पुराना वाम विद्यार्थी नेता प्रभुनारायण बस्नेत भन्छन्, ‘मैले कठालो समातेर त्यसलाई सोधें, यो पार्टी तेरो बाउको बिर्ता हो ?’
वि.सं. ०४६ साल चैत्र २६ गते राति राजा वीरेन्द्रले शाही घोषणामार्फत दलहरुमाथि लागेको प्रतिबन्ध खारेज गरे । पार्टीहरु माथिको प्रतिबन्ध हटेपछि नयाँ दल खोल्ने, चलिरहेका राजनीतिक पार्टीहरुबीच एकता गर्ने, एउटा दल छाडेर अर्कोमा प्रवेश गर्ने लहर चल्यो ।
विसं. ०४७ को संविधान घोषणा नहुँदै पञ्चहरुले एउटै समयमा एकै नामका दुईटा पार्टी खोले । राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा खुलेका ती नयाँ दलका नेता सूर्यबहादुर र लोकेन्द्रबहादुर छानिए । पञ्चायतको अन्त्यसँगै मरिचमानसिंह भूमिगत भइसकेका थिए ।
राजनीतिक पार्टीहरु तीस वर्ष प्रतिबन्धित रहेका र पञ्चायतको गाउँ वडासम्म सञ्जाल फैलिएकाले जनमत पनि पञ्चायतकै पक्षमा छ कि भन्ने डर कांग्रेस, कम्युनिष्टहरुमा हुनु स्वाभाविक हो । पञ्चायतको अन्त्यपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेको र जनआन्दोलनको पनि नेतृत्व सम्हालेकाले कांग्रेसको चुरीफुरी अलि बढ्तै थियो ।
दलहरुमाथि प्रतिबन्ध लागेसँगै राजालाई साथ दिएर पञ्चायत पसेको ठूलो जमात ०४७ पछि कांग्रेसमै फर्कियो । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो स्वार्थ पूरा नहुने देखेपछि कांग्रेस प्रवेश गर्नेको जमात पनि ठूलै थियो । परशुनारायण चौधरी, भरतमणि शर्मा, बखानसिंह गुरुङ, श्रीभद्र शर्मा जस्ता पञ्चायतमा पसेर मन्त्री बनेका पुराना बूढा कांग्रेसमात्रै होइन, अर्जुननरसिंह केसी, केशरबहादुर विष्ट पनि कांग्रेस भइसकेका थिए । यसरी कांग्रेस एउटा आकर्षणको केन्द्र र ठूलो शक्तिकेन्द्र बन्न थाल्यो ।
कांग्रेसको मुख्य प्रतिस्पर्धी शक्ति वाममोर्चा विघटन भइसकेको थियो । नेताहरुको अभाव भए पनि वामपन्थी दलहरुमा सबैभन्दा ठूलो शक्ति नेकपा (माले) को थियो । जनतामा शून्य प्रभाव र कार्यकर्ता्विहीन भए पनि मनमोहन, सहाना, सिद्धिलाल, केशरमणिहरुको मार्क्र्सवादीको प्रचार राम्रै थियो ।
वाममोर्चाको अध्यक्ष तथा पुष्पलालकी पत्नी भएकीले सहाना र पुरानो नेता भएकाले मनमोहनको अन्तर्रा्ष्ट्रिय छवि थियो । मालेले मनमोहनलाई लिएर चुनावमा जाने सोचाइ बनायो र मार्क्र्सवादीसँग पार्टी एकीकरण गरी एमाले बन्यो ।
यसरी कांग्रेस र एमाले ठूला प्रतिस्पर्धी शक्ति भएपछि ०४६ सालको आन्दोलनको सहयात्री दल नेकपा (चौम) र कांग्रेस वाममोर्चाको आन्दोलनलाई विरोध गरेर छुट्टै संयन्त्र बनाएर हिँडेका दुई मशाल, रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनबीच पनि एकता वार्ता चल्न थाल्यो ।
मोहनविक्रमको मसालले एकता प्रक्रियामा सहभागी हुन अस्वीकार र्गयो । चौम, मोहन वैद्यको मोटो मशाल र श्रमिक संगठन मिलेर नेकपा एकता केन्द्र निर्माण भयो । त्यसैमा पछि मोहनविक्रमबाट चोइटिएर बाबुराम भट्टराईहरु पसे । पञ्चायतको अन्त्यसँगै अलपत्र परेका रुपचन्द्र विष्टका जनमुखी कार्यकर्ताहरु पनि थपिए ।
