किन कम भएन लैङ्गिक विभेद ?
ममता न्यौपाने |
आज अधिकांश समाज पितृसत्तात्मक ढाँचाबाट संचालित छन् । जसले गर्दा परिवारमा उत्तराधिकारीको चयन गर्दा पनि पुरुषवाद हावी छ । जसमा वंश परम्पराको हस्तान्तरण पनि पुरुषद्धारा पुरुषलाई नै हुन्छ ।
लोग्ने वा पुरुषको जुन थर महिलाहरुले पनि जवर्जस्त त्यही झुण्याउनुपर्ने वाध्यता छ । त्यस्तै उत्पादन व्यवस्थामा महिला शब्दलाई पुरुषको विकल्पका रुपमा नहेरि पुरुषको सहयोगीका रुपमा मात्र परिभाषा गर्ने प्रचलन र मान्यताले विश्वभर नै महिलाहरुको आफ्नो स्वतन्त्र हैसियत रहन सकेको छैन । उत्पादन व्यवस्था लगायत सामाजिक व्यवस्थामा पुरुष बिनाको महिला र महिला बिनाको पुरुषको स्वतन्त्र अस्थित्व रहन सक्दैन । दुवैमा दुवैको समान भूमिका र महत्व रहन सक्छ । तर पनि समाजमा महिलाको हैसियतलाई निकै कम महत्व दिने परिपाटी कायमै छ ।
समाज विकासको प्रारम्भिक कालमा जुन समाज सिकारी र कन्दमुल बटुल्ने उत्पादन प्रणालीमा आधारित थियो । त्यसवेला महिला र पुरुषबीचको हैसियत बराबर नै थियो । त्यतिवेला समाजिक व्यवस्थाको कुनै अवस्था थिएन । समाज दास युगमा प्रवेश गरे देखिनै सम्पतिमा निजी स्वामित्वको सवालले महत्व पायो । पुरुषहरु घरबाहिरका कार्यहरुमा र महिलाहरु बालबच्चाको स्याहार तथा कृषि कार्यतर्फ उन्मुख भए । त्यसबेला देखि नै सम्पत्ति माथिको नियन्त्रणमा पुरुषको पहुँच बढी भयो । महिलाको अधिकार, कार्यक्षेत्र तथा स्वतन्त्रतामा कटौती भयो । यसले गर्दा महिलाको अवस्था कमजोर बन्यो । जसको मुल कारणहरुमा विभेदयुक्त सामाजिक धार्मिक मान्यताको विकास, पितृसत्ता सवल बन्नु र पूजीँवादी उत्पादन प्रणालीमा महिलालाई वस्तु सरह हेरिनु रहेको थियो ।
विश्वव्यापी रुपमा नै महिला र पुरुषबीच असमानता देख्न सकिन्छ । विकसीत समाजमा यसको दर कम भएपनि ती देशहरुमा समाजमा अर्थ राजनीति, प्रशासन तथा सामाजिक व्यवस्थामा उल्लेख्य स्थान रहन सकेको छैन । सामाजिक घरायसी कामबाट अधिकांस महिला अलग हुन सकेको एउटा अवस्था छ भने प्राकृतिक रुपमा नै महिलाहरुले बच्चा जन्माउनुपर्ने तथा त्यसको स्याहार संभारमा बढी ध्यान दिनुपर्ने अवस्थाले उनीहरु पुरुष सरह घरबाहिरका काममा संलग्न हुन सकिरहेका हुँदैनन् । अझ धार्मिक कट्टरता भएका समाजमा महिला स्वतन्त्रताको अवस्था निकै कमजोर छ । सामाजिक बन्देजमा उनीहरु घेरिएका छन् । विश्वमा नै पितृसतात्मक परिवारिक ढाँचा छ । जसले महिला मुक्ति, समानता, स्वतन्त्रता र अधिकार जस्ता पक्षमा सामाजिक मुक्ति तथा मनोवैज्ञानिक एकता कायम गर्न बाधा उत्पन्न गरेको छ ।
अहिलेको एक्काइसौँ शताव्दीको संघारमा आइपुग्दा पनि लैङ्गिक विभेद कम हुन सकेको छैन । दिन प्रतिदिन महिला हिंसा बढ्दै गइरहेका छन् । कहिले बलात्कार, कहिले बिच बाटोमा छुरी हानेर मारेको त कहिले श्रीमानले श्रीमतीलाई मारेको प्रशस्त उदाहरण पाइन्छ । हुँदा हुदै तेजाब समेत छरेको कुराहरु हामी पढ्दै, सुन्दै र देख्दै आएका छौ । वर्तमान अवस्थामा नेपाली महिलाको स्थितिलाई हेर्ने हो भने राज्यले बाहिर ल्याएका तथ्याङ्गहरुलाई मात्र पूर्ण आधार मान्न नसकिने स्थति देखिन्छ । किनभने यसले नेपाली महिलाको जटिलतालाई बुझ्न अत्यन्तै सुक्ष्म तहको अध्ययनको खाँचो छ । जसले समस्त नेपाली भू भागमा बसोवास गर्दे आएका विभिन्न समुदाय भित्रको महिलाको पिडा, कुण्ठा, असहयोग, दमनको अवस्था, कुसंकार र मान्यताबाट प्रताडीत भएको अवस्था आदिलाई बुझ्न सकेको होस् ।
यती प्रतिशत मानिस शिक्षित छन्, जागिरे छन् वा सत्तामा पुगेका छन् भन्ने तथ्यको निष्कर्ष यसवेला बढी प्रभावकारी हुन सक्दैन । आकँडाले मात्र महिलाहरुको अवस्थालाई देखाउन सक्दैन । शिक्षित र अधिकार सम्पन्न मानिएका महिलाहरुमा पनि प्रशस्त लैङ्गिक विभेदको अवस्था छ । निर्णय प्रकृयामा उनीहरुको भूमिका रहन सकेको छैन । विभिन्न प्रयासहरुका बाबजुद पनि किन महिलाको हैसियत माथी उठ्न सकेको छैन ? यो प्रश्नको उत्तरले निकै महत्व राख्दछ की महिलाको हैसियत मापनका आधारहरुको पुनर्विकास र परिभाषाको जरुरी छ । जे जति प्रयासहरु गर्ने खोजिएका छन् तिनले महिलाको वास्तविक समस्यालाई पहिचान गर्न अझै असमर्थ रहेका छन् ।
0 comments
Write Down Your Responses