन्धविश्वास, अन्धपरम्परालाई बैज्ञानिक सोचले प्रतिस्थापन गर्दै जाने ,स्थानीय श्रोत र साधन (जल,जमिन जङ्गल जनशक्त्ती ,जलबायु) को प्रचुरमात्रामा उपयोगको नीति अवलम्बन गर्ने गर्नुपर्छ ।
त्यसैगरी जसरी उनले आफ्नो कार्यकालमा विकास घरको अवधारणा , विकासचौर, पालुङ बिकास समिति, छोरी शिक्षा निरक्षरता उन्मुलन आदि इत्यादी उदाहरणहरुलाई आत्मसाथ गर्दै अघि बढी योजना निर्माणका लागि जनताकाबीच पुगेर ‘अब के गर्ने ?’ को निति अनुरुप ‘जनताको सम्मान बिकेन्द्रीकृत प्रजातन्त्रको पहिचान’का साथ लाग्न सक्यौँ भने हामीले हाम्रो नेताप्रतिको सम्मान पुराउन सक्छाँै।
यति भनाईलाई स्मरण गरेर यहाँका राजनीतिककर्मीहरुले काम गरेमा थाहा नगरपालिकालाई मुलुककै एक नमुनाको नगरपालिका, अरुले मुलुक निर्माणका लागि सिकेर गर्ने नगरपालिका, गौरवको नगरपालिका र हामी थाहानगरबासीहरुको पौरखको नगर पालिका बनाउन सक्छौंँ । । कुनै सन्देह रहने छैन ।
0 comments
Write Down Your Responses