कसरी भएको थियो रुपचन्द्र विष्टको विवाह ?
‘थाहा’ आन्दोलनका अभियन्ता रूपचन्द्र विष्टको स्वभाव, व्यक्तित्वबारे फरक–फरक विश्लेषण छन् । उनी आम मान्छेभन्दा निकै फरक थिए भन्छन्, चिनेजानेकाहरू । ‘थाहा’ आन्दोलनमा लाग्नुअघि उनी मकवानपुरको शैक्षिक र कृषि उन्नतिमा सक्रिय थिए । केही समय मास्टरीसमेत गरेका उनको प्रेम, बिहे र वैवाहिक सम्बन्धको पाटो पनि रोचक र भिन्न भेटिन्छ । रुपचन्द्रका विद्यार्थी अर्जुनबहादुर विष्टसँग कुराकानी र विभिन्न स्रोतबाट प्राप्त ‘डकुमेन्ट’का आधारमा तयार पारेको सामग्रीः
चुरोटको खोलमा बिहेको निम्तो
विवाह निमन्त्रणा
यही पुस १५ गते पालुङ–मकवानपुरको घट्टेचौरमा दिनको १ बजे हुने हाम्रो विवाह सभामा हाम्रा सबै प्रकारका आफन्तहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ । रूपचन्द्र विष्ट–उमा शाह ।
त्यतिवेला म नौ कक्षामा पढ्थेँ, मकवानपुरको पालुङस्थित सेती–गणेश निमाविमा । ०२६ सालको कुरा हो । रूपचन्द्र विष्ट अंग्रेजी शिक्षक थिए । एउटै खलकभित्रका दाजुभाइ हौँ हामी । मेरै घरपछाडि उनको घर भएकाले मलाई रूपचन्द्रबारे अझ धेरै जानकारी हुन्थ्यो ।
एक दिन रूपचन्द्र दाइको घरमा एउटी नौली केटीको प्रवेश भयो । तिनी को थिइन्, गाउँलेलाई थाहा थिएन । पत्तो थिएन, हामीलाई पनि । त्यस घरमा धेरै दिन तिनको बास भएपछि छिमेकतिर गाइँगुइँ चल्न थालिसकेको थियो । दिनभर तिनी घरतिरै रुमलिन्थिन्, रूपचन्द्र पढाउन स्कुल जान्थे । मलाई सम्झना छ– रूपचन्द्र दाइले एक दिन उनकै घरमा बोलाएको । अरू विश्वासिला युवालाई पनि बोलाएका थिए । हामीलाई फालिएका चुरोटका खोल जम्मा गर्न निर्देशन दिए ।
त्यतिखेर याक चुरोटको चल्ती थियो । आफूसँग रहेका चुरोटका खोल पनि हामीलाई दिए, धेरै नै जम्मा गरेका रहेछन् । चुरोटका खोलहरू जम्मा गरेपछि हामीलाई अर्को काम लगाए, बिहेको निमन्त्रणा उतार्नुपर्ने काम । व्यहोरा उनैले लेखेर दिए । रूपचन्द्रकै घरको कोठामा रातभर बसेर चुरोटका खोलमा बिहेका निमन्त्रणा उतार्र्याँै । उनको घरमा केहि समयदेखि रहेकी नौली केटी हुनेवाला बेहुली रहिछिन् भन्ने कुरा त्यही रात थाहा पायौँ । किनभने, बिहेको निमन्त्रणामा रूपचन्द्र विष्ट र उमा शाहको नाम थियो । भोलिपल्टै पालुङका घर–घरमा कार्ड बाँडियो ।
