टिष्टुङ पालुङका उर्बर फाँटमा किन हरायो गहुँ खेती ?
बज्रबाराही(मकवानपुर) १९ कात्तिक । टिस्टुङ–पालुङ र चित्लाङका उर्वर फाँटहरुमा परम्परागत गहुँखेती विस्थापित हुँदैगएको छ । यस क्षेत्रमा व्यवसायिक तरकारी खेती भित्रिएपछि आलु र काउलीखेतीले गहुँखेतीलाई विस्थापन गरेको हो ।
धान काटेर खाली रहेका खेतका गराहरुमा आलु र काउलीखेती लगाउँदा मनग्गे आम्दानी हुन थालेपछि कृषकहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएको बताउँछन् ।
विगत वर्षहरुमा यतिबेला गहुँ छर्नका लागि यहाँ खेत जोत्न सुरु गरिन्थ्यो । तर यस वर्ष चित्लाङका केही जग्गामाबाहेक अन्य स्थानमा गहुँ छर्ने तयारी गरिएको छैन । गहुँबालीले जग्गा मात्र ओगट्ने र तरकारी बालीभन्दा धेरै कम आम्दानी हुने भएपछि विगत ५ वर्षदेखि नै गहुँ छर्न छोडेको बज्रवाराही, कुन्छालका कृषक सानुकाजी गोपाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, अबको जमानामा बाबुबाजेले जस्तो परम्परागत हिसाबले खेती गरेर समय र मेहनत खेर फाल्नु हुँदैन ।
विगतमा गहुँ छर्ने जग्गाहरुमा अहिले खनजोतको तयारी हुँदैछ । तर किसानको तयारी गहुँ छर्नका लागि नभई आलु र काउली रोप्न माटो बनाउने तयारी हो । अहिले छरेको गहुँ किसानले जेठको मध्यतिर भित्र्याउने गर्दथे ।
एकपटक सिँचाइको प्रवन्ध गर्नुबाहेक गहुँखेतीलाई अन्य मेहनत गर्नुपर्दैनथ्यो । कात्तिकमा छरेपछि काट्न मात्र एकैचोटी जेठमा खेतमा जाँदा हुने सजिलो खालको बालीको रुपमा गहुँलाई चिनिन्छ ।
जग्गा बाँझो राख्न नहुने मान्यताले गर्दा मात्र धान काटिसकेपछिको खाली खेतमा गहुँ छर्ने प्रचलन रहेको बज्रबाराही, शिखरखेलका अर्का कृषक बैकुण्ठ बिडारी बताउनुहुन्छ । अबका किसानले परम्परागत सोचमा परिवर्तन ल्याएकाले थोरै समयमा बढी नाफा हुने बाली खोजीखोजी लगाउन थालेको उहाँको विचार छ ।
यहाँका किसानले आप्mनो खेतमा उत्पादित आलु र काउली बेचेर वार्षिक लाखौं रुपैयाँ हात पार्ने गरेका छन् । स्थानीय व्यापारी हाताहाती नगद बोकेर घरघरमै आलुकाउली किन्न आउने भएपछि किसान पनि दंग छन् ।
0 comments
Write Down Your Responses