यसरी निर्माण भएको एकता केन्द्र गठनमा देवप्रकाश त्रिपाठी, तोयनाथ थपलिया र म स्वयंजस्ता युवा नेताहरुको बढ्तै जोडबल थियो ।
तर, पार्टी एकताका लागि हतारिने हामीमा अनुभवको कमी थियो । उमेरजन्य कारणले जोश, जाँगर र सक्रियता प्रचुर भए पनि दूरदर्शिता, परिपक्वताको कमी थियो । पञ्चायती चुनावलाई नै क्रान्तिको पक्षमा उपयोग गर्नुपर्छ भन्ने मत राख्ने चौम र पञ्चायती चुनाव त के, कुनै पनि संघ(संस्थाको चुनावलाई सदा वहिष्कार गर्नुपर्छ भन्ने वहिस्कारवादी मशालबीचको एकता सम्भव भए पनि एकतापछि पार्टी सहजरुपले चल्न सकेन ।
एकताकेन्द्र बन्दा चौमबाट अध्यक्ष र मशालबाट महामन्त्री परेका भए पनि नेतृत्व क्षमता र व्यक्तित्वका कारण निर्मल लामा नै सबैभन्दा प्रभावशाली नेता मानिन्थे ।
लामो संघर्षपछि आएको अवसर भएकाले आम चुनावमा भाग लिनुपर्छ भन्ने लामालाई मशाल पक्ष र तिनका उग्र कार्यकर्ताले दक्षिणपन्थी भनेर खेद्ने गर्थे ।दुर्भाग्यवश निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बेलामा बिरामी परेर लामा लामै समय अस्पताल बसे । त्यसताका मशाल पक्ष, बहुमतमा रहेको पार्टी (एकताकेन्द्र) ले चुनाव बहिष्कार गर्ने र पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने निर्णय र्गयो ।
त्यतिबेला महत्वाकांक्षी स्वभावका बाबुराम भट्टराई मोहनविक्रमका कार्यकर्ता थिए । लामाले उनलाई अस्पतालमै बोलाएर मसाल, एकता केन्द्र, नारायणमान बिजुक्छेको नेमकिपा र कृष्णदास श्रेष्ठको मालेमाका प्रतिनिधि राखेर एउटा मोर्चा गठन गर्न लगाई जनमोर्चाको नाममा निर्वाचन आयोगमा दर्ता गर्न लगाए ।
पछि लामाकै जोडबलमा एकता केन्द्रले जनमोर्चाको नाममा चुनाव लड्यो । अरु पार्टीले आफ्ना प्रतिनिधि फिर्ता गरिदिएर जनमोर्चालाई एकता केन्द्रको चुनावी मोर्चा बनाउन सहयोग गरे ।
जनआन्दोलनको भूमिकाका कारण ०४८ को आम निर्वाचनमा मैले पनि टिकट पाउने सम्भावना थियो । कांग्रेसले बालकृष्ण खाँड र एमालेले तुलबहादुर गुरुङलाई टिकट दियो । तर, पार्टी एकतापछि निर्मित संरचना मेरो अनुकूल थिएन । उग्र कुरा गर्ने मशालहरुको पार्टीमा दबदबा थियो । त्यस्तो अवस्थामा टिकट पाउने सम्भावना नै हुँदैनथ्यो र म स्वयं पनि टिकटको आकांक्षी थिइँन ।
हामी त्यतिबेला चुनाव लड्ने, सांसद, मन्त्री बन्ने कुरालाई सकारात्मक ठान्दैनथ्यौँ । क्रान्ति, परिवर्तन, मुक्ति नै हाम्रो एकमात्र ध्येय थियो । त्यसैले टिकट नपाउँदा खिन्नता वा निराशा हुने कुरा पनि भएन ।अचम्मलाग्दो कुरा त के भने निर्वाचनमा सहभागी हुनुलाई दक्षिणपन्थी भनेर तीव्ररुपमा विरोध गर्नेहरु नै टिकटका लागि हत्ते हाल्न थाले । बाबुराम भट्टराई पक्ष, मोहन वैद्य, प्रचण्ड पक्ष, लामा पक्ष, रुपलाल पक्ष भनेर पार्टी्भित्र टिकट पाउने कुरामा पनि विभेद हुन थाल्यो ।
एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा र्पुयाए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे ।लामा पक्ष क्षमता, त्याग, निष्ठा र इमान्दारिताको हिसाबले अब्बल भए पनि टिकटका लागि मरिमेट्ने खालको थिएन । त्यति हुँदाहुँदै पनि ०४८ सालको चुनावमा लीलामणि पोख्रेलसहित ९ जना जनमोर्चाका नेताले जिते । यसमा ६ जना लामा पक्षकै थिए ।
एक वाम एक ठाम भनेर चुनावमा उम्मेदवारी दिने बेलामा पनि एमाले, एकता केन्द्र, नेमकिपा, मानन्धर, बर्मा, अमात्य समूहबीच अनेक चरण वार्ता भए । अन्त्यमा एमाले र एकताकेन्द्रबीच समझदारी पनि भयो । परिणामस्वरुप ०४८ को निर्वाचनमा एमालेपछि जनमोर्चामार्फत एकता केन्द्र नै ठूलो वाम दल बन्न सफल भयो ।
त्यस घटनापछि रुसी धुरीका कम्युनिष्टहरु मानन्धर, वर्मा र अमात्यबीच पनि एकीकरण भयो । तर, त्यो एकता लामो समय टिकेन ।आम निर्वाचनमा अत्यन्त व्यस्त रहेर भर्खर अवकाशको समय निस्केको थियो । एक दिन एकजना पूर्व चौम पक्षकै साथीले युवा बुलेटिन नामको एउटा पत्रिका थमाए ।
उनले महामन्त्री प्रचण्डको अन्तर्वार्ता पढ्न र तपाईंको कलम चल्ने भएकाले केही लेख्न सुझाए । साप्ताहिक पत्रिकाको साइजमा बत्तीस पृष्ठको अन्तर्वार्ता पहिले त मलाई पढ्नै अत्यास लाग्यो । मुस्किलले पढिसकेपछि म आफैं छाँगाबाट खसेँझै भएँ ।
दक्षिण अमेरिकी मुलुक पेरुमा चलिरहेको दीर्घकालीन युद्ध र तिनका नेता गोञ्जालोको अन्तर्रा्ष्ट्रिय प्रचारबाट लोभिएका महामन्त्री प्रचण्ड त्यस्तै प्रचार चाहन्थे । तर, उनी सुस्पष्ट दृष्टिकोण, प्रष्ट सैद्धान्तिक अडान भएका नेता थिएनन् ।
प्रचण्डले अन्तर्वार्ताभरि अनेक अन्टसन्ट कुरा गरेका रहेछन् । मशाल युवा संघको मुखपत्र युवा बुलेटिन नामको उक्त पत्रिकाका सम्पादक शशिकुमार श्रेष्ठ यसअघि रवीन्द्र श्रेष्ठ भनेर मन्त्री भएका प्रभाकर प्रधानाङ्ग थिए ।
अन्तर्वार्तामा प्रचण्डले अनेक अन्टसन्ट कुरा गरे पनि मूलरुपमा उनले नौलो जनवादबारे दिएको उत्तरमै केन्द्रित रहेर मैले उषा साप्ताहिक भन्ने पत्रिकाको दुई अंक प्रचण्डको आलोचनात्मक टिप्पणी प्रकाशित गराएँ ।
‘तपाईहरु नौलो जनवादी क्रान्ति भन्नुहुन्छ, नौलो जनवाद भनेको चाहिँ के हो’ भन्ने प्रश्नमा प्रचण्डले दृढताका साथ नौलो जनवाद भनेको माओको गुरिल्ला ‘वारफेयर’ हो भनेका रहेछन् । माओको नौलो जनवादबारे पढेका, ज्ञान राख्ने र सुनेका हामीलाई त्यो पाच्य भएन ।
मैले महामन्त्री प्रचण्डविरुद्ध त्यसरी लेखेपछि ठूलो हंगामा भयो । कतिले प्रचण्डलाई समर्थन गर्ने साप्ताहिक पत्रिकामा मेराविरुद्ध निम्नस्तरमा उत्रिएर गालीगलौज गरे । यहाँसम्म कि एउटा पत्रिकामा प्रचण्डको आलोचना गरेबापत मलाई ‘जल्लाद’ भनेर समेत लेखियो ।