रूपचन्द्रका बुबा पदमबहादुर विष्ट आर्मीका मेजर थिए । उनी गाउँमा ठूलाबडा गनिन्थे, सबैले मानमनितो पनि गर्थे । पदमबहादुर मेजरको छोराको बिहे भनेपछि सबैले कान ठाडा पारे । धेरै त यसकारण पनि अचम्मित भए कि निम्तो गर्ने तरिकै अनौठो थियो, चुरोटको खोलमा । अझ, कसैले नरोज्ने १५ पुसमा बिहेको मिति तोकिएको थियो, ठूलो चौरमा बिहे आयोजना गरिएको थियो । हुनेवाला बेहुली दुई महिनादेखि घरमै भित्र्याएर राखेको पनि दुनियाँले थाहा पाइसकेका थिए । गाउँमा अनेक हल्ला चले । जे होस्, मेजरले सबैलाई भोज खुवाएर चमत्कारसँग छोराको बिहे गर्ने भए भन्ने धेरैलाई लाग्यो ।
१५ गते घट्टेचौरमा बिहेको तयारी हुँदै थियो, निम्तालुहरू जम्मा हुँदै थिए । क्षणभरमै घट्टेचौर भरियो । मध्यपुसको जाडो, त्यसमाथि पालुङको सिरेटो, ज्याकेट लगाएका मान्छे पनि लुग–लुग काँपिरहेका थिए । बिहेको औपचारिक सुरुवात भएपछि रूपचन्द्रले लामो भाषण गरे । मञ्चमै रहेकी उमा शाहतिर हेर्दै उनले सुनाए, ‘भर्खरसम्म यिनी उमा शाह थिइन्, अबबाट उमा विष्ट भइन् ।’ उमाले पनि थपिन्, ‘म अहिलेसम्म उमा शाह थिएँ, अब उमा विष्ट भएँ ।’
जब रूपचन्द्रले बिहे खर्चका लागि छुट्याएको १० हजार रुपैयाँबराबरको पुस्तक नवजागृति पुस्तकालयलाई हस्तान्तरण गर्दै बिहे सकिएको घोषणा गरे, तब उपस्थित कैयौँले मरेस् भन्दै धारे हात लगाउन थालिहाले । के–के न खान भनेर चिसोमा कठ्यांग्रिँदै बसेकाहरू रूपचन्द्रलाई सराप्दै घर फर्किए । मलाई याद भएसम्म बिहेमा रूपचन्द्रका बुबा पनि उपस्थित थिएनन्, अन्य सदस्यको त कुरै छाडौँ । सायद, बिहेको तरिका ठीक लागेन । मलगायत काकाबाउ खलकका केही सदस्य भने पुगेका थियौँ । बिहेलगत्तै रूपचन्द्र उमालाई लिएर शिखरकोटको गोपाली गाउँमा बस्न थाले, डेरामा ।
केही दिनमै उमा पनि हाम्रै स्कुलमा भर्ना भइन्, नौ कक्षामै । स्कुल आउन थालेको केही महिनामै उनको पेट बढेको देखिन्थ्यो । केहीपछि उनी गर्भवती भएको सबैलाई थाहा भयो । नौ कक्षापछि उमा काठमाडौं आइन्, रूपचन्द्रचाहिँ गाउँमै थिए । केही महिनापछि काठमाडौंमा उमाले छोरी जन्माएको खबर गाउँमा पुग्यो । तर, छोरीको न्वारनमा रूपचन्द्र काठमाडौं आएनन् । एउटा चिठी पठाएर उमालाई बधाई दिए अरे भन्नेचाहिँ चर्चा चल्यो गाउँमा । उमा र रूपचन्द्रको सम्बन्ध खासै राम्रो छैन भन्ने कुरा उनकै घरपरिवारभित्रैबाट सुनिन्थ्यो । तर, छोरी जन्मिएको दुई वर्षपछि रूपचन्द्र र उमाले अर्को छोरालाई पनि जन्म दिएको भने मलाई थाहा छ ।
उमालाई रूपचन्द्रको चिठी
