अनलाइन पत्रिका सञ्चालकले बुझ्नैपर्ने भ्याट र प्राविधिक पाटोका कुरा
सुरज प्याकुरेल |
पेसाले म त्यति धेरै अनुभवी होइन पत्रकारितामा । फगत आधा दशकको अनुभवसँगै केहि सिक्ने प्रयास गरिरहेको छु । पत्रकारिताका बारेमा मैले लेख्नु वा बोल्नु पनि त्यति उचित नहुन सक्छ । मेरो लेखाइमा पत्रकारिताको त्यो सतह पनि नआउन सक्छ। तर ‘कान्छो’ पत्रकारिताका रुपमा लिइएको अनलाइन पत्रकारिताका बारेमा कतिपय प्राविधिक कुराहरु भने पत्रकारले वा अनलाइनका सञ्चालकहरुले जान्न जरुरी छ ।
व्यवसायकै रुपमा अगाडी बढेको अनलाइन पत्रकारिता आजको दिनसम्म आइपुग्दा पनि आवश्यक रुपमा बिकसित भएको छैन । अनलाइन पत्रकारिताको बिकास भएको थोरै मात्र समय भएकाले पनि यो ‘कान्छो’ पत्रकारिता अझै बामे नै सर्दैछ भन्दा अतियुक्ति नहोला । हुन त पत्रकारको काम लेख्नु हो, विश्लेषण गर्नु हो, समाजको प्रतिविम्ब हुनु हो । तर यससँगै कतिपय प्राविधिक कुराहरु पनि अनलाइन सञ्चालकले बुझ्न जरुरी छ ।
भ्याटका कुरा: अनलाइन पत्रिका प्रेस काउन्सिलमा सूचीकरणका लागि दर्ता गर्दा अनिवार्य रुपमा अनलाइन पत्रिका संचालन गर्ने कम्पनी मूल्य अविवृद्धि कर अर्थात भ्याटमा अनिवार्य दर्ता हुनुपर्छ । तर भ्याटको सामान्य जानकारी समेत नहुँदा कतिपय ससाना कुराहरुका लागि पनि अरुकै भर पर्नुपर्ने वाध्यता छ अनलाइन सञ्चालकहरुसँग ।
कतिपय अवस्थामा यस्तो पनि भएको छ कि भ्याटमा दर्ता गर्न नै ‘दलाल’ को साथ लिएर पैसा खर्च गरेका छन् कतिपय सञ्चालकहरुले जवकी भ्याट दर्ता गर्न कुनै पनि शुल्क लाग्दैन । विभिन्न अवधिमा बुझाउनु पर्ने भ्याट विवरणको सामान्य तरिका नबुझ्दा पनि अनलाइन सञ्चालकहरु अरुकै भरमा पर्नुपर्ने वाध्यता छ । अनलाइन पत्रिका सञ्चालन गर्ने कम्पनी भ्याटमा दर्ता भएपछि राख्नु पर्ने खाता, भ्याटको विवरण बुझाउने मिति, नबुझाउँदा लाग्ने जरिवाना लगायत विभिन्न विषयको ज्ञान नहुँदा सञ्चालकहरु ठुलै जरिवानाको सिकार पनि हुनु परेको छ । अनलाइन पत्रिका सञ्चालक कम्पनी भ्याटमा दर्ता भएपछि निम्न कुरा जान्ने पर्ने हुन्छ ।
भ्याटमा दर्ता भएपछि भएको कम्पनीले व्यापार, लेखा, नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख, आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू, आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरू, आफूले गरेको आयात र निर्यातसंग सम्बन्धित सम्पूर्ण कागजातहरू, आफूले खरीद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने सम्पूर्ण डेविट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरू र अनुसूची–७, अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरीद बिक्री तथा मू.अ.कर लेखा खाताहरू अनिवार्य रुपमा राख्नु पर्दछ ।
अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरीद तथा बिक्री खाताहरू कर अधिकृतको दस्तखत गराई प्रमाणित नगराई अनलाइन सञ्चालकहरुले कुनै पनि आर्थिक कारोबार गर्न पाउ दैनन् ।
आर्थिक वर्ष समाप्त भएको मितिले २५ दिन भित्र अर्थात साउन २ ५ गते भित्र खाता प्रमाणिकरण गरिसक्नु पर्नेछ । तर चौमासिक कर विवरण बुझाउने सुविधा पाएका करदाताहरूले मंसिर २५ गते भित्र खाता प्रमाणीकरण गर्न पाउँछन् । नियम अनुसार यस्तो खाता प्रमाणिकरण गरेको ६ वर्षसम्म सुरक्षित राख्नु पर्छ । खाता प्रमाणिकरण नगरी कारोबार गरेमा १० हजार रुपैयाँ जरिवाना लाग्छ। कुनै पनि बिल काट्ने बित्तिकै सोको विवरण उक्त खातामा चढाइहाल्नु पर्छ । त्यस्तो नगरेको पाइएमा कर अधिकृतले १० हजार सम्म जरिवाना लगाउँछन् । कतिपय अनलाइन सञ्चालकले बिज्ञापन बापतको रकम लिन सामान्य वा खेस्रा बिल प्रयोग गर्ने गर्दछन् जुन सरासर नियम बिपरित हो । भ्याटमा दर्ता भएका कम्पनीले अनलाइन पत्रिका संचालन गर्नेहुँदा अनिवार्य रुपमा भ्याट बिलको प्रयोग गर्नुपर्छ । कतिपय अनलाइनमा लेखा समेत राखिएको हुँदैन । विशेषगरी लगानीकर्ताले विदेशबाट पैसा पठाउने अनलाइनहरुमा यो समस्या छ । नियम अनुसार तलवमा काट्नु पर्ने टिडिएस समेत नाकाटी तलव खुवाउने प्रचलन पनि कतिपय अनलाइन सञ्चालक कम्पनीहरुमा छ, जो गलत छ । सहि रुपमा लेखा नराख्नाले आगामी दिनमा विभिन्न खाले समस्या आउन सक्छ ।
प्राविधिक पाटोका कुरा : नेपाली पत्रकारिता क्षेत्रमा प्राविधिक पक्षको राम्रो ज्ञान भएका मानिसहरु कम छन् । त्यसैले पनि पत्रकारितामा खारिएका कतिपय पत्रकारहरु पनि अनलाइनमा सकेका छैनन्। अनालाइन पत्रिका सञ्चालकहरुले आफ्नो अनलाइन पत्रिका कस्तो सर्भरमा होष्ट भएको छ भन्ने बुझ्नुपर्छ। यस्तो कुरा समयमै नबुझ्दा आफ्ना कतिपय सामाग्रीहरु कहिले पनि नभेटिन गरी हराएका उदाहरणहरु हामीसँग छन् । सस्तो भन्दैमा नराम्रो हो भन्ने भ्रम एकातर्फ छ भने सस्तो खोजेरै डुब्नेहरुको जमात पनि उस्तै छ ।
यसोत अनलाइन पत्रिकाका लागि निशुल्क र विश्वसनीय सर्भर पनि पाइन्छ जसको ज्ञान नहुँदा सानो लगानीमा अनलाइन सञ्चालन गर्नेहरु मारमा परेका छन् । अनलाइन सञ्चालक वा पत्रकारले नै पनि कतिपय प्राविधिक कुराहरुको ज्ञान लिन जरुरी छ । अहिले विशेषगरी नेपाली अनलाइनहरुमा चलेको ’ब्याकेण्ड’ भनेको ’वर्डप्रेस’ हो । तर वर्डप्रेस भन्दैमा सबै उस्तै हुन् भन्ने भ्रम छ ।
कस्तो सर्भरमा आफ्ना डाटाहरु होष्ट भएका छन् भन्ने तथ्य नबुझी यसरी पछि लाग्दा पनि सञ्चालकहरु डुब्न सक्छन्। वर्डप्रेस बाहेक जुम्ला, ब्लगर जस्ता प्राविधिक बिषयमा पनि ज्ञान लिनु राम्रो हुन्छ । साइबर सेक्युरिटी अनलाइन पत्रिकाको अर्को समस्या हो । यसबारे पनि सञ्चालकले ध्यान दिनुपर्छ ।
(प्याकुरेल सिए सरोकार डटकमका प्रधान सम्पादक हुन् । )
0 comments
Write Down Your Responses