आन्दोलनमा मेरो सक्रियता र संगठनमा समर्पित भएर लाग्ने स्वभावले म त्यतिबेला संगठनभित्र निकै लोकप्रिय थिएँ । पार्टी्भित्रै मेरो लोकप्रियताप्रति डाहा गर्नेको कमी थिएन । म त्यसबेला पार्टीको ललितपुर जिल्ला सदस्य थिएँ । देवेन्द्रलाल श्रेष्ठ (काइँलाबा) अध्यक्ष र शशिकुमार सचिव थिए । ललितपुरमा चाहिँ पुरानो चौमको वर्चश्व थियो ।
यस्तो अवस्थामा पनि चौम पक्षहरुले नै मलाई पार्टीबाट निकाल्ने षड्यन्त्र रचे । पत्रिकामा लेख प्रकाशित भएकै राति चण्डेश्वर श्रेष्ठ नाम गरेका एकजना जिल्ला सदस्यले प्रचण्डलाई फोन गरेर ममाथि कारबाही गर्न माग गरेछन् । प्रचण्डलाई ‘के खोज्छस् काना आँखो’ भयो । आलोचना पटक्कै मन नपराउने स्वभावका प्रचण्डले तपाईंहरु जिल्लाले कारबाही गरेर पठाउनुस्, हामी केन्द्रले त्यसलाई अनुमोदन गरिदिउँला भनेछन् । मेरो सक्रियताले अस्तित्व नै गुम्न थालेको महसुस गर्ने दिलबहादुर श्रेष्ठ र चण्डेश्वरहरुले अब कारबाहीको तानाबाना बुन्न थाले ।
जिल्ला समिति बैठक बोलाइयो, तीन दिनसम्म त्यही विषयमा छलफल भयो । बैठकमा मलाई आत्मालोचना गर्न भनियो, मैले त्यसलाई स्वीकार गरिनँ । मैले लेखेको ठीक छ, बरु महामन्त्री प्रचण्डले अध्ययनलाई बढाएर क्रान्ति, नौलो जनवाद जस्ता विषयमा प्रष्ट हुनुपर्छ भन्ने मेरो अडान थियो ।
मैले आत्मालोचना नगरेपछि बैठकले मेरो आलोचना गर्ने निर्णय र्गयो । त्यसलाई मैले स्वीकारेँ । त्यो दिन बैठक अन्त्य भयो, माइन्युट भएको थिएन । भोलिपल्ट सबै भेला हुने र माइन्युटमा हस्ताक्षर गर्ने भन्ने सहमति भयो र हामी सबै छुट्टयिौं ।
तर, भोलिपल्ट त सचिव शशिकुमारले हिजोको निर्णय उल्ट्याएर प्रभुनारायण बस्नेत (जगदीश पार्टी नाम) लाई सदस्यताबाटै हटाउनुपर्छ भन्ने नयाँ प्रस्ताव ल्याए । रातभरिमा अर्कै खिचडी पाकिसकेछ । दिलबहादुर, चण्डेश्वर, प्रचण्ड मण्डलीले कारबाही नै गर्नुपर्छ भन्ने टुंगो गरेछन् । कारबाही गर्ने कुराले हैन, निर्णय उल्ट्याएकोमा मलाई अस्वाभाविकरुपमा आक्रोश बढ्यो । मैले शशिकुमारको कठालो समातेर यो पार्टी तेरो बाउको बिर्ता हो ? भनेँ । मैले त्यति गर्नै बित्तिकै चण्डेश्वरहरु आएर छुट्याए । म बैठक कक्षबाट बाहिरिएँ ।
उनीहरुले मलाई महामन्त्री प्रचण्डविरुद्ध पत्रिकामा लेखेबापत ६ महिना पार्टी सदस्यबाट निलम्बित गर्ने निर्णय गरेछन् । पत्र मलाई पठाए ।
यसै मेसोमा एक दिन निर्मल लामाले मलाई प्रचण्डसँग कुरा गर्न पाटनढोकाको एउटा डबलीमा र्पुयाए । कुराकै सिलसिलामा प्रचण्डले ‘साथीहरुले त सफाया गरिदिउँ भनेका थिए, मैले पर्दैन भनेँ’ भन्ने कुरा गरे । त्यतिबेला त मैले त्यो कुरालाई प्रचण्डले धम्क्याउन खोजेको भनेर हल्कारुपमै लिएँ । तर, कालक्रममा जनयुद्ध नामको आतंकमा माओवादी सामेल भएपछि घटाएका घटनाले भने त्यो कुरो सम्झेर मलाई धन्न बाँचिएछ भन्ने लाग्यो ।
जे भए पनि मैले त्यो कारबाहीलाई अस्वीकार गरी पार्टी नै छाडिदिएँ । यसरी आफैंले अनेक दुःख गरेर गरेको एकताले मेरो राजनीतिक जीवनको अन्त्य गराइदियो ।
अनलाइन खबरबाट
प्रभुनारायण बस्नेत
0 comments
Write Down Your Responses