उमाले काठमाडौंमा छोरी जन्माइन् । छोरी जन्मिएको खबर रूपचन्द्रको कानमा पुग्यो । तर, छोरीको न्वारनमा उपस्थित भएनन् उनी । उमाको नाममा रूपचन्द्रले पालुङबाटै एउटा चिठी भने पठाए । छोरीको नाम ‘सामना’ राख्ने इच्छा रहेको कुरा चिठीमा समेट्दै साथमा एक सय रुपैयाँ पनि पठाए ।
यस्तो थियो उनको चिठी
उमा, बधाई निर्विघ्न आमा हुन सफल भएकी तपाईंलाई, बधाई । मानिस नाताबाट प्रेमी नातामा टेक्दै दाम्पत्य–डाँडाका केही पाइलाभित्रै हामी दुई, दुईतिरका फेदीमा पुग्यौँ केवल मानिसस्तरको सम्बन्ध रह्यो अहिले नयाँ सम्बन्धले जोडिएछौँ । तपाईं मेरी छोरीकी आमा जरुरत त अनेक होलान् तर, साथमा रू १०० पठाएको छु सामना नाम राख्ने मेरो विचार छ साथमा बच्ची राख्न बेअनुकूल हुनासाथ खबर‘ रूप ।
रूपचन्द्रसँग उमाको प्रेम
रूपचन्द्र र उमाको वैवाहिक जीवन लामो समय सुखद रहेन, लामो थिएन बिहेअघिको प्रेम अवधि पनि । बिहेको दुई सातापछि उमाले उतारेको डायरी पल्टाउँदा यसको पुष्टि हुन्छ । ०२६ पुस २९ गते उमाले लेखेको डायरीको सुरुवाती पानामा रूपचन्द्रसँगका प्रेमप्रसंग छन् । उमाको डायरीअनुसार रूपचन्द्र काठमाडौं पढ्न बस्दादेखि नै उनको परिवारसँग चिनजान थियो । उनको भने जम्मा ६र८ महिनाअघि मात्र चिनजान भएको थियो । काठमाडौंमा नौ कक्षामा पढ्दै गरेकी उमा एउटा राम्रो शिक्षकसँग अंग्रेजीको ‘ट्युसन’ पढ्न चाहन्थिन् । उमाको ‘ट्युसन’का लागि त्यस्तो व्यक्ति जुरे रूपचन्द्र, जसको अंग्रेजीमा राम्रो दखल थियो ।
उमाले लेखेकी छिन्
म उहाँसँग बार–बार पढ्न जान्थेँ । उहाँले मलाई धेरै राम्रोसँग सिकाइदिनुहुन्थ्यो । एक दिन उहाँले मलाई एउटा यस्तो प्रश्न सोध्नुभयो, जुन उहाँको विषय थियो, मसँग दाम्पत्य सम्बन्ध जोड्न चाहनुहुन्थ्यो । यस विषयमा उहाँसँग मैले केही दिन विचार गर्ने फुर्सद मागेँ । फेरि केही दिनपछि हाम्रो भेट भयो । मैले यो विचार गरेर लगेकी थिएँ कि हाम्रो एकरदुई वर्षपछि मात्र यो काम पूरा होला । तर, उहाँले मेरो विचारलाई स्वीकार गर्न चाहनुभएन । एकरदुई वर्षपछिको कुरा के हुन्छ, के हुन्छ रु सके हाम्रो फेरि भेट हुने कुरा असम्भव हुन्छ कि ? के जानिसक्नु छ ? भन्नुभयो । उहाँको कुराले मलाई पनि असर पर्यो । र, हामी दुवैले यही सल्लाह गर्यौँ कि चाँडै नै काठमाडौंबाट पालुङ उत्रिने कोसिस गरौँ । भोलिपल्टै हामी हिँड्यौँ, कुनै ठाउँमा सुरक्षित रहेको खबर घरमा दियौँ । काठमाडौंबाट निस्केको ८–१० दिनमा पालुङ उत्रियौँ । पुस १५ गते घट्टेचौरमा विवाह भयो ।
प्रवीण देवकोटा, नयाँ पत्रिका
0 comments
Write Down Your Responses